केन्या: 'व्यावसायिक प्रयोजनका लागि गधा मार्न नपाइने' नियम लागु हुने

गधा
Published

केन्याका कृषिमन्त्रीले आगामी महिनाबाट त्यहाँ गधा मार्न रोक लगाइने बताएका छन्।

उक्त पूर्वी अफ्रिकी राष्ट्रले चीनमा बढ्दो मागलाई पूरा गर्न सन् २०१२ मा गधाको मासुको व्यापारलाई कानुनी मान्यता दिएको थियो।

तर कृषिमन्त्री पिटर मुन्याले गधाको सङ्ख्यामा धेरै कमी आएको भन्दै त्यो निर्णय गलत भएको बताएका छन्।

सरकारी तथ्याङ्कका अनुसार केन्यामा अहिले करिब छ लाख गधा छन् जुन एक दशक अघिको भन्दा दुई तिहाइ कम हो।

केन्याका विकट क्षेत्रहरूमा पानी र दाउरा बोक्न गधा प्रयोग गर्ने गरिन्छ।

गधाहरूको घट्दो सङ्ख्याले महिलाहरूमाथि कामको बोझ बढ्ने सम्भावना देखिएको छ।

गधाको सङ्ख्या घट्न नदिन पहल गर्न माग गर्दै सोमवार कृषकहरूले राजधानी नाइरोबीस्थित कृषि मन्त्रालय बाहिर प्रदर्शन गरेका थिए।

"जब गधा मारिन्छ वा चोरी हुन्छ, महिलाहरू गधा बन्छन्," एउटा प्लेकार्डमा लेखिएको थियो।

गधा
तस्बिरको क्याप्शन, संसारभर गधाहरू सामान बोक्न र कृषिसम्बन्धी कामको लागि प्रयोग गरिन्छ

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुन्याले गधा मार्न अनुमति प्राप्त गरेका व्यावसायीहरूसँग अन्य जनावरको मासु व्यापार गर्ने अनुमति प्राप्त गर्नका लागि एक महिना समय रहेको र त्यस्तो नगरे उनीहरूको व्यवसाय बन्द गरिने बताएका छन्।

"मासुका लागि गधाको वध गर्ने नीतिबारे राम्रोसँग विमर्श गरिएको थिएन," उनले भने।

"गधाले गर्दै आएका कामबाट हुने फाइदा गधाको वध वा त्यसको मासु खपतबाट हुने फाइदाभन्दा निकै धेरै छ।"

केन्यामा जनावरहरूको वध गर्नका लागि अनुमति लिएका चारवटा वधशाला छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

गधासम्बन्धी काम गर्ने संस्था ब्रुक इस्ट अफ्रिकाका अनुसार केन्यामा प्रत्येक दिन कम्तीमा १,००० गधा मारिन्छ।

अफ्रिका नेटवर्क फर एनिमल वेलफेरका अनुसार केन्यामा सन् २०१२ मा गधाको मासु खपतलाई कानुनी मान्यता दिएपछि गधाको मूल्य चार गुणा बढेको थियो।

चीनमा गधाको छालाको माग धेरै छ।

गधाको छालालाई उमालेपछि त्यसबाट 'ब्राउन जिलेटिन' निस्कन्छ जुन चीनमा उत्पादन हुने लोकप्रिय खाद्य पदार्थ र परम्परागत औषधि उत्पादनका लागि अत्यावश्यक मानिन्छ।