'एक साताभित्रै पार्टी एकता हुनसक्ने'

प्रचण्ड
तस्बिरको क्याप्शन, प्रचण्डले दुई दलबीचको एकतालाई कसैले रोक्न नसक्ने र पछाडी फर्किने अवस्था पनि नरहेको बताए
Published

केन्द्र र प्रदेशको निर्वाचन अघिदेखी नै गर्ने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताबारे अन्योल देखिएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मे ५ तारिख अर्थात बैशाख २२ गते दुई दलहरुबीच एकता हुनसक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले एकतालाई कसैले रोक्न नसक्ने र पछाडी फर्किने अवस्था पनि नरहेको बताए। उनले दुई जना अध्यक्षलाई जिम्मा दिइएका विवादित विषय १/२ दिनमै मिलाउने पनि बताए।

एमालेका एकजना वरिष्ठ नेताले पनि सहमतिको सम्भावना रहेको बताउँदै मितिको भने टुङगो लाग्न बाँकी रहेको प्रतिक्रिया दिए।

एकता संयोजन समितिको कार्यदलले तयार पारेका सैद्धान्तिक आधार र विधानको मस्यौदामा मिल्न नसकेका विषयमा सहमति जुटाउने जिम्मा अध्यक्षहरु केपी ओली र प्रचण्डले पाएको झन्डै २ साता पुगेको छ।

अन्योल

दुबैजनाबीच पटक, पटक लामो छलफल भए पनि कुनै निष्कर्ष ननिस्किँदा अन्योल देखिएको थियो। त्यो अन्योलका बीच माओवादी अध्यक्ष प्रचण्डले एकताको निम्ति सम्भावित मिति निकट रहेको बताए।

उनले भने, "एक दुई दिन भित्रै हामी यसलाई अन्तिम रुप दिने तयारीमा छौं। सम्भव भएसम्म मार्क्सको दोस्रो शतवार्षिकी मनाउँदै गर्दा घोषणा गर्ने तयारीमा छौं। एकता प्रकृयाबाट पछाडी हटने कुनै कल्पनै नगर्नुहोस्, हामी अगाडि बढी सक्यौं।"

सभा
तस्बिरको क्याप्शन, यस अघि कम्युनिष्ट पार्टीको स्थापनाका दिनमा एकीकरणको घोषणा गरिने बताइएको थियो, तर सहमति जुटन बाँकी रहेको भन्दै त्यसलाई पर सारिएको थियो

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको नयाँ मिति जर्मन दार्शनिक तथा राजनीति सिद्धान्तका प्रणेता कार्ल मार्क्सको २ सयौं जन्मदिन मे ५ तारिख अर्थात बैशाख २२ गते पर्दछ।

यस अघि कम्युनिष्ट पार्टीको स्थापनाका दिनमा एकीकरणको घोषणा गरिने बताइएको थियो, तर विवादित विषयमा सहमति जुटन बाँकी रहेको भन्दै त्यसलाई पर सारिएको थियो।

घोषणा मिति

पार्टी एकता घोषणा मितिका बारेमा कुनै निर्णय भै नसके पनि प्रचण्डले भनेको मिति असम्भव नभएको एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताए।

उनले भने, "मिल्न खासै विषय बाँकी छैनन्, त्यही मितिमा गरौं भन्दा पनि हुन्छ हुन त। तयारीका काम अडि बढदै छन, बुधवार हाम्रो पार्टीको स्थायी समितिको बैठक बस्दै छ, त्यसपछि एकता संयोजन समितिको बैठक बस्ला, अनि मात्रै टुङगो हुन्छ।"

माओवादीले १० वर्षसम्म गरेको सशस्त्र संघर्षलाई कसरी सम्बोधन गर्ने, चुनाव चिन्ह के राख्ने र एकीकृत दलको संगठनात्मक संरचनामा दुबै दलको अनुपात के हुने जस्ता विषयमा सहमति हुन बाँकी रहेको बताउने गरिएको छ।

तर कतिपयले चाहिं एकता महाधिवेशनपछि पार्टी र सरकार प्रमुखको जिम्मेवारीबारे प्रचण्डले अहिले नै सुनिश्चितता खोजेकाले सहमतिमा ढिलाई भइरहेको ठान्दछन्।