भारत-पाक जाधव मामिलाको असर

कुलभूषण जाधव
    • Author, हारुन रशीद
    • Role, बीबीसी उर्दू संवाददाता, इस्लामावाद
  • Published

पाकिस्तान र भारतको सम्बन्धबारे सुखद खबर त कहिलेकाँही मात्र आउने गर्छ, जबकि नराम्रा समाचार भने आइनैरहन्छन्।

कुलभूषण जाधवको मामिला यिनै अनगिन्ती नराम्रा खबरमध्ये एक हो।

पाकिस्तानमा भारतका पूर्व नौसैनिक अधिकारी जाधवलाई मृत्युदण्डको सजाय सुनाइएपछि त्यसकै कारण कतै दुई देशको तनाव चरम विन्दुमा पुग्ने त होइन भन्ने खतरा अनुभव गरिदैंछ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त्यहाँको संसदमा दिएको बयानले दुर्भाग्यपूर्णरुपमा त्यसैतर्फ इशारा गरेको छ।

सुष्मा स्वराज
तस्बिरको क्याप्शन, कुलभूषण जाधवको रक्षाका निम्ति कुनै पनि हदसम्म जानसक्ने भारतले बताएको छ

उनले भनेकी छन् कि आफ्नो नागरिकलाई सजायबाट जोगाउन भारत कुनै पनि हदसम्म जान सक्छ।

यो बयानले शान्तितर्फ त पक्कै संकेत गर्दैन।

'पाकिस्तानी चिन्तित र आश्चर्यचकित'

पाकिस्तानमा सरकारी स्तरमा भारतको यो बयानको प्रतिक्रिया त 'जे होला सो बेहोरिने' भन्ने किसिमको पाइन्छ।

तर आम पाकिस्तानीमाझ यो चिन्ता र आश्चर्य दुवैको विषय बनेको छ।

चिन्ता यस मानेमा छ कि भारतले किन यस्तो आक्रोश देखाइरहेको छ?

के भारतले कुनै 'सैन्य कारवाही' तर्फ इशारा त गरेको छैन वा ऊ कूटनीतिक मोर्चामा कडा कदम चाल्ने योजनामा छ?

सैन्य विकल्पले दुबै देशको सम्बन्धमाथि यसअघि नै गम्भीर प्रभाव पारिरहेको छ।

अब यसमा यस्तो बयानले कुनै सुधारको संकेत त पक्कै गर्दैन।

दुबै देशका लाखौं-करोडौं मानिस, जो केवल शान्ति चाहन्छन्, उनीहरुले जस्तै यही मात्र भन्न सकिन्छ कि बुद्धिमानी समझदारीबाट मुद्दा सुल्झाउनुमा हुनेछ, न कि एकले अर्कोभन्दा बढ्ता कडाइ प्रदर्शन गरेर।

राष्ट्रिय सुरक्षा

जाधव मामिलालाई लिएर समेत अक्सर मानिसहरु पाकिस्तानमा राजनीतिक र सैन्य नेतृत्वबीच के समान सोचाइ छ? भनेर सोध्ने गर्छन्।

यो मामिला त एक सय प्रतिशत सैन्य विषय हो।

यो मामिलामा सेनाको धारणा विपरीत राय व्यक्त गर्नेहरुलाई या त 'गद्दार' या त 'भारतको एजेन्ट' भनिने खतरा छ।

जासुसहरुको मामिलामा सबूत चाहे जेसुकै होस्, अर्को पक्षको भनाइ चाहे जेजस्तो होस्, जब सेनाले यसबारे कुनै धारणा अख्तियार गर्छ भने त्यसबाट दायाँबायाँ हुने सम्भावना रहँदैन।

यही नीति सबै निर्वाचित सरकारले आधिकारिक स्तरमा प्रदर्शन गरिरहेका छन्।

पाकिस्तानी रक्षामन्त्री आसिफ
तस्बिरको क्याप्शन, पाकिस्तानी सरकारले जाधव मामिला राष्ट्रिय सुरक्षासंग जोडिएको जनाएको छ

रक्षामन्त्री ख्वाजा आसिफले नेशनल एसेंबलीमा बोल्दै सेनाको फैसलाको पूर्ण समर्थन गरे। उनले भारतको आलोचना पूरै खारेज गरिदिए।

उनले यो विषय सिधै राष्ट्रिय सुरक्षा र हितमा जोडिएको बताए।

'कबुल गरिएको बयान'

यस मामिलामा अब कुनै किन्तु-परन्तुको गुन्जायस बिल्कुल छैन।

सार्वजनिक स्तरमा पनि बहुमत सरकारले लिएको अडानप्रति समर्थन नै देखिन्छ।

मानिसहरु के भन्छन् भने जब एक व्यक्तिले आफूले गरेको अपराध स्वीकारिसकेको छ भने अब यसमा शंका गरिराख्नु पर्दैन।

हो, सेनाको हिरासतमा दिइएको 'कबुल गरिएको बयान' को वैधतामाथि कुनै चर्चा हुनु पर्छ कि पर्दैन भन्नेबारे चाहिं कुनै तर्कवितर्क आवश्यक ठानिएको छैन।

रक्षामन्त्रीले जाधवको समक्ष अब सैन्य ऐन अन्तर्गत सैन्य अदालतमा अपील गर्नका निम्ति ४० दिनको समय रहेको संसदलाई बताएका छन्।

सार्क सम्मेलन
तस्बिरको क्याप्शन, भारत-पाकिस्तान सम्बन्ध थप विग्रिएको छ

त्यहाँ जे फैसला हुन्छ त्यसको विरुद्ध उनले सेना प्रमुख जनरल कमर जावेद बाजवा तथा पाकिस्तानी राष्ट्रपति ममनून हुसैनसँग क्षमादानको अनुग्रह गर्न सक्नेछन्।

तत्काल उनीमाथिको सजाय कार्यान्वयन भइहाल्ने सम्भावना छैन, तर उनी जीवित रहने सम्भावना पनि कम छ।

भारत-पाक सम्बन्ध

यदि उनीमाथिको सजाय चाँडै कार्यान्वयन नगरिए वर्षौंसम्म उनी जेलमा पर्न सक्ने निश्चित देखिन्छ।

जाधवका बारे कतै कुनै सम्झौताको माध्यमबाट उनलाई भारत फिर्ता पठाउन सकिन्छ कि भन्ने एउटा चर्चा पनि चलिरहेको छ।

तर यसको सम्भावना भने निकै कम देखिन्छ।

यस्तो के छ जुन भारतले जाधवको बदलामा पाकिस्तानलाई दिन सकोस्? यो प्रष्ट छैन।

पछिल्ला दिनमा नेपालमा एक पूर्व पाकिस्तानी सैन्य अधिकारी हराएको भन्ने विषयलाई यो मामिलासँग जोड्ने कोसिस पनि भइरहेका छन्।

तर यसको कुनै ठोस जानकारी मिलेको छैन।

अनि कुलभूषण जाधवको यो मामिलासँगै भारत र पाकिस्तानबीच निकट भविष्यमा सम्बन्ध सुधार हुने कुनै आशा पनि देखिएको छैन।