कलाकार बनेका पाँच चर्चित खेलाडी

फ्लिन्टफ र बेकह्याम
तस्बिरको क्याप्शन, अभिनययात्रामा होमिने पछिल्ला खेलाडीको सूचीमा फ्लिन्टफ र बेकह्यामको नाम थपिएको छ
Published

ब्रिटेनका चर्चित क्रिकेट खेलाडी एन्ड्रयु 'फ्रेडी' फ्लिनटफ ब्रिटेनको लोकप्रिय टेलिभिजन शो 'फ्याट फ्रेन्डस' मा आउन लागेका छन्।

सन्यास लिइसकेका ख्यातिप्राप्त ब्रिटिश फुटबल खेलाडी डेभिड बेकहमले गाई रिचिद्वारा निर्देशित चलचित्र 'किङ आर्थर'मा छोटो भूमिका निर्वाह गरे लगत्तै फ्लिनटफले पनि अभिनय गर्न लागेका हुन्।

खेल क्षेत्रमा ख्याति कमाएर पछि अलग्गै विधा रोज्दा पनि चर्चित बनेका पाँच खेलाडी निम्नानुसार छन्।

जेसन स्टेथम

Jason Statham at the 1990 Commonwealth Games and at a 2015 film premiere
तस्बिरको क्याप्शन, सन् १९९० राष्ट्रमण्डलीय खेलमा र सन् २०१५ मा एउटा चलचित्रको प्रदर्शनीका क्रममा स्टेथम

जेसन स्टेथम अर्का पूर्व खेलाडी हुन् जसले आफ्नो सफलताका लागि निर्देशक गाई रिचिलाई धन्यवाद दिनैपर्छ।

उनले भिनि जोन्ससँगै 'लक, स्टक एण्ड टु स्मोकिङ ब्यारल्स' नामक चलिचित्रमा अभिनय गर्ने अवसर पाए।

त्यसअघि उनले सन् १९९० को राष्ट्रमण्डलीय खेलमा डाइभिङ्मा ब्रिटेनको प्रतिनिधित्व गरेका थिए।

स्टेथमले आफू सहभागी भएको तीन स्पर्धामा आठौं, दशौं र एघारऔं स्थान हासिल गरेका थिए।

"मैले कहिल्यै आफूले चाहे अनुसारको सफलता हासिल गर्न सकिनँ," उनले सन् २००८ मा भनेका थिए। "तर खेल क्षेत्रमा सफलता हासिल गर्न नसकेकै कारण सम्भवतः अभिनयमा अझै केन्द्रित र गम्भीर हुन मलाई मद्दत पुगेको छ जस्तो लाग्छ।"

द्वन्द्वप्रधान चलचित्र 'एक्सपेन्डेबल्स', 'फास्ट एण्ड फ्युरियस' र 'ट्रान्सपोर्टर'मा उनले अभिनय गरिसकेका छन्।

कपिल देव

कपिलदेव
तस्बिरको क्याप्शन, सन् १९८३ मा विश्वकप क्रिकेट जित्दाको क्षण र 'इकबाल' चलचित्रमा कपिलदेव।

सन् २००५ मा सार्वजनिक एक बलिवुड चलचित्रको पोस्टरमा सन् १९८३ को विश्वकप विजेता भारतीय कप्तान कपिल देवको भनाइ "क्रिकेटको पृष्ठभूमिमा बनेको सर्वोत्कृष्ट चलचित्र, " राखिएको थियो।

उक्त चलचित्रमा कपिल देवकै मुख्य भूमिका रहेकाले त्यस्तो खालको प्रवर्द्धनात्मक सन्देश उनीबाट प्राप्त गर्न निर्माताहरुलाई खासै कठिन भएन होला।

अभिनयमा लागेका उनी एकमात्र भारतीय क्रिकेट खेलाडी होइनन्।

अलराउण्डर अजय जडेजाले 'खेल' चलचित्रमा अभिनय गरेर सीमित सफलता पाएका थिए।

त्यस्तै 'साभ्ली प्रेमाची' चलचित्रमा अर्का क्रिकेट सुनिल गावस्करले अभिनय गरेका थिए।

र, साइद किर्मानी र संदीप पाटिलको जोडीले 'कभी अजनबी' चलचित्रमा अभिनय गरेर 'बक्स अफिस' मा खेलाडीको जोडीले सफलता पाउँछन् भनेर पुष्टि गर्ने प्रयास गरेका थिए।

तर त्यसमा उनीहरु सफल हुन सकेनन्।

सलिल आंकोला अभिनयमा जम्न सफल भारतीय क्रिकेट खेलाडी हुन्।

क्रिकेटका हस्ती सचिन तेन्दुल्करसँगै भारतका लागि पहिलो टेस्ट खेलेका बलर सलिल लामो समय क्रिकेटमा टिक्न नसकेपछि टेलिभिजनको पर्दातिर लागे।

उनले 'कुरुक्षेत्र' र 'चाहत और नफरत' जस्ता हिट धारावाहिकमा काम गरेका छन्।

ड्वेन जनसन

ड्वेन जनसन
तस्बिरको क्याप्शन, सन् २००० र २०१७ मा जनसन

धेरै 'रेस्लिङ' खेलाडीले चलचित्र क्षेत्रमा जम्ने प्रयास गरेका छन्।

जोन सिना र आन्द्रे द जायन्ट तीमध्ये हुन्।

तर ड्वेन 'द रक' सम्भवतः रेस्लिङ खेलबाट चलचित्रमा आएका सबैभन्दा सफल व्यक्ति हुन्।

ड्वेनले अभिनय गरेका शुरुवाती चलचित्र 'द ममी रिटर्न्स" र 'द स्कर्पियन किङ्' उनको ठूलो आकर्षक शरीरमा मात्र केन्द्रित रहेका थिए।

आफ्नो बलियो पुरुषको छविबाट पृथक रहने र ख्यालठट्टा गर्ने प्रवृत्तिका कारण उनले सफलता पाएको ठानिन्छ।

"यदि कलाकारका रुपमा आफूलाई स्थापित गर्ने हो भने द्वन्द्वप्रधान मात्रै नभएर हास्य प्रधान तथा पारिवारिक चलचित्रमा पनि दख्खल राख्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको थियो," यसै वर्षको शुरुवातमा उनले भनेका थिए।

यस वर्ष उनी 'फास्ट एण्ड फ्युरियस ८' र 'बेवाच' मा देखिइसकेका छन् र अब उनी 'सेन्ट्रल इन्टेलिजेन्स' चलचित्रमा केभिन हार्टसँगै देखा पर्नेछन्।

जिना करानो

जिना करानो
तस्बिरको क्याप्शन, सन् २००८ र २०१३ मा करानो

टेक्ससकी यी खेलाडीले मुए थाई र मिश्रित मार्शल आर्टसमा प्रदर्शन गरेको प्रतिभा देखेर निर्देशक स्टिभन सोर्डबर्ग यति प्रभावित भए कि उनले पूरै चलचित्र यी प्रतिभाशाली खेलाडीको वरपर रहेर निर्माण गरे।

जसको नतिजा थियो सन् २०११को चलचित्र 'हेवायर' जसमा कारानोले एक जासुसको भुमिका निर्वाह गरेकी छन्।

करानोले सन् २०१५ मा आएको चलचित्र 'डेडपुल'मा पनि काम गरिन्।

"मलाई हास्यप्रधान प्रेमकथा भएको चलचित्रमा काम गर्न मन छ," उनले आफ्नो चाहना बताइन्।

एरिक क्यान्टोना

एरिक क्यान्टोना
तस्बिरको क्याप्शन, सन् १९९७ र २०१५ मा क्यान्टोना

सन् १९९० ताका म्यानचेस्टर युनाइटेड फुटबल क्लबलाई पुनर्जन्म दिन प्रमुख भूमिका खेलेका कारण क्यान्टोना अझै पनि उक्त क्लबका समर्थकमाझ अझै 'किङ् एरिक'को नामबाट परिचित छन्।

फुटबलबाट सन् १९९७ मा अवकाश लिएपछि क्यान्टोना अभिनयतर्फ लागे। ‌

अस्कर विजेता चलचित्र 'एलिजावेथ'मा उनले सानो भूमिका निर्वाह गरेका थिए।

तर सन् २००९ मा आफ्नो मिथक जस्तो व्यक्तित्व र नबुझिने अभिव्यक्तिसँग सम्बन्धित हास्य प्रधान चलचित्र 'लुकिङ् फर एरिक'मा उनले ठूलो सफलता हात पारे।

सन् १९९० को दशकका फ्रान्सको राष्ट्रिय फुटबल टिमका नायक फ्र्याङ्कं लिबफ पनि हालै हलिवुडमा गएका छन्।

सन् १९९८ को विश्वकप फाइनलमा मैदानमा ब्रजिलका चर्चित खेलाडी रोनाल्डोलाई कडा निगरानी गरेर ख्याति कमाएका उनले हालै अस्कर पुरस्कार पाएको स्टेफन हकिङको जीवनमा आधारित चलचित्र 'द थ्योरी अफ एभ्रिथिङ'मा चिकित्सकको भूमिका खेलेका थिए।