सौर्यमण्डल: वैज्ञानिकहरूले बृहस्पति ग्रहको 'भाग्यशाली तस्वीर' खिचेका छन्

Jupiter
तस्बिरको क्याप्शन, बृहस्पतिको यो तस्वीर तयार पार्न सयौँ तस्वीरहरू खिचेर विभिन्न अंश एक ठाउँमा मिसाइएको बताइएको छ
    • Author, जोनाथन एमस
    • Role, बीबीसी संवाददाता
  • Published
Presentational white space

खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ।

उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ।

त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले "लक्की इमेजिङ" भन्ने प्रविधि प्रयोग गरेका थिए। जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्वीर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो।

यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ। जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ।

बृहस्पतिको विशाल आँधी

बृहस्पतिको वायुमण्डलमाथि रहेको पातलो बादल र तुवाँलोभित्र इन्फ्रारेड किरणमा हबल जस्तो टेलिस्कोपले तस्वीर खिच्दा वैज्ञानिकहरूलाई उक्त ग्रहको भित्री भागसम्मको दृष्य उपलब्ध गराउन सक्छ।

अनुसन्धानकर्ताहरू यो ग्यासले बनेको विशाल ग्रहको मौसम प्रणाली कसरी विकसित हुन्छ भन्ने जान्न चाहन्छन्। खासगरी यो ग्रहमा उत्पन्न हुने विशाल आँधीबारे उनीहरूको गहिरो चासो छ।

ती आँधीहरूको चक्र दशकौँ र कहिलेकाहीँ त शताब्दीयौँसम्म कायम रहने गरेको छ।

इन्फ्रारेड तस्वीर खिच्न सफल यो अध्ययनको नेतृत्व क्यालिफोर्निया एट बर्कले विश्वविद्यालयले गरेको छ।

यो अध्ययन सूर्यबाट पाँचौ टाढा रहेको ग्रहमा चक्कर लगाइरहेका हबल र जुनो अन्तरिक्ष यान लगायतको अध्ययन गर्न बनाइएको संयुक्त कार्यक्रमको एक अंश हो।

Presentational grey line

बृहस्पतिबारे थाहा भएका केही तथ्यहरू:

  • बृहस्पति पृथ्वीभन्दा ११ गुणा चौडा छ र बृहस्पतिको पिण्ड पृथ्वीको पिण्ड भन्दा ३०० गुणा ठूलो छ
  • यसले सूर्य वरिपरि घुम्न १२ पृथ्वी वर्ष लगाउँछ; यहाँको एक दिन १० घण्टा लामो हुन्छ
  • यसको प्रकार तारा जस्तो छ; यो मुख्यत: हाइड्रोजन र हिलियम ग्यासले बनेको छ
  • तीव्र चापभित्र हाइड्रोजनको धातुको जस्तो चरित्र हुन्छ
  • यो धातुजस्तो हाइड्रोजन नै चुम्बकीय क्षेत्रको स्रोत हुन सक्छ
  • यसमाथि रहेको बादलमा अमोनिया र हाइड्रोजन सल्फाइड रहेको छ
  • विशाल रातो धब्बा चाहिँ विशाल आँधी हो जुन पृथ्वी ग्रहभन्दा चौडा छ
Jupiter
तस्बिरको क्याप्शन, हबल टेलिस्कोपले प्रकाशका आँखाले देख्न सकिने किरणहरूमा खिचेको बृहस्पतिको तस्वीर
Presentational white space