बांग्लादेश: ऐतिहासिक नगरको आगलागी नियन्त्रणमा, मृतकको सङ्ख्या ७० पुग्यो

अग्नी नियन्त्रण
Published

बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको सङ्ख्या ७० पुगेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार थुप्रै घाइते भएका छन्।

घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजपछि आगो लागेको हो।

राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो।

कारण

हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो। आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। आगो बिहान मात्र नियन्त्रणमा लिन सकिएको अधिकारीहरूले बताएका छन्।

अग्नी नियन्त्रण

महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा भएको छैन।

खानले भने, "केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो।"

उनका अनुसार साँघुरो बाटो र पानीको अभावले गर्दा आगो नियन्त्रणमा लिन अप्ठ्यारो परेको थियो।