अमेरिका निर्वाचन २०२०: हुलाकबाट कसरी मतदान हुन्छ, अहिले धाँधली हुनसक्ने कुरा किन उठ्यो

एक अमेरिकी हुलाक कर्मचारी
Published
पढ्ने समय: ४ मिनेट

सन् २०२० मा कैयौँ उदेकलाग्दा कुराहरू भएका छन्। तीमध्ये एउटा प्रमुख चाहिँ कसरी अमेरिकी हुलाक सेवाको काम यसपालि त्यहाँ हुन लागेको राष्ट्रपतीय निर्वाचनको सबभन्दा विवादित विषय बन्न पुग्नु हो।

डोनल्ड ट्रम्पले आफ्ना रिपब्लिकन समर्थकहरूमाझ भनेका छन्: "यो चुनाव हामीले हार्‍यौँ भने त्यसको एउटै मात्र कारण धाँधली हुनेछ।"

तर एउटा अन्तर्वार्ता कार्यक्रममा उनका प्रतिस्पर्धी डेमोक्र्याट नेता जो बाइडनले भने: "राष्ट्रपतिले यो चुनाव धाँधली गरेर जित्न खोज्नेछन्।"

अनि अचम्मको कुरा चाहिँ? उनीहरू दुवै जनाको चासो कसरी अमेरिकीहरूले हुलाकमार्फत् चिठी प्राप्त गर्छन् भन्नेसँग छ।

हुलाक कर्मचारी
तस्बिरको क्याप्शन, अमेरिकी हुलाक सेवा यसपाली विवादको केन्द्रमा छ

चार वर्षअघि भएको अघिल्लो चुनावताका धाँधलीको प्रसङ्ग आउँदा त्योसँग जासुसी उपन्यासमा पढेजस्ता जटिल सामाजिक सञ्जालका एल्गोरिदम वा रुसी ह्याकर वा गोप्य दस्तावेजका प्रसङ्ग अगाडि आउँथे।

तर यसपालि केवल हुलाक सेवाको कुरा उठिरहेको छ।

किन सबै जना हुलाकको कुरा गरिरहेका छन्?

केही समययता राष्ट्रपति ट्रम्पले अमेरिकी हुलाक सेवाविरुद्ध शृङ्खलाबद्ध रूपमा आक्रोशपूर्ण ट्वीट गरेका छन्। तीमध्ये एउटामा उनको दाबी छ: "उनीहरू चुनावमा धाँधली गर्न खोज्दैछन्। यो हुन दिनु हुँदैन!"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यो किनभने जो बाइडन तथा डेमोक्र्याटहरू नोभेम्बरको चुनाव जसरी भएपनि सफलतापूर्ण सम्पन्न होस् भन्ने चाहन्छन् भने डोनल्ड ट्रम्प तथा रिपब्लिकनहरूले चाहिँ भित्रभित्रै यो चुनाव पर सरोस् भन्ने चाहेको हल्ला चलेको छ।

यो वर्ष कोरोनाभाइरसले अर्बौँ मानिसहरूको जीवनमा उथलपुथल ल्यायो। यसले अमेरिकी चुनावमा प्रभाव पर्नु नौलो कुरो होइन।

जो बाइडन
तस्बिरको क्याप्शन, डेमोक्र्याट नेता जो बाइडनले ट्रम्पमाथि दोष लगाएका छन्

कोभिड-१९ रोक्न केही राज्यहरूले मानिसहरू स्वयं उपस्थित भएर गरिने मतदानमा प्रतिबन्ध लगाउँदैछन्। त्यस्ता प्रतिबन्ध नलागेका ठाउँमा पनि मतदान केन्द्रमा भिडभाड नहोस् भन्ने चाहना छ।

त्यसैले यसपालि हुलाकमार्फत् मतपत्र पठाउने काम पहिलेभन्दा निकै धेरै हुने देखिन्छ र यसलाई अमेरिकी हुलाक सेवाले धान्न सक्छ कि सक्दैन भन्नेबारे कसैलाई थाहा छैन।

मतसर्वेक्षणहरूमा अगाडि रहेका बाइडन यो काम सहजतापूर्वक होस् भन्ने चाहन्छन्, उनलाई आफ्नो विजय हुन्छ भन्ने लाग्छ।

ट्रम्प
तस्बिरको क्याप्शन, ट्रम्पले चुनावमा धाँधली हुनसक्ने बताएका छन्

कोभिड-१९ का कारण १,८१,००० अमेरिकीको ज्यान गएको तथा अमेरिकी अर्थतन्त्र अस्तव्यस्त भएका कारण आफ्नो निर्वाचन रणनीति उलटपुलट भएको देखेका ट्रम्पले निर्वाचन सार्नुपर्ने सुझाव यसअघि नै दिइसकेका छन्।

आलोचकहरू भन्छन्ः ट्रम्पलाई आफू नोभेम्बरमा हार्छु भन्ने लागेकाले केही थप समय चाहन्छन्। त्यसो गर्दा मतदातालाई आकर्षित गर्न सकिन्छ भन्ने उनलाई लाग्छ।

के अमेरिकी चुनावमा हुलाकमार्फत् पनि सहभागी हुन पाइन्छ?

निर्वाचन कर्मचारी
तस्बिरको क्याप्शन, अधिकांश अमेरिकी आफैँ उपस्थित भएर मत दिन्छन् तर मतदानकेन्द्रमा जानै पर्छ भन्ने छैन

हो। सन् २०१६ को राष्ट्रपति चुनावमा झन्डै एकचौथाइ मत हुलाकमार्फत् नै खसालिएको थियो। यसपालि त्यो सङ्ख्या झन् बढ्ने ठानिन्छ।

सङ्घीय चुनावको मतदानका निम्ति अमेरिकी राज्यहरूले आफ्ना आफ्नै नियम बनाउन सक्छन् - अनि यसपालि कैयौँ राज्यले भिडभाड नहोस् भन्नका लागि हुलाकमार्फत् गरिने मतदानमा ध्यान दिइरहेका छन्।

अन्य देशहरूमा मतदानलाई लिएर निकै सुरक्षा प्रबन्ध गरिन्छ। तर अमेरिकामा यो विषय अलि हलुका रूपमा नै उठ्छ र त्यहाँ मतदानमा धाँधली पनि निकै कम हुने गर्छ।

ट्रम्पमाथि डेमोक्र्याटहरूको आरोप के छ?

बराक ओबामा
तस्बिरको क्याप्शन, पूर्व राष्ट्रपति बराक ओबामाले पनि हुलाक सेवाबारे बोलेका छन्

डेमोक्र्याट नेता तथा पूर्वराष्ट्रपति बराक ओबामाले ट्रम्पमाथि अमेरिकी हुलाक सेवालाई "सक्रिय रूपमा पङ्गु" बनाउन खोजेको आरोप लगाएका छन्।

ट्रम्पका निम्ति यो काम उनले हालै नियुक्त गरेका हुलाक सेवाका नयाँ हाकिम पोस्टमास्टर जनरल लुइस डिजोयले गर्छन् भनन्ने उनीहरूको आशङ्का छ।

गत २० वर्षमा यो जिम्मा हुलाक सेवाभित्रकै कुनै अधिकारीले पाउँदै आएका थिए। तर जुन महिनामा यो जिम्मा डिजोयलाई दिइयो। उनी हुलाक सेवाभन्दा बाहिरका हुन्। उनले ट्रम्पको निर्वाचन कोषका निम्ति लाखौँ डलर चन्दा दिएका छन्।

डेमोक्र्याटहरूले डिजोयमाथि ट्रम्पलाई हार्नबाट जोगाउन हुलाक सेवा बिगार्न खोजेको आरोप लगाएका छन्।

लुइस डिजोय
तस्बिरको क्याप्शन, अमेरिकी हुलाक सेवाका नयाँ हाकिम लुइस डिजोयले ट्रम्पको पार्टीलाई चन्दा दिएका छन्

त्यसमाथि कार्यभार सम्हालेयता नयाँ हाकिम डिजोयले गरेका केही निर्णयले त्यस्ता शङ्कालाई बल पुगेको छ। यो अवधिमा उनले हुलाक सेवाको चिठीपत्र मिलाउने ६०० वटा उपकरणलाई सेवाबाट अलग्ग्याएका छन्। (अर्थात् अहिले प्रयोगमा रहेका प्रत्येक १० मध्ये एउटा उपकरण विस्थापित भएको छ।)

कर्मचारीलाई ओभरटाइम काम गर्न केही बन्देज लगाइएका छन् भने समयमा नै चिठीपत्र पुर्‍याउन आवश्यक हुने थप यात्रा नगर्न भनिएको छ।

यी परिवर्तनले निकै विवाद जन्माएका छन्। डिजोयलाई अमेरिकी सिनेटको होमल्यान्ड सेक्युरिटी कमिटीमा बयान दिन बोलाइयो जहाँ डेमोक्र्याट सदस्यहरूले उनलाई कतै राजनीतिक कारणले यस्ता परिवर्तन गरिएका हुन् कि भनेर प्रश्न सोधे।

उनी तथा अन्य रिपब्लिकनहरूले नयाँ परिवर्तनको चुनावसँग कुनै सम्बन्ध नभएको भनेका छन्। बरु हुलाक सेवाको बजेटमा देखा परेको १६० अर्ब डलरको खाडलका कारण यसो गर्नु परेको उनीहरूले बताएका छन्। (इमेलको बढ्दो प्रयोग तथा कोरोनाभाइरसका कारण हुलाक सेवापनि प्रभावित छ।)

तर ट्रम्प पनि चुनावमा धाँधली हुँदैछ भन्ठान्छन्...

राष्ट्रपतिले भनेका छन्ः हुलाकमार्फत् मतदानलाई विस्तार गर्दा मानिसहरूले त्यसमा हस्तक्षेप गर्न सजिलो हुन्छ र यसपालिको चुनाव "हाम्रो देशको इतिहासकै सबभन्दा धाँधलीपूर्ण हुनसक्छ"।

ट्रम्पको विचारमा (र यो विचारलाई कैयौँ विज्ञहरूले नकारेका छन्) हुलाकमार्फत् खसालिएका मतपत्र "हुलाकबाकसबाटै चोरिन सक्छन्", "जाली मतपत्र प्रयोग हुनसक्छ", "देशभित्रकै समूहले नक्कली मतपत्र बनाउन सक्छ" र "सायद ट्रम्पले जितेको हेर्न नचाहने देशबाहिरका दशौँ लाख विदेशी शक्तिले मतपत्रमा गोलमाल गरिदिन सक्छन्"।

त्यसैले चुनाव पर सार्नुपर्ने सुझाव उनले दिएका छन्।

साथै डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधिसभाले निर्वाचन कामका निम्ति हुलाक सेवालाई अतिरिक्त २५ अर्ब डलर दिने गरि पारित गरेको विधेयकमाथि पनि ट्रम्पले भिटो लगाउन चाहे।

त्यसो भए के चुनावका बेला हुलाक सेवाले धान्न नसक्ला वा के यो चुनावमा धाँधली होला?

मतपत्र
तस्बिरको क्याप्शन, अमेरिकामा चुनावमा अनियमितता दुर्लभै हुन्छ

राजनीतिज्ञहरू यो विषयमा टिप्पणी गरिरहेका छन्, तर खास जोखिम के हो भन्ने स्पष्ट छैन।

यसै पनि क्रिस्मसको पूर्वसन्ध्यामा हरेक दिन हुलाक सेवाले ५० करोड चिठी गन्तव्यमा पुर्‍याउने गरेको यथार्थ विज्ञहरूले औँल्याएका छन्।

त्यसैले अमेरिकाका दर्ता भएका १५ करोड मतदातामध्ये अधिकांशले हुलाकमार्फत् भोट खसाले पनि त्यसले हुलाक सेवा अवरुद्ध नहुने उनीहरू बताउँछन्।

अनि पोस्टमास्टर जनरल लुइस डिजोयले सिनेटमा बोल्दै थप परिवर्तनहरू हालका निम्ति स्थगित गरिएका भन्दै "राष्ट्रको चुनावी हुलाकपत्र समयमै र सुरक्षित ढङ्गले व्यवस्थापन गर्न हुलाक सेवा पूर्ण सक्षम तथा कटिबद्ध" रहेको बताए।

"यो पवित्र जिम्मेवारी अहिले र निर्वाचनको दिनको माझ मेरो पहिलो प्राथमिकता हुनेछ।"

ह्वाइट हाउस
तस्बिरको क्याप्शन, नोभेम्बरमा हुने चुनावमा ट्रम्प र बाइडनबीच प्रतिस्पर्धा हुनेछ

अनि गडबडीको सम्भावना कति छ?

वर्षौँ यता राष्ट्रव्यापी तथा राज्य तहमा गरिएका अध्ययनहरूले यस्ता गडबडी भएका घटना अत्यन्त न्यून भएको पाएका छन् - एरिजोना स्टेट यूनिभर्सिटीले गरेको अध्ययनमा सन् २००० र सन् २०१२ को अवधिमा हुलाकमार्फत् खसालिएका दशौँ करोड भोटमध्ये गडबडी गरिएको केवल ४९१ मामिला फेला परेका थिए।

तर नोभेम्बरको चुनाव नजिकिँदै गर्दा अब तपाईँले सामान्य अमेरिकीहरूले कसरी हुलाकमार्फत् चिठीपत्र पाउँछन् भन्नेबारे अझै धेरै सुन्नुपर्नेछ किनकि यो चुनावी अभियान थप प्रतिस्पर्धात्मक र तिक्ततापूर्ण हुने देखिन्छ।