सिक्किमको सीमावर्ती नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच हात हालाहाल

सीमा भारत चीन
तस्बिरको क्याप्शन, फाइल तस्बिर
Published

भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले बताएका छन्।

शनिवारको उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा विवाद समाधान गरेको बताइएको छ।

झन्डै ३,४०० किलोमिटर लामो सीमा क्षेत्रमा दुवै देशको आआफ्नो दाबी छ।

कहिलेकाहीँ त्यस्ता विवादमा सेनाहरूले एकअर्कासँग छाती जुझाउने, धकेल्ने र ढुङ्गा हानाहान गर्ने गरेको बीबीसीका दक्षिण एशिया सम्पादक अन्वरासन इथिराजन बताउँछन्।

दोक्लम विवादले दुई देशको सम्बन्ध चिसिएपछि मोदी र सीबीच वुहानमा शीर्ष बैठक भएको थियो
तस्बिरको क्याप्शन, केही वर्षअघि दोक्लम विवादले दुई देशको सम्बन्ध चिसिएपछि भारत र चीनका शीर्षस्थ नेताबीच वार्ता भएको थियो

यो तनाव समुद्री सतहभन्दा ५,००० मिटरको उचाइमा अवस्थित विकट नाकुला क्षेत्रमा भएको हो।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो।

सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो।

बेलाबेला यस्ता किसिमका घटना भइरहने भए पनि चार दशकमा गोली प्रहार भएको छैन।