नेपाल-भारत सम्बन्ध: भारतीय विपक्षी दलका नेता राहुल गान्धी र विदेशमन्त्री एस जयशङ्करबीच जुहारी

जयशङ्कर
Published
पढ्ने समय: २ मिनेट

भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन्।

विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उनले प्रतिक्रिया व्यक्त गरेका हुन्।

एउटा भिडिओमा गान्धीले संसारका विभिन्न देशहरूसँग भारतको सम्बन्धबारे समीक्षा गरेका छन्।

ट्विटरमार्फत् सार्वजनिक गरिएको उक्त भिडिओमा गान्धीले छिमकीसँगको सम्बन्धबारे चर्चा गर्दै भनेका छन्, "यसअघि नेपाल हाम्रो मित्र थियो।"

त्यसपछि उनले पकिस्तानबाहेक भुटान, श्रीलङ्का लगायतका छिमेकीसँग मित्रवत् सम्बन्ध र साझेदारी रहेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

नेपाली क्रुद्ध: गान्धी

त्यसबारे थप चर्चा गर्दै सुरुमा उनले नेपालको प्रसङ्ग उठाउँदै भनेका छन्, "अहिले नेपाल हामीसँग रिसाएको छ। तपाईँ नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस्, जे भएको छ त्यसलाई लिएर उनीहरू क्रुद्ध छन्।"

त्यो ट्वीटको विदेशमन्त्री एस जयशङ्करले ट्वीटमार्फत् उत्तर दिँदै १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेको उल्लेख गरे।

गान्धी

उनले भनेका छन्, "बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस्।"

नेता गान्धीले विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन्।

विदेशमन्त्री जयशङ्कर नेपालले संविधान जारी गर्ने बेला विदेशसचिव थिए।

वाद-प्रतिवाद

झन्डा

काठमाण्डू आएर उनले नेताहरूलाई 'असन्तुष्ट पक्षका माग नसमेटिएको' भन्दै संविधानमा जारी गर्ने तालिका पछि सार्न आग्रह गरेको नेपाली नेताहरूले बताएका थिए।

जारी गर्न लागिएको संविधान विभेदकारी रहेको भन्दै त्यसबेला तराईमा ठूलो आन्दोलन भइरहेको थियो।

तर नेपालले संविधान जारी गरेपछि भारतले सीमानाकाबाट सामान रोकिदिएपछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बन्न पुगेको थियो।

नेपालमा त्यसलाई भारतले लगाएको नाकाबन्दीका रूपमा लिइएको थियो। तर भारतले पहिला त्यसलाई अस्वीकार गरेको भए पछि तात्कालिक विदेशमन्त्री सुषमा स्वराजले नाकाबन्दी लगाइएको स्वीकार गरेकी थिइन्।

नाकाबन्दीबारे भारतीय संसद्‌मा विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि उनले भनेकी थिइन्, "यस्तो पहिलो पटक भएको होइन। मलाई भन्न विवश बनाइयो पहिला पनि सन् १९८९ मा १६ महिनासम्म नाकाबन्दी लगाइएको थियो, राजीव गान्धीको पालामा यस्तो भएको थियो।"

यति बेला फेरि दुई देशबीच सीमा विवाद तथा विषयका कारण नेपाल-भारत सम्बन्ध कटुतापूर्ण देखिएका बेला त्यहाँका विपक्षी नेता र विदेशमन्त्रीबीच वाद-प्रतिवाद भएको हो।