इजरेल र हमास केही बन्धक रिहा गर्न सहमत, विपिन जोशी कहिले छुट्लान्

बन्धक बनाइएका इजरेली बालबालिका परिवारजन
तस्बिरको क्याप्शन, हमास लडाकु समूहले बन्धक बनाएका ४० बालबालिकाका अभिभावक र आफन्तहरूले उनीहरूको रिहाइका लागि यूनिसेफको ध्यानाकर्षण गराउँदै नोभेम्बर २० मा प्रदर्शन गरेका थिए
Published

हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र केही दिनका लागि सङ्घर्षविराम गर्ने विषयमा सहमति भएको छ।

गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ।

इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने छ।

दुई पक्षबीच सहमति गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कतारले चार दिनपछि सङ्घर्षविराम लम्बिन सक्ने जनाएको छ।

उक्त सम्झौताअनुसार थप १० बन्धकलाई मुक्त गरिए त्यस्तो विराम थप एक दिनले लम्बिने छ।

हमास र इजरेलबीच कसरी भयो सहमति?

संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको सहयोगमा दुई पक्षबीच सहमति भएको हो।

उक्त सहमतिबारे छलफल गर्न इजरेली मन्त्रिपरिषद्को बैठक मङ्गलवार साँझ सुरु भएको थियो। त्यसलाई अनुमोदन गर्ने निर्णय गर्दा बुधवार बिहान भइसकेको थियो।

इजरेल

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बन्धकहरूको मुक्तिका लागि कुनै सहमति भयो भने पनि हमाससँगको युद्ध जारी रहने टिप्पणी गरेका थिए।

कतारले लडाइँ कहिलेदेखि औपचारिक रूपमा रोकिन्छ भन्ने घोषणा २४ घण्टाभित्र गरिने जनाएको छ।

हमास लडाकु समूहले अक्टोबर ७ मा इजरेलमा अप्रत्याशित आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा इजरेलमा केही विदेशी नागरिकसहित १,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो। मारिनेहरूमा १० जना नेपाली नागरिक पनि थिए।

लडाकुहरूले इजरेलबाट २०० जनाभन्दा बढीलाई बन्धक बनाएर गाजा स्ट्रिपतिर लगेका थिए। त्यसरी बन्धक बनाइएकामा नेपाली नागरिक विपिन जोशी पनि भएको ठानिएको छ।

केही दिनअघि इजरेली सेनाले अक्टोबर ७ मा खिचिएको एउटा भिडिओ सार्वजनिक गर्दै त्यसमा नेपाली बन्धक देखिएको जनाएको थियो।

गाजा

अक्टोबर ७ को घटनापछि इजरेलले "गाजाबाट हमासलाई निमिट्यान्न पार्ने" उद्घोष गर्दै आक्रमण थालेको थियो।

गाजामा विगत डेढ महिनादेखि इजरेलको सैन्य कारबाही जारी छ। उक्त कारबाहीका कारण हजारौँ मानिसको मृत्यु भएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।

हमासको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली सैन्य कारबाहीमा १४ हजार जनाभन्दा बढी मानिसको ज्यान गएको छ। तीमध्ये ५,००० जनाभन्दा बढी बालबालिका छन्।

हमासले के भन्यो ?

यसैबीच हमासले इजरेली बन्दीहरूलाई मुक्त गर्दा १५० प्यालेस्टिनीहरू इजरेली जेलबाट छुट्ने बताएको छ।

यो सम्झौताअनुसार राहत सामग्री र औषधि बोकेका सयौँ ट्रकलाई गाजा प्रवेश गर्न दिइने छ। हमासका अनुसार गाजामा अब इन्धन आपूर्ति पनि हुने छ।

हमासले जारी गरेको विज्ञप्तिमा इजरेलले युद्धविरामको अवधिमा गाजामा कसैलाई पनि आक्रमण नगर्ने वा पक्राउ नगर्ने बताएको छ।

इजरेलमा बाइडन
तस्बिरको क्याप्शन, बाइडनले गत महिना इजरेलको भ्रमण गरेका थिए

जो बाइडनले के भने?

अमेरिकी राष्ट्रपति बाइडनले इजरेल र हमासबीचको सम्झौता लागु भएपछि “हप्तौँसम्म बन्धक बन्नुपरेको र अवर्णनीय समस्या बेहोर्नुपरेको” अवस्थाबाट केही बन्धकहरूको आफ्ना परिवारजनसँग पुनर्मिलन हुने कुराबाट उनलाई “अभूतपूर्व रूपमा सन्तोष” लागेको बताएका छन्।

अमेरिकी राष्ट्रपतिले त्यस्तो सहमति हासिल गर्न कतार र इजिप्टका नेताहरूलाई उनीहरूको “ महत्त्वपूर्ण नेतृत्व र साझेदारीका” लागि धन्यवाद पनि दिएका छन्।

उनले केही दिन लडाइँ रोक्ने प्रस्तावमा समर्थन जनाउन इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले व्यक्त गरेका “प्रतिबद्धता” को प्रशंसा गरेको पनि बताएका छन्।

"यो सहमतिका सबै पक्षहरू पूर्ण रूपमा लागु हुन एकदमै महत्त्वपूर्ण छ,” उनले भने।

अमेरिकी राष्ट्रपतिले यो सहमतिले “गाजामा रहेका निर्दोष प्यालेस्टिनी परिवारजनहरूको पीडा हरण हुने” बताएका छन्।

अहिले छुट्न लागेका बन्धक को हुन्?

जेरुसलेमस्थित बीबीसीका मध्यपूर्व संवाददाता योलन्डे नेलका अनुसार अब अझै धेरै बन्धकहरूको रिहाइका लागि वातावरण बनाउने गरी सम्झौता गरिएको छ।

सुरुमा हमासले ५० महिला तथा बालबालिकाहरूलाई छुट्टाछुट्टै रिहा गर्ने छ। त्यसमा पनि इजरेली नागरिक तथा दोहोरो नागरिकता भएका मानिसहरूले प्राथमिकता पाउने बताइएको छ।

यद्यपि अमेरिकाका केही अधिकारीहरूले भने ५० भन्दा बढी मानिस रिहा हुन सक्ने अपेक्षा गरेको बताएका छन्।

उनीहरूका अनुसार एक चारवर्षे अमेरिकी बालिकासहित कम्तीमा तीन अमेरिकी बन्धकलाई हमासले सुरुमै रिहा गर्ने अपेक्षा गरिएको छ।

हमासले बन्धक बनाएका केही मानिसहरू

यसै साता शुक्रवार चार वर्ष पुग्ने ती बालिकाका आमाबुवा दुवैको हमासको आक्रमणमा मृत्यु भएको बताइएको छ।

उनीहरूको रिहाइका लागि चार-पाँच दिन लाग्न सक्ने पनि अमेरिकी अधिकारीहरूले बताएका छन्।

इजरेल सरकारका अनुसार प्रत्येक पटक १० जना बन्धकको रिहाइ हुँदा एक दिन लडाइँ रोकिने छ।

तर बीबीसीसँग कुरा गर्दै कतिपय बन्धकका आफन्तले आफूले आंशिक सम्झौता होस् भनेर नचाहेको बताएका छन्।

इजरेलले बुधवार मध्याह्न आफूले मुक्त गर्न सक्ने प्यालेस्टिनी बन्दीहरूको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा ३०० जनाको नाम छ। तीमध्ये २७४ जना पुरुष छन्।

इजरेली न्याय मन्त्रालयको वेबसाइटमा प्रकाशित सूचीमा ती प्यालेस्टिनीहरूको नाम, उमेर र उनीहरू कस्तो अभियोगमा जेल परेका थिए भन्ने विवरण उल्लेख गरिएको छ।

ती बन्दीहरू १४ वर्षदेखि ५९ वर्षसम्मका छन्। तीमध्ये अधिकांश १७ वा १८ वर्षका छन्।

तर पहिलो चरणमा इजरेलले १५० जनालाई मात्रै मुक्त गर्न लागेको छ।

विपिन जोशी कहिले छुट्लान्?

विपिन जोशी
तस्बिरको क्याप्शन, हमासले आक्रमण गरेपछि विपिन जोशी सम्पर्कविहीन छन्

इजरेल र हमासबीच बन्धक मुक्तिका लागि सहमति भए पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशी अहिलेको चरणमा मुक्त हुने सम्भावना न्यून रहेको नेपाली अधिकारीहरूले बताएका छन्।

इजरेल तथा कतारस्थित नेपाली नेपाली राजदूतहरूले विपिन जोशीलाई मुक्त गर्न पहल जारी रहेको र आफूहरू त्यहाँस्थित सरकारी तथा अरू सम्बन्धित सबै पक्षसँग त्यसबारे निरन्तर संवादमा रहेको दोहोर्‍याएका छन्।

इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले बीबीसीसँग भनिन्, “पहिलो चरणमा चार दिनमा ५० जना बालबालिकासहितका बन्धकहरूलाई छाड्ने सहमति भएको जानकारी आएको छ। त्यसैले विपिन जोशी त्यो समूहमा पर्ने सम्भावना कमै देखिन्छ। तर हामीले आवश्यक पहल गरिरहेका छौँ।”

इजरेली डिफेन्स फोर्सेसले एउटा भिडिओ फुटेज जारी गर्दै त्यसमा हमासले आफ्नो नियन्त्रणमा लिएका नेपाली नागरिक पनि भएको जनाएको थियो
तस्बिरको क्याप्शन, इजरेली डिफेन्स फोर्सेसले एउटा भिडिओ फुटेज जारी गर्दै त्यसमा हमासले आफ्नो नियन्त्रणमा लिएका नेपाली नागरिक पनि देखिएको जनाएको थियो

उनका अनुसार बिहीवार इजरेली विदेश मन्त्रालयमा हमासले बन्धक बनाएका विदेशी नागरिकहरूबारे एउटा छलफल हुन लागेको छ।

“त्यो बैठकपछि मात्रै” थप विवरण दिन सक्ने उनले बताइन्।

कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले पनि हालसम्म विपिन जोशीको मुक्तिबारे थप जानकारी नआएको बताए।

नेपाली बन्धकलाई छुटाउन कस्तो प्रयास?

यद्यपि आफूहरूले कतारी पक्षसँग निरन्तर त्यसबारे कुरा गरिरहेको र उनको जीवनरक्षाका लागि सबैखाले पहल गरेको कतारी पक्षले जानकारी गराएको उनको भनाइ छ।

हमासको नियन्त्रणमा रहेका बन्धकहरू मुक्त गर्ने पहलमा कतारले विपिन जोशीको विषयलाई पनि गम्भीरता र प्राथमिकताका साथ राखेको आफूले बुझेको ढकालले बताए।

नेपालले तीन साताअघि कतारलाई औपचारिक रूपमा पत्र लेखेरै विपिन जोशीलाई छुटाइदिन पहल गर्न आग्रह गरेको थियो।

यसै साताको सुरुतिर इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो। ।

इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको थियो: “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फुटेजमा] देखिन्छ।”

अक्टोबर ७ तारिखको हमास हमलापछि बन्धक बनाइएका व्यक्तिहरूलाई अल-शिफा अस्पताल पुर्‍याउँदै गरिएको देखिएको आईडीएफले उल्लेख गरेको छ।

कतारी प्रधानमन्त्रीले अमेरिका र इजिप्टलाई धन्यवाद दिएका छन्
तस्बिरको क्याप्शन, कतारी प्रधानमन्त्रीले अमेरिका र इजिप्टलाई धन्यवाद दिएका छन्

कतार के भन्छ?

हमास र इजरेलबीच सहमति गराउन सघाएकोमा कतारी प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिका र इजिप्टप्रति कृतज्ञता प्रकट गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले उक्त सम्झौता "एउटा बृहत् तथा दीर्घकालीन सहमति" बन्ने र त्यसबाट "युद्ध र रक्तपातको अन्त्य हुने" अपेक्षा व्यक्त गरेका छन्।

उनले अहिलेको सहमतिबाट "बृहत् र न्यायसङ्गत शान्तिप्रक्रियाका लागि गम्भीर वार्ता"को बाटो खुल्न सक्ने जनाएका छन्।

गाजानजिकै इजरेली आकाशमा देखिएको एउटा इजरेली लडाकु विमान
तस्बिरको क्याप्शन, गाजानजिकै आकाशमा देखिएको एउटा इजरेली लडाकु विमान

चारदिने सङ्घर्षविराम औपचारिकमा लागु हुन बाँकी छ। त्यस बेलासम्म इजरेलले आफ्नो कारबाहीलाई निरन्तरता दिने देखिएको छ।

बुधवार बिहान इजरेलले गरेको हवाई आक्रमणपछि गाजाको आकाशमा धुवाँको मुस्लो उडेको देखिएको थियो।

गाजामा उठेको धुवाँको मुस्लो
तस्बिरको क्याप्शन, बुधवार बिहान गाजामा इजरेलले हवाई आक्रमण गरेपछि धुवाँको मुस्लो उठेको देखिएको थियो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।