तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कसरी कमाउँछन् राष्ट्रिय खेलाडीहरू
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई मासिक १ लाख २० हजार रुपैयाँ तलबसहित 'ए प्लस' मा बढुवा गर्दै भर्खरै नेपाल क्रिकेट सङ्घले खेलाडीहरूको 'सेन्ट्रल कन्ट्रयाक्ट' लाई परिष्कृत गर्यो।
नेपाली खेलकुदको सन्दर्भमा खेलाडीको लागि यो लोभलाग्दो मासिक आम्दानी हो।
अरू खेल सङ्घले राष्ट्रिय खेलाडीहरूलाई यो सुविधा दिन नसकिरहेको अवस्थामा र खेलाडी पलायनको क्रम बढिरहेको बेला फेरि एक पटक खेलाडीहरूको व्यावसायिकताको विषय चर्चामा आएको छ।
नेपालमा क्रिकेट सङ्घभन्दा अगाडि अखिल नेपाल फुटबल सङ्घ एन्फाले राष्ट्रिय टोलीको लागि मासिक तलबको व्यवस्था गरेको देखिन्छ। नेपाल भलिबल सङ्घले पनि आफ्ना मुख्य खेलाडीलाई केही समय मासिक तलब दिने गरेको थियो।
त्यसो भए अरू खेलका खेलाडीहरू कसरी टिकिरहेका छन् ? वा नियमित आम्दानीको स्रोत नभएकै कारण खेलाडीहरू विदेशिन थालेका हुन् त ? प्रश्न उठ्ने गरेको छ।
एन्फाका महासचिव किरण राईकै भनाइ सापटी लिने हो भने 'खेल सङ्घले तलब दिने होइन, वातावरण बनाइदिने मात्रै हो। तलब त क्लबले दिन्छ। एन्फाले दिएको तलब त बोनस जस्तै हो।'
विश्वभरको खेलकुद परम्परा हेर्ने हो भने पनि केही खेल सङ्घले मात्र मासिक सुविधा दिने गरेको देखिन्छ।
थुप्रै देशमा खेल सङ्घहरूले भने राष्ट्रिय टोलीका खेलाडीलाई नियमित तलब भन्दा पनि सेन्ट्रल कन्ट्रयाक्ट, म्याच फी, बोनस, पुरस्कार जस्ता माध्यमबाट सुविधा रकम दिने गरेको देखिन्छ।
जम्मा तीन खेल सङ्घ
नेपालमा राष्ट्रिय खेलाडीहरूलाई मासिक तलब दिन सुरुआत गर्ने सङ्घ एन्फा मानिन्छ। एन्फाले सन् १९९५ बाट खेलाडीहरूलाई मासिक १ हजार ५ सय रुपैयाँ मासिक दिन थालेको इतिहास छ। त्यसको पाँच वर्षपछि तलब बढाएर २ हजार रुपैयाँ बनाइएको थियो।
पछि एन्फाले महिला र पुरुष दुबैलाई १८/१८ हजारको समान मासिक तलब दिने काम गरेको थियो। दुई वर्ष अगाडिदेखि एन्फाले दुवै टोलीलाई मासिक ३० हजार दिने गरेको छ।
मासिक तलब दिने विषयमा क्रिकेट सङ्घ अगाडि देखियो। क्रिकेटको बढ्दो क्रेज र आम्दानी बढ्न थालेपछि क्यानले समयानुकूल तलबमा वृद्धि गरेको पाइएको छ। क्यानले विसं २०७१ साल देखि व्यवस्थित रूपमा मासिक तलब दिन थालेको देखिन्छ।
यी दुईबाहेक नेपाल भलिबल सङ्घले पनि दुई वर्षअगाडि राष्ट्रिय टोलीका महिला र पुरुष दुवै टोलीलाई मासिक ५ हजार रुपैँया दिन थालेको थियो। तर सो तलब सङ्घले नभईकन अमेरिकामा बसोबास गर्ने नेपाल भलिबल प्रेमीहरूले रकम सङ्कलन गरेर दिन थालिएको थियो।
तर उक्त अभियानले निरन्तरता भने पाउन सकेन।
सङ्घका महासचिव रोशन श्रेष्ठले सङ्घले आफ्नै पहलमा तलब दिने योजना बनाएको बताउँछन्। उनी भन्छन्, " अमेरिकामा रहेका ४० जना भलिबल प्रेमीहरूले पठाएको रकमबाट खेलाडीलाई मासिक तलब दिन थालिएको थियो। तर त्यो लामो समय चल्न सकेन। अब सङ्घले नै त्यो पहल गर्ने प्रयास गरेको छ।"
उनी थप्छन् , "ईश्वरले तिमी आँट म पुर्याउँछु भन्छन् रे, हामीले आँट गरिरहेका छौँ।"
खेलाडीहरू कसरी कमाउँछन्
विश्व खेलकुदमा फुटबल, क्रिकेट र रग्बी जस्ता थोरै खेलले मात्र खेलाडीहरूलाई 'सेन्ट्रल कन्ट्रयाक्ट' गरी मासिक तलब दिने गरेको पाइन्छ।
उदाहरणको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले पुरुष क्रिकेटलाई चार वर्गमा विभाजन गरेर तलब दिने गरेको छ। जसमा 'ए प्लस' श्रेणीमा पर्ने खेलाडीले वार्षिक ७ करोड भारतीय रुपैँया प्राप्त गर्ने गर्छ।
प्राय: खेलका खेलाडीहरूले भने क्लबमा अनुबन्धित भएर, व्यावसायिक खेल खेलेर, प्रायोजकबाट, विजेताको पुरस्कारबाट वा बेला बेलामा पाउने सम्मानबाट कमाउने गर्छन्।
यस्तो मामिलामा नेपालमा क्रिकेट खेलाडीहरू नै अगाडि देखिन्छन्। गत हप्ता मात्रै क्रिकेटर सन्दीप लामिछानेले ब्रिज इन्टरन्याशनल कन्सल्टेन्सीबीच पाँच वर्षका लागि ब्रान्ड एम्बेसडरको सम्झौता नवीकरण गरेको थियो।
नेपालमा फुटबल खेलाडीहरूले 'ए', 'बी', 'सी' क्लबहरूमा अनुबन्धित भई आम्दानी गर्ने गरेका छन्। सहिद स्मारक लीगको लामो इतिहासले खेलाडीहरू अनुबन्धित गर्दै आकर्षक तलब दिँदै आएको छ।
क्रिकेटमा एनपीएलमा एक सीजनमा खेलाडीहरूले रु २० लाखसम्मको आम्दानी गरेका छन्। त्यस्तै भलिबल र कबड्डीका खेलाडीहरूले पनि फ्रेन्चाइज क्लबबाट आम्दानी गर्ने गरेका छन्। टेबल टेनिस र ब्याडमिन्टनमा पनि आक्कल झुक्कल खेलाडी अनुबन्धित गर्दै फ्रेन्चाइज खेल हुने गरेको देखिएको छ।
विभागीय क्लबमा आबद्ध
नेपालमा थुप्रै खेलका खेलाडीहरू भने विभागीय टोलीमा अनुबन्धित हुनु खेलकुदमा टिक्ने मुख्य माध्यम हुने गरेको देखिएको छ।
तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा थुप्रै खेलका हजारौँ खेलाडीहरू आबद्ध भएका छन्। त्यसमा कतिपय खेलाडीहरू स्थायी रूपमै विभागमा आबद्ध भएका छन् भने कतिपय खेलका खेलाडी अनुबन्धित हुने गरेका छन्।
विभागीय खेलाडीहरूले नियमित स्तरीय प्रशिक्षण मात्र प्राप्त गर्ने होइन, त्यसैमा केन्द्रित हुने मौका पनि पाउने गर्छन्।
नेपाली खेलकुद विभागीय टोलीले नै सम्हालिरहेका छन् भन्दा फरक पर्ने देखिन्न।
ओलिम्पिक छात्रवृत्ति
पछिल्लो समय नेपाल ओलिम्पिक कमिटीले प्रदान गर्ने गरेको ओलम्पिक छात्रवृत्ति पनि खेलाडीको लागि आकर्षक सुविधा हो। तर यस्तो छात्रवृत्ति पाउनेको सङ्ख्या निकै कम हुने गर्छ।
अमेरिकाको लस एन्जलसमा २०२८ का लागि ८ खेलाडीहरूले यो छात्रवृत्ति पाएका छन्। तिनीहरू जुडोकी मनिता श्रेष्ठ प्रधान, टेनिसकी शिभाली गुरुङ, साइक्लिङकी उषा खनाल, टेबल टेनिसकी इभाना थापा, ब्याडमिन्टनका प्रिन्स दाहाल, स्पोर्ट क्लाम्बिइमा हुने ओलिम्पिकका तेन्जिङ बेरटिन राई, पौडीका इर्भिन श्रेष्ठ र गल्फका सद्भाव आचार्य छन् ।
यसबापत खेलाडीहरूले प्रत्येक महिना १ हजार १ सय २५ डलर पाउने छन्, जुन नेपाली खेलकुद इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठुलो छात्रवृत्ति हो।
नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ भन्छन्, " यो हामीले आइओसीबाट प्राप्त गर्ने छात्रवृत्ति हो। यसमा शीर्ष खेलाडी छानिने गर्छन्।"
यस्तै आगामी एसियाली खेलकुदका लागि पनि ५ खेलाडीहरूले नेपाल ओलिम्पिक कमिटीको छात्रवृत्ति पाएका छन्। उनीहरूले मासिक ५० हजार प्राप्त गरिरहेका छन्।
पुरस्कार र सम्मान
प्रतियोगिताको तयारीको बेला पाउने भत्ता, सेवा सुविधा खेलाडीहरूको वैकल्पिक आम्दानीको स्रोत हुने गर्छ।
कतिपय ठुला देशका खेल सङ्घहरूले खेलाडीहरूलाई भत्ता वा सुविधा बापत दिने सुविधा नै खेलाडीहरूलाई पुग्दो आम्दानी हुने गरेको देखिन्छ।
नेपाल सरकारले घोषणा गर्ने पुरस्कार र पदक जितेको बेला खेलाडीहरूले प्राप्त गर्ने आम्दानी खेलाडीहरूको आम्दानीको अर्को स्रोत हो।
सरकारले ओलिम्पिकदेखि साग र अन्य आधिकारिक खेलमा पुरस्कार जित्ने खेलाडीलाई निश्चित पुरस्कार दिने आधिकारिक घोषणा गरिदिएको छ। यद्यपि यो नियमित प्राप्त हुने आम्दानी भने होइन।
गत प्यारिस पारा ओलिम्पिकमा कांस्य जितेकी पलेसा गोवर्द्धन र उसुका विजय सिँजालीले सरकारले घोषणा गरे बापतको ६५ लाख रुपैयाँ प्राप्त गरिसकेका छन्।
कमजोर राष्ट्रिय सङ्घ
नेपालको सन्दर्भमा थुप्रै खेलका राष्ट्रिय खेल सङ्घले भने राम्रो दिन सकेको देखिँदैन। किनकि अधिकांश खेल सङ्घको आम्दानीको नियमित स्रोत नै छैन।
नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा भन्छन्, " कराँते महासङ्घ रकम नभएको सङ्घ हो। यो यथार्थ हो। त्यसैले हामी राष्ट्रिय खेलाडीलाई नियमित पाल्ने हैसियतमा छैनौँ।"
कतिपय खेलका खेलाडीलाई भने मासिक तलब होइन, खेल्ने वातावरण मात्र मिलाइदिए पनि पुग्ने स्थिति रहेको खेलाडी बताउँछन्।
टेबल टेनिसकी शीर्ष स्थानका खेलाडी नविता महर्जन भन्छिन्, "मैले खेल्न थालेको दुई दशक भयो। हामीलाई मासिक तलब होइन, नियमित खेल्ने राम्रो वातावरण मिलाइदिए त्यो नै काफी हुने छ।"
राष्ट्रिय जर्सी लगाएर खेल्नुको गौरव र सम्मान सँगै खेलाडीहरू नियमित आम्दानीको लागि भौँतारिँदै आएका छन्। त्यो स्रोत नभेटेपछि वा कम महसुस गर्न थालेपछि खेलाडीहरू विदेशिनु नेपालको तितो यथार्थ देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।