भारतको पन्जाब राज्यमा विषाक्त मदिरा सेवनका कारण दर्जनौँ मानिसको मृत्यु

भारत

तस्बिर स्रोत, EPA

Published

भारतको उत्तरी राज्य पन्जाबमा केही दिनयता विषाक्त मदिरा सेवन गरेका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले शनिवार १०० ठाउँमा छापा मारेर अवैध रूपमा मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री जफत गर्दै २५ जनालाई पक्राउ गर्‍यो।

केही दिनयता विषाक्त मदिराका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर बढिरहेको छ।

भारतमा अवैध तरिकाले उत्पादन गरिने तथा गुणस्तरहीन मदिराका कारण प्रत्येक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।

शुक्रवार पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले मदिराका कारण मानिसहरूको मृत्यु भएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए।

भारतका विभिन्न राज्यमा अवैध मदिरा ठूलो परिणाममा उत्पादन हुने र स्थानीय व्यापारीमार्फत् उपभोक्तासम्म पुग्ने बताइएको छ।

आन्ध्र प्रदेश राज्यमा मदिरा भनेर स्यानिटाइजर पिएपछि गत शुक्रवार १० जनाको मृत्यु भएको थियो।

स्थापित ब्रान्डका मदिरा महँगो हुने भएकाले ग्रामीण भेगमा अवैध मदिराको बेचबिखन हुने गरेको छ। तर विषाक्त मदिरा सेवन गर्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

प्रायः उत्पादकहरूले मदिरालाई कडा बनाउन मेथनल प्रयोग गर्छन्।

मेथनल सेवन गर्दा आँखाको ज्योति गुम्ने, कलेजो बिग्रिने र मृत्यु हुने पनि हुनसक्छ।