अफगानिस्तान द्वन्द्वः के रुसी गुप्तचर निकायले अमेरिकी सैनिकलाई मार्न तालिबान लडाकुहरूलाई इनाम दिएको हो?

अमेरिकी सेना
    • Author, ओल्गा इभ्शिना
    • Role, बीबीसी रुसी सेवा
  • Published

“जीआरयू एउटा ठूलो संयन्त्र हो जसको उद्देश्य युद्ध गराउनु हो,” विदेशका लागि रुसका एक पूर्वएजेन्टले बीबीसी रुसी सेवासित भने।

रुसी सेनाका गुप्तचर अधिकारीहरूले गत वर्ष तालिबान लडाकुहरूसँग एउटा सम्झौता गरेको र अफगानिस्तानमा अमेरिकी सेनालाई मारेबापत नगद प्रदान गर्ने सहमति जनाएको भन्नेबारे द न्यूयोर्क टाइम्स, वाशिङ्टन पोस्ट र वाल स्ट्रीट जर्नलले समाचार छापेपछि ती एजेन्टको दाबी आएको हो।

वाशिङ्टन, मस्को र तालिबान कमान्डरहरूले ती आरोप खण्डन गरेका छन्।

तर मङ्गलवार ब्रिटिश रक्षामन्त्रीले ती रिपोर्टसँग सम्बन्धित जासुसीबारे आफू अवगत रहेको बताए।

बेन वालेसले भने, “ती रिपोर्टहरूका बारेमा कुरा गर्नुपर्दा मलाई लाग्छ द न्यूयोर्क टाइम्समा छापिएको थियो। म के भन्न सक्छु भने म त्यो गुप्तचरीबारे अवगत छु।”

एउटा संसदीय समितिलाई त्यो जासुसी सत्य भए वा नभएकोबारे आफूले बताउन नसक्ने भन्दै उनले “हामी खालि कदम चालौँ” भने।

रुसी जीआरयू गुप्तचर संस्था

तीनवटा अमेरिकी पत्रिकाले राष्ट्रपति कार्यालय ह्वाइट हाउसस्थित स्रोतलाई उद्धृत गर्दै समाचार लेखे जसमा सहमति गर्ने रुसी अधिकारीहरू जीआरयू भनिने ‘जेनरल स्टाफ अफ रसा’को एउटा सचिवालयसँग आबद्ध भएको दाबी गरिएको थियो।

बेन वालेसका अनुसार पत्रपत्रिकामा प्रकाशित विवरणहरू गुप्तचरीमा आधारित छन्
तस्बिरको क्याप्शन, बेन वालेसका अनुसार पत्रपत्रिकामा प्रकाशित विवरणहरू गुप्तचरीमा आधारित छन्

ब्रिटिश संसद्को रक्षा समितिका प्रमुख टोबिआस एलवुडले अफगानिस्तानमा रुसी सैन्य गुप्चतरीबारे सम्भावित कदम चाल्ने कुरा संयुक्त राष्ट्रसङ्घमा उठाउने बताएका छन्।

रुसले प्रतिबन्ध गरेको र आतङ्कवादी सूचीमा राखेको तालिबान समूहले मस्कोसँग सम्झौता गरिएको आरोपको खण्डन गरेको छ।

उता रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले अमेरिकी पत्रिकाहरूमा आएको समाचारलाई “मिथ्या” र “वाहियात” भनेको छ।

रुसको ‘फरेन इन्टेलिजेन्स सर्भिस’ (एसभीआर) का एक भूतपूर्व एजेन्ट सर्गेइ जिर्नोभले जीआरयूका कदम रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको एउटा हिस्सा हुन सक्ने बताए।

जीआरयू रुसी सेनासँग सम्बन्ध राख्छ भने एसभीआरले राजनीतिक जासुसी हेर्छ।

यी दुई संस्था बेलाबखत एकअर्कासँग प्रतिस्पर्धामा उत्रिने गरेको बताइन्छ र क्रेम्लिनमाथि आआफ्नो प्रभाव कायम गर्न लागिरहन्छन्।

“जीआरयू एउटा ठूलो संयन्त्र हो जसले युद्ध गराउने दिशामा काम गर्छ, त्यसले विभिन्न काम गर्छ,” जिर्नोभले भने।

उनका अनुसार जीआरयूभित्र रणनीतिक जासुसी विभाग पनि छ।

अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या १३,००० बाट घटाएर ८,६०० पारिएको छ
तस्बिरको क्याप्शन, अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या १३,००० बाट घटाएर ८,६०० पारिएको छ

द न्यूयोर्क टाइम्सका अनुसार जीआरयूको युनिट २९१५५ तालिबान समूहसँग आरोपित सम्झौताका लागि जिम्मेवार छ।

ट्रेनिङ सेन्टर नं १६१

उक्त पत्रिकाले रुसी सेनाको यूनिट २९१५५ लाई इङ्गित गरेको देखिन्छ।

त्यो चाहिँ रुसमा इन्टेलिजन्स स्पेस्लिस्ट ट्रेनिङ सेन्टर नं १६१ को रूपमा परिचित छ।

सोभियत सङ्घकालदेखि नै त्यो अस्तित्वमा छ। सन् १९६२ मा मस्कोमा त्यो खोलिएको थियो।

सन् १९९० को दशकदेखि त्यसले प्रतिआतङ्कवादी विशेषज्ञ प्रशिक्षण पनि दिन थाल्यो।

अफगानिस्तानमा गत वर्ष २२ अमेरिकी सैनिकको मृत्यु भएको थियो
तस्बिरको क्याप्शन, अफगानिस्तानमा गत वर्ष २२ अमेरिकी सैनिकको मृत्यु भएको थियो

अफगानिस्तानमा अमेरिकी क्षति

अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०१९ मा अफगानिस्तानमा २२ जना अमेरिकी सैनिक मारिए।

सन् २०१५ मा अमेरिकाले त्यहाँ सुरु गरेको “गार्ड अफ फ्रीडम” सैन्य अभियानअन्तर्गत त्यो सबैभन्दा ठूलो क्षति हो।

गत एप्रिलयता तालिबान लडाकुबाट एक जना पनि अमेरिकी सैनिक मारिएका छैनन्।

अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या १३,००० बाट घटेर ८,६०० पुगेको छ।

सन् २०१५ देखि अफगानिस्तानमा ९० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गएको छ
तस्बिरको क्याप्शन, सन् २०१५ देखि अफगानिस्तानमा ९० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गएको छ

‘ब्रिटिश सेनालाई खतरा’

अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सका पत्रकारहरूले जनाएअनुसार ब्रिटिश सैनिकलाई मारेमा नगद इनाम दिने तालिबान समूहले पनि प्रतिबद्धता जनाएको छ।

मङ्गलवार संसदीय समितिमा बोल्ने क्रममा ब्रिटिश रक्षामन्त्रीले गुप्तचरी मामिलाबारे आफूले धेरै कुरा बताउन नसक्ने बताए।

तर अफगानिस्तानमा ब्रिटिश सेना खटाइँदा उनीहरूको बचाउ गर्न र सुरक्षित रहेको सुनिश्चित गर्न थुपै कदम चाल्नुपरेको बताए।

अमेरिकी सैनिकहरूले अहिले अफगान सेनालाई सघाइरहेका छन्
तस्बिरको क्याप्शन, अमेरिकी सैनिकहरूले अहिले अफगान सेनालाई सघाइरहेका छन्
सन् २०१४ मा ब्रिटेनले ठूलो सङ्ख्यामा सैनिकहरू फिर्ता गरेको भए पनि अहिले अफगानिस्तानमा १,००० ब्रिटिश सैनिक बाँकी छन्
तस्बिरको क्याप्शन, सन् २०१४ मा ब्रिटेनले ठूलो सङ्ख्यामा सैनिकहरू फिर्ता गरेको भए पनि अहिले अफगानिस्तानमा १,००० ब्रिटिश सैनिक बाँकी छन्