लाइभ, भोटेकोशी-त्रिशूली बाढीपछिको पाँचौँ दिन : सयौँ अझ बेपत्ता

गत बुधवार आएको भोटेकोशी-त्रिशूली बाढीपछि शव फेला पर्ने तथा जीवितै उद्धार हुने क्रमसँगै राहतका लागि भइरहेका पहल पनि जारी छन्।

सारांश

  • भोटेकोशी नदीमा बाढीको बहाव बढेको भन्दै प्रभावित क्षेत्रमा सतर्क रहन आह्वान
  • आह्वान गरिएसँगै बजारबाट मानिसहरू सुरक्षित स्थलतर्फ जाँदै
  • बुधवार भोटेकोशी नदीमा आएको बाढीमा कम्तीमा ६७५ को मृत्यु, २४ सयभन्दा बढी बेपत्ता
  • बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग सबै पूर्ण रूपमा बन्द
  • तिब्बततर्फ पनि मृतक र बेपत्ताको सङख्यामा वृद्धि - १६ जनाको मृत्यु भएको छ भने थप ५४६ जना बेपत्ता

लाइभ कभरेज

  1. मौसमसम्बन्धी जानकारीबारे अद्यावधिक रहन आग्रह

    जल तथा मौसम विज्ञान विभागले कम्तीमा सोमवारसम्मका लागि वर्षा हुने चेतावनी जारी गरेको छ र मानिसहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारीबारे अद्यावधिक रहन आग्रह गरेको छ।

    यसले गर्दा खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण हुनसक्ने अधिकारीहरूले बताएका छन्।

    विभागले जारी गर्ने तीन तहका चेतावनीमध्ये सबैभन्दा न्यून तहको चेतावनी हो।

    यस्तो चेतावनी उक्त क्षेत्रमा सामान्यजस्तै भए पनि यसले प्रभावित स्थलमा भइरहेको खोज तथा उद्धार प्रयासलाई थप कठिन बनाउने सम्भावना रहेको बताइन्छ।

  2. तिब्बततर्फ मृत्यु हुने र बेपत्ता हुनेको सङ्ख्या बढ्यो

    चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार शनिवार स्थानीय समयअनुसार साँझ ६ बजेसम्म शिगात्से सहरको गिरोङ(केरुङ) काउन्टीमा गएको पहिरोमा १६ जनाको मृत्यु भएको छ भने थप ५४६ जना बेपत्ता छन्।

    यसअघि अधिकारीहरूले सात जनाको मृत्यु भएको बताएका थिए।

    गिरोङ काउन्टीमा भएको पत्रकार सम्मेलनमा अधिकारीहरूले पहिरोका कारण दुई देशबीचको सीमा नाकामा ठूलो जनधनको क्षति भएको बताएका छन्।

  3. खराब मौसमले उद्धार कार्यमा बाधा

    नेपाल र तिब्बतका सीमावर्ती क्षेत्रमा विनाशकारी आकस्मिक बाढीपछि खराब मौसमले उद्धार कार्यमा बाधा पुर्‍याइरहेको अधिकारीहरूले बताएका छन्।

    अधिकारीहरूका अनुसार वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा पुग्न निकै कठिन भइरहेको छ।

    भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६७५ पुगेको छ भने अहिलेसम्म करिब ६३० वटा शव फेला पारिसकेका छन्।

    तीमध्ये केही शव भारतसम्म धेरै किलोमिटर तल बगेर पुगेका छन्।

    उद्धार टोलीहरू हिलो र चट्टानले भरिएको उजाडजस्तो क्षेत्रमा उद्धार कार्यमा जुटेका देखिन्छन्।

    उद्धार प्रयासको एउटा मुख्य केन्द्र जलविद्युत् आयोजनाको सुरुङ बनेको छ जहाँ करिब १०० जना कामदार फसेको हुन सक्ने आशङ्का गरिएको छ।

    बाढीको त्रासपछि मानिसहरू उचाइका स्थलतर्फ

    तस्बिर स्रोत, SHAKTIMAYA TAMANG

  4. लाइभ पेजमा यहाँलाई स्वागत छ

    नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    यो पेजमा आज हामी भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिको अप्डेट गराउने छौँ।