एमाले-माओवादी एकता सहमतिमा हस्ताक्षर

प्रधानमन्त्री ओली तथा प्रचण्ड
तस्बिरको क्याप्शन, पार्टी एकताबारे दुबै दलहरुबीच लामो समयदेखि छलफल भैरहेको थियो
Published

दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको लिखित सहमति भएको छ।

दुबै दलका अध्यक्ष समेतले हस्ताक्षर गरेको सात बुँदे सहमतिमा पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' रहने र पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद लेनिनवाद' रहने उल्लेख छ।

यसअघि एमाले अध्यक्ष केपी ओ‌ली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत दलको नेतृत्व संयुक्त रुपमा गर्ने सहमति भएका विवरणहरु आएका थिए।

तर पार्टीको अध्यक्ष को हुने भन्नेबारे भने प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अबेर भएको लिखित सहमतिमा केही उल्लेख गरिएको छैन।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा एकीकरणका प्रारंभिक आधारहरु नाम दिइएको सहमतिपत्रमा पार्टी एकता संयोजन सम‌ितिमा रहेका एमालेका पाँचजना तथा माओवादी केन्द्रका तीनजना सहित आठजना वरिष्ठ नेताहरुले हस्ताक्षर गरेका छन्।

विचारको बहस

कतिपय नेताहरुले सरकारको नेतृत्व पनि आलोपालो गर्ने अनौपचारिक सहमति भएको बताउने गरेका थिए।

तर त्यसबारे पनि सहमतिमा केही उल्लेख छैन।

सोमबारको सहमतिसँगै माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ।

अडिओ क्याप्शन सुरु हुँदैछ, एमाले उपाध्यक्ष वामदेव गौतमसँगको कुराकानी

तर मन्त्रीका साथै राष्ट्रपति, उपराष्ट्रपति तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महत्त्वपूर्ण पदहरुको बाँडफाँटबारे सहमति हुन भने बाँकी छ।

त्यसबारे अब केही दिनभित्रै निचोडमा पुग्ने दुबै पक्षका नेताहरुले जनाएका छन्।

कम्युनिष्ट विगत

नेपालमा कम्युनिष्ट पार्टीमा एकताभन्दा विभाजन धेरै देखिने गरेको थियो।

ठूलो जनधनको क्षति पुर्‍याउँदै सम्पन्न भएको सशस्त्र आन्दोलनको नेतृत्व गरेको माओवादी केन्द्र र पछिल्ला दशक संसदीय राजनीतिमा अभ्यस्त एमालेबीचको एकताले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने ठानिएको छ।

अहिले छुट्टै दलको अस्तित्वमा रहेका कतिपय माओवादी नेताहरुले भने एमालेसँग माओवादी केन्द्रको एकतालाई आफूहरुले पहिलेदेखि शंका गरे जस्तै अन्तत: प्रचण्ड नेतृत्वको दलको 'संसदीय राजनीतिमा विसर्जन'को रुपमा लिएका छन्।

उनीहरुबीचको एकताले अस्थिर राजनीतिको अन्त्यमा सघाउ पुर्‍याउने आशा कतिपय राजनीतिशास्त्रीको छ।

तर कम्युनिष्ट पार्टीको विगतलाई हेरेर केहीले एकतापछि पनि विभाजनको सम्भावना अस्वीकार गर्न नसकिने बताउने गरेका छन्।