भारतीय विमानमा 'आतङ्कवादी ठट्टा' गर्ने पक्राउ

जेट एअरवेज

तस्बिर स्रोत, Reuters

Published

भारतमा आन्तरिक उडानमा रहेको एउटा विमानमा खिचेको आफ्नो तस्बिरमा 'आतङ्कवादी' शब्द लेख्ने एक यात्रुलाई विमानबाट निकालेर पक्राउ गरिएको छ।

योगवेदान्त पोद्दार नामक ती व्यक्तिले रुमालले आधा छोपेको आफ्नो अनुहारको तस्बिर प्रेषित गर्दा 'उडानमा आतङ्कवादी, म महिलाहरूको हृदय ध्वस्त पार्छु' भन्ने आशयको वाक्य लेखेका थिए।

जेट एअरवेजको सो विमान कोलकाताबाट मुम्बई उड्न लागेको थियो।

विमानमा रहेका अर्का यात्रुले त्यो तस्बिर देखेपछि चालक दललाई सूचित गरेका थिए।

पोद्दारले त्यो तस्बिर स्न्याप्च्याटबाट आफ्ना साथीलाई पठाउन लागेको प्रहरीले जनाएको छ।

सूचना पाएपछि चालकले विमानलाई धावनमार्गतिर नलगी फर्काएका थिए। त्यसपछि सुरक्षाकर्मीले ती यात्रुलाई हिरासतमा लिएका थिए।

बीस वर्षको छेकोमा भएका ती व्यक्तिलाई विमानभित्र सुरक्षाव्यवस्थालाई चुनौती पुग्ने खालको भाषा प्रयोग गरेर 'उपद्र्‌याहा गतिविधि' गरेकाले समातिएको विमानस्थलले एउटा विज्ञप्तिमा जनाएको छ।

योगवेदान्त पोद्दारले ठट्टा गर्न खोजेको उनका बुवाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

सो उडानमा सय जनाभन्दा बढी मानिस चढेका थिए।

घटनाका कारण उडान नियमित समयभन्दा डेढ घण्टा ढिलो उडेको थियो।