खुला ठाउँमा दिसा-पिसाब गरेको आरोपमा दलित बालबालिकाको हत्या

भारत
तस्बिरको क्याप्शन, भारतमा अहिले पनि लाखौँले खुला ठाउँमा दिसा–पिसाब गर्ने गर्छन्
Published

खुला स्थानमा दिसा-पिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या गरेको आरोपमा भारतको मध्यप्रदेशमा दुईजना व्यक्तिहरू पक्राउ परेको प्रहरीले बताएको छ।

मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा-पिसाब गरिरहेको अवस्थामा ती बालबालिकामाथि आक्रमण भएको प्रहरीको भनाइ छ।

आक्रमणमा पर्नेमा वाल्मीकि समाजका १२ वर्षीया रोशनी र १० वर्षका अविनाश नामका बालबालिका रहेका छन्।

पीडितका पारिवारले बीबीसी हिन्दीसँग घरमा शौचालय नभएकाले उनीहरूले खुला स्थानमा दिसा-पिसाब गरेको बताएका छन्।

लाखौँ गरिब भारतीयहरूले खुला स्थानमा दिसा-पिसाब गर्ने गर्छन्। त्यसले विशेषगरी महिला र बालबालिकालाई जोखिममा पार्ने गरेको छ।

भेदभाव

हिन्दू वर्णव्यवस्थामा दलितहरूलाई सबैभन्दा तल्लो जात मान्ने गरिन्छ। भारतीय कानुनले उनीहरूमाथि भेदभाव गर्न रोक लगाएको छ।

भारत
तस्बिरको क्याप्शन, खुला स्थानमा दिसा–पिसाबका लागि जाँदै गरेका महिलाहरू

तर अझै पनि भारतमा दलितहरूले निकै भेदभावको सामना गर्ने गर्छन्।

"ती दुईजना बालबालिकाहरूलाई लाठीले मृत्यु हुने गरी कुटिएको रहेछ," प्रहरी उपरीक्षक राजेश चण्डेलले बीबीसी हिन्दीका शुरैय नियाजीसँग भने, "हामीले दुवै अभियुक्तविरुद्ध हत्याको मुद्दा चलाएका छौँ। उनीहरूको बयान लिइएको छ।"

बुधवार बिहान भएको उक्त हमलाको केही घण्टापश्चात् नै प्रहरीले दुईजना माथिल्लो जातका भनिने मानिसहरू रामेश्वर यादव र हकिम यादवलाई पक्राउ गरेको हो।

रोशनी र अविनाश फुपू र भदाहा थिए। रोशनीलाई अविनाशका अभिभावकले पालनपोषण गरेका थिए।

अभियान

अविनाशका पिता मनोजले आफू दैनिक ज्यालादारीमा काम गर्ने मजदुर भएकाले शौचालय बनाउन नसकेको बताए।

भारत

उनले शौचालय बनाउन सरकारले दिदैँ आएको अनुदान पनि नपाएको गुनासो गरे।

सरकारले स्वच्छ भारत अभियानमार्फत् देशैभर शौचालयको सङ्ख्या बढाउँदै लगेको छ।

सरसफाइमा सुधार गरेर देशभर खुला स्थानमा दिसा-पिसाब अन्त्य गर्न पनि खोजिएको देखिन्छ।

मनोजको गाउँ पनि खुला दिसा-पिसाब मुक्त क्षेत्र घोषणा भएको छ।

तीव्र रूपमा शौचालयहरूको निर्माण बढिरहेका बेला पनि पानीको अभाव, खराब व्यवस्थापन र व्यवहार परिवर्तनमा देखिएको सुस्तताले गर्दा खुला स्थानमा दिसा-पिसाब रोक्ने अभियानमा व्यवधान खडा गरेको अनुसन्धानहरूले देखाएका छन्।