समुद्री आँधी लेकिमा: चीनमा १८ जनाको मृत्यु, १० लाख मानिस घर छोड्न बाध्य

समुद्री आँधी लेकिमाको प्रभाव
Published

चीनमा समुद्री आँधी लेकिमाका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अहिलेसम्म कम्तीमा १८ जनाको ज्यान गएको बताइएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार आँधीपछि आएको पहिरोमा परेर १४ जना हराइरहेका छन्।

शनिवार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङमा प्रहार गरेको थियो।

लेकिमालाई पहिला "सुपर टाइफून" मानिएको थियो। तर भूमिमा प्रहारगर्नु अघि नै त्यसको शक्ति क्षीण भयो।

त्यतिबेला उक्त आँधी १८७ किलोमिटर प्रतिघण्टाको वेगमा थियो।

मानिसहरू हताहत हुनेगरी पहिरो गएको स्थान वेन्झू लेकिमा भूमिमा बजारिएको ठाउँनजिकै भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वेन्झूमा लेकिमा नराम्ररी प्रभावित भएको छ
Presentational white space

अहिले लेकिमा बिस्तारै झेजियाङ प्रान्त हुँदै उत्तरतिर जाँदैछ। उक्त आँधी दुई करोड मानिस बसोबास गर्ने शाङ्घाई पुग्ने अनुमान गरिएको छ।

आपत्कालीन सेवाका कर्मचारीहरूले बाढीमा फसेका गाडीहरूको उद्धार गर्न सङ्घर्ष गर्नुपरेको छ।

धेरैतिर विद्युत् आपूर्ति बन्द भएको छ र ढलेका रूखहरू जताततै देखिन्छन्।

चीनमा लेकिमाको प्रभाव
Presentational white space

शाङ्घाईमा आँधी पुग्नुभन्दा अघि नै रेल सेवा र एक हजाराभन्दा बढी उडान स्थगित गरिएको छ।

आँधीको शक्ति अझ क्षीण हुने भए पनि त्यसले डरलाग्दो बाढी गराउनेछ।

समुद्री आँधी लेकिमाको प्रभाव
Presentational white space

शाङ्घाईबाट दुई लाख पचास हजार तथा झेजियाङ प्रान्तबाट आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रभावित क्षेत्रमा झन्डै २७ लाख घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

शिन्ह्वा समाचारसंस्थाका अनुसार लेकिमा यो वर्ष आएको नवौँ तथा धेरै वर्षमा आएको सर्वाधिक शक्तिशाली समुद्री आँधी हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनतिर हान्निँदै समुद्री आँधी लेकिमा
Presentational white space

चीनका मौसमविद्हरूका अनुसार अहिले सो समुद्री आँधी १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर जाँदैछ।

यसअघि ताइवानको उत्तरी भागलाई छुँदै चीनतिर गएको लेकिमाले केही मानिसलाई घाइते बनाएको र भौतिक संरचानमा क्षति पुर्‍याएको थियो।

एक दिनअघि सो स्थानमा ६.० म्याग्निट्युडको भूकम्प आएको थियो।

भूकम्पपछि अस्थिर जमिन र आँधीका कारण हुने ठूलो वर्षाका कारण पहिरोको जोखिम बढेको विज्ञहरूले औँल्याएका छन्।

ताइपेईमा ठूलो वर्षा भएको छ
तस्बिरको क्याप्शन, ताइपेईमा ठूलो वर्षा भएको छ

लेकिमा अहिले पश्चिम प्रशान्त महासागरमा उत्पन्न भएको दोस्रो आँधी हो।

पूर्वतिर क्रोसा समुद्री आँधीका कारण उत्तरी मारियाना आइल्यान्ड र गुआममा ठूलो वर्षा भएको छ।