फ्रान्समा एक शिक्षकको क्रूर हत्याको अनुसन्धानमा अहिलेसम्म के भएको छ?

उक्त क्रुर हत्याले पूरै फ्रान्सलाई शोकमा पारेको छ।
तस्बिरको क्याप्शन, शिक्षकको क्रूर हत्याले पूरै फ्रान्सलाई शोकमा पारेको छ
Published

फ्रान्समा मारिएका एक शिक्षकविरुद्ध अनलाइन अभियान चलाएको भनिएका एक विद्यार्थीका बाबुले स्यामुअल पटीमाथि हमला हुनुअघि हमलाकारीलाई सन्देश पठाएको फ्रेन्च सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रवार मारिएका पटीले आफ्ना विद्यार्थीहरूलाई मोहम्मदका विवादास्पद् कार्टुनहरू देखाएका थिए।

ती ४८ वर्षे व्यक्तिको नाम भने बताइएको छैन।

तर उनीमाथि ती शिक्षकविरुद्ध 'फतवा' जारी गरेको आरोप लगाइएको छ।

शोकमा फ्रान्स

उक्त क्रूर हत्याले पूरै फ्रान्सलाई शोकमा पारेको छ।

उनी मारिएको ठाउँमा हजारौँ मानिसहरू मौन जुलुसमा सहभागी भएका छन्।

हत्यामा संलग्न भनिएका १८ वर्षीय अब्दुल्लख ए नाम गरेका व्यक्तिको घटना लगत्तै प्रहरीको गोलीबाट मृत्यु भएको थियो।

ती विद्यार्थीका बुवा र पटीका हत्याराबीच थुप्रै सन्देशहरू आदानप्रदान भएको बताइएको छ।

फतवा जारी गरेर शिक्षकलाई सजाय दिनुपर्ने बताएका ती व्यक्ति र अर्का एकजना धर्मप्रचारकलाई फ्रेन्च मिडियाहरूले 'कट्टर मुसलमान'को रूपमा व्याख्या गरेका छन्।

मुसलमानहरूले फतवालाई एकखाले कानुनी आदेश मान्ने गर्छन्।

अनुसन्धान

प्रहरीले सोमवार मुस्लिम सञ्जालका विभिन्न स्थान र झण्डै ४० वटा घरमा छापा मारेको थियो।

मङ्गलवार फ्रेन्च राष्ट्रपति एमान्यूअल माँक्रोले शेइख यासिन कलेक्टिभ नाम गरेको एउटा मुस्लिम समूहमाथि प्रतिबन्ध लगाएका छन्।

घटनापछि प्यारिश नजिकैको एउटा मस्जिद् ६ महिनाका लागि बन्द गरिएको छ।
तस्बिरको क्याप्शन, घटनापछि प्यारिश नजिकैको एउटा मस्जिद ६ महिनाका लागि बन्द गरिएको छ

उक्त हत्यामा प्रत्यक्ष रूपमा संलग्न भएको भन्दै प्रतिबन्धित उक्त समूह प्यालेस्टिनी समूह हमासका संस्थापकको नामबाट स्थापना गरिएको थियो।

माँक्रोले त्यस्तो प्रतिबन्ध फ्रान्सका मुसलमानहरूलाई अतिवादबाट जोगाउन सघाउन भन्दै ल्याएको बताएका थिए।

फ्रान्समा युरोपकै सबैभन्दा धेरै मुसलमानहरू छन्।

फ्रेन्च प्रधानमन्त्री जँ क्यासटेक्सले त्रासको वातावरण कायम रहन नदिइने बताएका छन्।

त्यहाँका गृहमन्त्रीले ५० भन्दा धेरै सङ्गठनहरू निगरानीमा रहेको बताएका छन्।

हत्याको घटना

एकजना प्रतिआतङ्कवादसम्बन्धी अभियोजनकर्ताका अनुसार अक्टोबर महिनाको सुरुतिर पटीले अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी कक्षामा ती कार्टुनहरू देखाएपछि उनी निशानामा परेका थिए।

इतिहास र भूगर्भका शिक्षक उनले कार्टुनहरू देखाउनुअघि यदि मुसलमान विद्यार्थीहरूलाई त्यसले नराम्रो अनुभव गराउने भए उनीहरूले सुरुमै कक्षा छाड्न सक्ने बताएका थिए।

अब्दुल्लख एले शुक्रवार मध्याह्न पटीले पढाउने विद्यालय पुगेर विद्यार्थीहरूलाई ती शिक्षक चिनाउन भने।

शुक्रवार मारिएका शिक्षक स्यामुअल पटीले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदका विवादास्पद् कार्टुनहरू देखाएका थिए।
तस्बिरको क्याप्शन, शुक्रवार मारिएका शिक्षक स्यामुअल पटीले आफ्ना विद्यार्थीहरूलाई विवादास्पद कार्टुनहरू देखाएका थिए

उनले ती शिक्षकलाई घर जाने बेलामा पछ्याउँदै टाउकोमा छुरी प्रहार गरी उनको शिर छेदन गरेका थिए।

उक्त अनुसन्धानसँग निकट रहेको एक स्रोतका अनुसार अनुसन्धानका पक्राउ पर्नेमा चारजना बालबालिकाहरू समेत छन्।

जसलाई हमलाकारीले पैसा दिएर शिक्षक पटीलाई चिनाउन लगाएको ठानिएको छ।