दुर्घटनामा चालकः कोही ओछ्यानमै, कोही ह्वीलचेयरमा

    • Author, उमाकान्त खनाल
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली
  • Published

प्रहरीले अधिकांश सवारी दुर्घटना चालकको असावधानीले हुने गरेका बताइरहँदा त्यस्ता दुर्घटनामा परेर अङ्गभङ्ग भएका चालकहरूलेसमेत पीडादायी जीवन बिताइरहेका छन्।

पत्नीका साथ धनबहादुर धिमाल
तस्बिरको क्याप्शन, आफैले हाँकेको बस राती निदाएपछि भएको दुर्घटनामा परेर छातीभन्दा मुनिको भाग नचल्ने भएको धनबहादुर धिमाल बताउँछन्

कोही वर्षौँदेखि ओछ्यानमा छन् त कोही ह्वीलचेयरमा।

दुर्घटनामा परेका चालकको आयस्रोत नै बन्द भएपछि आफन्त र छिमेकीको भरमा कैयौँको जीवन चलेको छ।

सवारीधनीले जति दिए अनि तेस्रो पक्ष बीमाबाट जति पाए, त्यतिमा उनीहरुले चित्त बुझाउनु पर्ने बाध्यता छ।

ह्वीलचेयरको सहारा

बिर्तामोड झापाका सुरेशकुमार मण्डल घर अगाडिको नरिवलको रूखमुनि ह्वीलचेयरमा बसिरहेका भेटिए।

वृद्ध बाबुको सहारा बन्नु पर्ने बेला सुरेशको निम्ति परिस्थिति उल्टो बनिदिएको छ। बिहान उठेपछि आफूलाई दिसा गराउने तथा हातमुख धोइदिने जिम्मेवारी ८० वर्षीय बाबु जयकान्तले निर्वाह गर्ने गरेको उनी बताउँछन्।

बिहान केही खाएपछि त्यही रूखमुनि ह्वीलचेयरमा बसेर उनी टोलाइरहन्छन्।

चौध वर्षअघि आफूले हाँकेको बस काठमाडौं जाँदा दुर्घटना भएको थियो। उसबेलादेखि अहिलेसम्म उनको कम्मर मुनिको भाग चल्दैन।

प्रदीप कार्की
तस्बिरको क्याप्शन, एउटा खुट्टा गुमाएका प्रदीप कार्की भन्छन्, 'अरू चालक देख्दा म पनि त्यस्तै त थिएँ नि भन्ने लाग्छ'

उनी भन्छन्, "यो जस्तो कष्टपूर्ण जीवन कसैले पनि भोग्नु नपरोस्। तर आफूजस्तै अरूको कष्टदेखेर पनि चित्त बुझाउँछु।"

तीन वर्षदेखि ओछ्यानमै

मेचीनगर नगरपालिका वडा नम्बर ८ का धनबहादुर धिमाल त तीन वर्षदेखि ओछ्यानमै छन्। उनको छातीभन्दा तलको भाग चल्दैन।

धिमाल आफैले चलाएको बस २०७२ सालको जेठमा सप्तरीमा दुर्घटनाग्रस्त भएको थियो। राति निदाएपछि बस अचानक रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

त्यसपछि यता उनी ओछ्यान पर्दा उनीसँगै उनको परिवारका दिन अत्यन्तै दुःखपूर्ण रूपमा बितेका छन्।

आँखाभरि आँशु पार्दै धिमालले भने, "चालकको सानो गल्तीले धेरैजना अङ्गभङ्ग हुने हुँदा सचेत भएर गाडी चलाउनु पर्छ।"

"म त यस्तो भएँ। अरूले यस्तो पीडा कहिले पनि भोग्नु नपरोस्।"

आफूलाई साथीभाइले सहयोग गरिरहेको बताउने धिमालका अनुसार उनको औषधिमा महिनाको झन्डै पाँच हजार रुपैयाँ खर्च हुन्छ।

पत्नी हिमानीका अनुसार धिमालको छाती बेलाबेला एकदमै दुख्छ। उनी भन्छिन्, "प्रत्येक बिहान छाती मालिस गरिदिनुपर्छ। नत्र असाध्यै पीडा हुन्छ।"

सुरेशकुमार मण्डल
तस्बिरको क्याप्शन, ह्वीलचेयरको सहारामा जीवन बिताइरहेका सुरेशलाई दिसा गराउने तथा उनको हात-मुख धोइदिने जिम्मा उनको बुवाको छ

खुट्टा गुमाउँदा

दुर्घटनामै परेर देब्रे खुट्टा गुमाएका अर्का पूर्व बसचालक बिर्तामोडका प्रदीप कार्कीको जीवन बैशाखीको सहारामा चलिरहेको छ। बेला बखत उनलाई दुर्घटनामा बरु मरेकै भए हुन्थ्यो भन्ने पनि लाग्दो रहेछ।

कार्की भन्छन्, "बरु फ्याट्टै गइदिएको भए टन्टै हुने थिएन जस्तो पनि लाग्छ। अरु चालक देख्दा म पनि यस्तै त थिएँ नि भन्ने लाग्छ। मनमा अनेक पीडा बोकेर बाँच्नु परेको छ।"

नेपाल प्रहरीको तथ्याङ्क अनुसार वार्षिक करिब दुई हजार मानिसको सडक दुर्घटनामा ज्यान जाने गरेको छ।

चालकको असावधानी र अत्यधिक गतिका कारण धेरै दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।

सहयोगको कानुन छैन

दुर्घटनामा परेर अङ्गभङ्ग भएका तथा ओछ्यानमै परेकाहरूका निम्ति बीमाको रकम तथा यातायातका सङ्घ-सङ्गठनले गर्ने सहयोगभन्दा अर्को विकल्प नरहेको अधिकारीहरु बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले भने, "उनीहरूले पाउने सहयोग भनेको तेस्रो पक्ष बीमा र यातायातका सङ्घ-संङ्गठनले घाइते कर्मचारीलाई दिने उपचार खर्च मात्रै हो। सरकारले सहयोग गर्ने कानुनी व्यवस्था छैन।"

तर त्यति सहयोगले उपचार सम्भव नहुने घाइतेहरू बताउँछन्।

खासगरी गम्भीर घाइते भएर कामै गर्न नसक्ने भएकाहरूको जीवन निर्वाहमा सघाउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने पीडितहरूको माग छ।