अयोध्यामा प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा नेपाली हुलाक टिकटको चर्चा

नेपालका हुलाक टिकटको भारतमा चर्चा
तस्बिरको क्याप्शन, राम मन्दिरको प्राण प्रतिष्ठा समारोह अघि नेपाली हुलाक टिकटको चर्चा
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

उनका अनुसार नेपालले विक्रम सम्वत् २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता-रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन्।

सो हुलाक टिकटमा विक्रम सम्वतको साल उल्लेख भएपनि अहिले इस्वी सन् २०२४ मा अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा समारोह आयोजना हुन लागेको भन्दै त्यसलाई एउटा अच्चम्मको संयोगका रूपमा कैयौँ भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उल्लेख गरिरहेका छन्।

नेपाली हुलाक टिकटको चर्चा भारतमा पनि भइरहेकोमा कतिपय नेपाली हुलाक टिकट सङ्कलकहरू खुसी छन्। तर तथ्यलाई बढाइचढाइ प्रस्तुत गर्न नहुने उनीहरू बताउँछन्।

उक्त हुलाक टिकटको इतिहास के हो?

हुलाक टिकट

विक्रम सम्वत् २०२४ को राम नवमीको अवसरमा नेपालले सीता र रामको तस्बिर भएको उक्त हुलाक टिकट जारी गरेको थियो।

त्यसमा प्रकाशनको पहिलो दिवसको टाँचा सन् १९६७ एप्रिल १८ मा लगाइएको सो टिकटको प्रथम आवरणमा उल्लेख भएको छ।

आचार्यले उक्त टिकट र त्यसमा प्रथम टाँचा लगाइएको आवरण नेपाल फिलाटेलिक सोसाइटीको फेसबुक पेजको एउटा पोस्टमा पनि राखेका छन्।

बीबीसीसँग उनले भने, “५७ वर्षअघि उक्त टिकट जारी भएको हो र इस्वी सम्वत्‌को वर्ष २०२४ एउटा संयोगको रूपमा परेको छ। त्यसलाई लिएर भारतमा बढाइचढाइ गरिएको जस्तो लाग्छ।”

उनले उक्त हुलाक टिकटबारेका खबर र सामाजिक सञ्जालका पोष्टहरूका कारण कैयौँले आफूलाई सम्पर्क गरेको पनि बताए।

उनी भन्छन्, “मलाई नै यो टिकट चाहियो भनेर २५-३० जनाले सम्पर्क गरेका छन्। पहिलो टाँचा लगाइएकै चाहियो भन्नेहरू पनि छन्। पहिले त्यो टिकट करिब १५ देखि २० रुपियाँ पर्ने टिकट हो तर अहिले (भारतबाट) उहाँहरूले म १०० रुपियाँ भारु दिन्छु मलाई देऊ भनिरहनुभएको छ। १०० वटा-५० वटा पठाइदेउ भन्ने धेरै छन्।”

शुक्रवार अपराह्न एमजन इन्डियाको वेबसाइटमा उक्त टिकटको मूल्य ४० प्रतिशत छुटपछी भारु २९९ रुपियाँ अर्थात् ४७८.४ नेपाली रुपियाँ राखिएको थियो।

राम नवमीको हुलाक टिकट कति छापिएको थियो

नेपाल फिलाटेलिक सोसाइटीका पूर्व अध्यक्ष के भन्छन्?

नेपाल फिलाटेलिक सोसाइटीका निवर्तमान अध्यक्ष शङ्कर श्रेष्ठ अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भइरहँदा नेपालले विगतमा प्रकाशन गरेको राम सीताको हुलाक टिकटको चर्चा हुनुलाई सकारात्मक मान्छन्।

उनले भने, “राम र सीताको त्यस्तो खालको टिकट नेपालमा मात्रै छापिएको छ। त्यही भएर भारतमा यो टिकटको चर्चा हुनु फिलाटेलिक दृष्टीकोणले सकारात्मक हो। उनीहरूले उक्त हुलाक टिकटको प्रयोग गरेर राम र सीताको सम्झना गर्न खोजेको होला।”

कतिपय भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले हुलाक टिकटमा अङ्कित साल २०२४ लाई देखाउँदै नेपालले राम मन्दिरमा प्राण प्रतिष्ठा भर्ने समयको 'भविष्यवाणी गरेको' भन्दै चर्चा गरिरहेका छन्।

उक्त हुलाक टिकटबारे कतिपय भारतीय अनलाइनहरूमा खबरहरू पनि प्रकाशित भएका छन्। सो हुलाक टिकटको प्रथम टाँचा विवरणमा उल्लेख भए अनुसार टिकटमा रहेको राम र सीताको तस्बिरले करुणा, प्रेम, भक्ति, बलिदान र समर्पण जस्ता भावनालाई प्रतिविम्बित गर्छ।

“मूर्तिमान् अभिव्यक्तिको रूपमा सीता-राम हिन्दुहरूको निमित्त मात्र होइन्, समग्र मानवजातिका लागि पूजनीय एवं अर्चनीय हुनुहुन्छ,” प्रथम टाँचा लगाउँदा प्रकाशित विवरणमा उल्लेख छ।

सुरुमा पाँच लाख प्रति छापिएको उक्त हुलाक टिकटको डिजाइन एस डी अशान्तले गरेका थिए।

हुलाक टिकट
तस्बिरको क्याप्शन, विवाह मण्डपको हुलाक टिकट सन् १९९१ मा छापिएको थियो

जनकपुर र अयोध्याको साइनो

हिन्दुहरूको ग्रन्थ वाल्मीकि रामायणमा अयोध्याका राजा दशरथका छोरा रामको राजा जनककी छोरी सीतासँग विवाह भएको थियो।

प्रत्येक वर्ष विवाह पञ्चमीको समयमा अयोध्याबाट नेपालको जनकपुरधाममा जन्ती आउने परम्परा रहिआएको छ।

मधेश प्रदेशको उक्त शहरलाई पछिल्लो समय नेपाल र भारतले धार्मिक कूटनीतिको हिस्सा बनाएका छन्।

आफ्नो नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरलाई 'रामायण सर्किट' मा राख्ने उद्घोष गरेका थिए।

अन्य हुलाक टिकटहरू के कस्ता छन्?

राजर्षि जनकको हुलाक टिकट

नेपाल सरकारले सीता, राजा जनक अनि राम र सीताको विवाह भएको ठानिने विवाह मण्डपको पनि अलगअलग हुलाक टिकट प्रकाशित गरेको छ।

राम नवमीको टिकट जारी भएको एक वर्षपछि सन् १९६८ मा राष्ट्रिय व्यक्तित्व श्रृङखला अन्तर्गत सीता जयन्तीका अवसरमा जानकी मन्दिर र सीताको तस्बिर अङ्कित टिकट प्रकाशन भएको थियो।

सीताको जन्म पौराणिक कालमा भएको भन्दै सो टिकट अनावरण गर्ने क्रममा उल्लेख गरिएको विवरणमा उनलाई भक्ति, कृपालु, मातृवात्सल्य, असल चरित्र, शान्त, सुन्दर र दैविक शक्तिको प्रतिकका रूपमा उल्लेख गरिएको छ।

“नेपाली जनताहरू गहिरो भक्ति भाव व्यक्त गर्दै श्रद्धापूर्वक जानकीको सम्मानमा शीर निहुराउँछन्,” त्यसमा भनिएको छ।

१५ पैसा मूल्यको उक्त टिकटको डिजाइन के कर्माचार्यले गरेका थिए। सो हुलाक टिकट २ लाख ५० हजार प्रति छापिएको थियो।

सीताको तस्वीरसहितको टिकट सन् १९६८ मा प्रकाशित भएको थियो
तस्बिरको क्याप्शन, सीताको तस्वीरसहितको टिकट सन् १९६८ मा प्रकाशित भएको थियो

राजा जनकको स्केच अङ्कित हुलाक टिकट नेपालले सन् १९७४ मा प्रकाशित गरेको थियो।

२ रुपियाँ ५० पैसा मूल्यको उक्त हुलाक टिकट अढाइ लाख प्रति छापिएको थियो।

पाकिस्तानमा छपाइ गरिएको सो टिकटको डिजाइन के. कर्माचार्यले गरेका थिए।

सन् १९९१ मा जनकपुरको विवाह मण्डपको हुलाक टिकट प्रकाशित भएको थियो।

१ रुपियाँ मूल्य राखिएको विवाह मण्डपको हुलाक टिकट २० लाख प्रति छापिएको थियो।

राजा वीरेन्द्रले सन् १९८६ मा नव निर्मित विवाह मण्डपको उद्घाटन गरेका थिए।

मोदीले सार्वजनिक गरे राम मन्दिरको हुलाक टिकट

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा रामको ‘ससुराली’ मान्ने गरिएको जनकपुरधामबाट श्रद्धालुसहित महन्तहरूको टोली सहभागी भइरहेको छ।

अयोध्यामा प्राणप्रतिष्ठा भर्ने समारोहको सम्झनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर सम्बन्धी संस्मरणात्मक हुलाक टिकटहरू बिहीबार सार्वजनिक गरेका छन्।

नेपाल फिलाटेलिक सोसाइटीका निवर्तमान अध्यक्ष श्रेष्ठ धार्मिक र सांस्कृतिक पक्ष जोडिएका महत्त्वपूर्ण समारोहहरूमा दुवै देशले हुलाक टिकटका क्षेत्रमा पनि सहकार्य गर्नुपर्ने धारणा राख्छन्।

उनले बीबीसीसँग भने, “अयोध्यामा मन्दिर बनाउने कुरामा पनि नेपालबाट ढुङ्गा र जल लगिएको थियो। यत्रो ठूलो कार्यक्रम हुँदै छ दुवै देशको हुलाक सम्बन्धी निकायहरूले मिलेर टिकट निकाल्न सकेको भए त्यो ऐतिहासिक हुन्थ्यो।”

भारतीय प्रधानमन्त्री मोदी
तस्बिरको क्याप्शन, हुलाक टिकट सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदी

नेपालमा हुलाक टिकटको इतिहास

नेपालमा हुलाक टिकटको इतिहास झन्डै डेढ सय वर्ष पुरानो छ।

सन् १८८१ मा १ आना, २ आना र ४ आना गरी तीनथरी मूल्यका हुलाक टिकट प्रकाशित भएका थिए।

राणा प्रधानमन्त्री रणोद्धिप सिंहका पालामा नेपालमा हुलाक सेवा सर्वसाधारणको पहुँचमा पुगेको थियो।

सन् १८८१ देखि १८८६ सम्म नेपालले युरोप र अन्य एशियाली देशहरूमा हुलाक टिकट छपाइ गर्ने गरेको थियो। केही टिकट नेपालमा नै छापेको पनि बताइन्छ।

काठमाण्डूस्थित ब्रिटिस दूतावासमा रहेको हुलाक कार्यालयलाई बाहिरी जगतले काठमाण्डूसँग सम्पर्क गर्ने माध्यम मानिन्थ्यो।

सन् १९५६ मा नेपाल युनिभर्सल पोष्टल यूनियनमा अबद्ध भएको थियो।

श्रेष्ठ जस्ता फिलाटेलिक मामिलाका जानकारहरू नेपालले जापान, जर्मनीजस्ता मुलुकहरूसँग संयुक्त रूपमा टिकट जारी गरेको भएपनि भारतसँग मिलेर अहिलेसम्म पनि संयुक्त रूपमा टिकट जारी नगरेको बताउँछन्।

“भारतसँग संयुक्त टिकट नहुनु विडम्बना हो। कि भारतले पहल गर्नुपर्‍यो कि नेपालले पहल गर्नुपर्यो। हामी दुवै देशले पहल गरेर सहकार्य गरुन् भन्ने चाहन्छौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।