मेटाले बालबालिकाहरूलाई फेसबुक र इन्स्टाग्रामको लत लगाएको दाबी अदालतमा प्रस्तुत

मेटाका प्रमुख वकिल र उनको टोली अदालतबाट बाहिरिदैँ।

तस्बिर स्रोत, Reuters

    • Author, कली हेस्
    • Role, प्रविधि रिपोर्टर, ओकल्याण्ड, क्यालिफोर्निआ
  • Published
  • पढ्ने समय: ४ मिनेट

मेटाले जानाजानी बालबालिकाको एउटा पुस्तालाई नै फेसबुक र इन्स्टाग्रामको लत लगाएको दाबी मंगलवार अमेरिकाको क्यालिफोर्निआस्थित एउटा अदालतमा दायर गरिएको मुद्दाको क्रममा प्रस्तुत गरिएको छ।

उक्त सामाजिक सञ्जालले सामना गरेको हालसम्मकै ठूलो कानुनी चुनौती ओकल्याण्ड क्यालिफोर्निआको एउटा अदालतमा जुरी समक्ष प्रस्तुत गरिएको हो।

अमेरिकाका कयौँ राज्यका अभियोजनकर्ता र सामाजिक सञ्जाल कम्पनीका वकिलहरूले ती दाबीबारे अबको ६ हप्ता आआफ्नो पक्षबाट बहस गर्नेछन्।

क्यालिफोर्निआ राज्यका वकिलले मेटाले ११ र १२ वर्षका 'दशौँ लाख' बालबालिकाहरूलाई इन्स्टाग्राममा रहेको थाहा पाएको तर उनीहरूलाई 'त्यहाँबाट परै राख्न खासै केही नगरेको' दाबी गरे।

मेटाका प्रतिनिधिले चाहिँ झन्डै १ लाखमात्रै त्यस्ता प्रयोगकर्ता फेला परेको जनाउँदै सामाजिक सञ्जालको लत भन्ने कुरा अस्तित्वमा नै रहेको विषय भएको तर्क गरेका थिए।

राज्यका वकिलले मेटाले आफ्नो प्ल्याटफर्मले किशोर किशोरीको मानसिक स्वास्थ्यलाई आघात पुर्‍याउने थाहा पाएको बताएपछि मेटाको पक्षले चाहिँ धेरै किशोर किशोरीले हासिल गरेका राम्रो अनुभवहरूलाई बेवास्ता गरिएको जवाफ दिएको थियो।

शब्द र आँकडामा वाद प्रतिवाद

मोबाइल फोनमा विभिन्न सामाजिक सञ्जाल प्ल्याटफर्म र त्यसको मुनी कीबोर्ड देख्नसकिन्छ।

तस्बिर स्रोत, Reuters

सन् २०२३ मा न्यूयोर्क र क्यालिफोर्निआसहित २९ वटा राज्यले दायर गरेको मुद्दापछि यो सुनुवाइ अघि बढेको हो।

ती राज्यहरूले बालबालिकासँग सम्बन्धित गोपनीयताका विषयमा आकर्षित हुने कैयौँ सङ्घीय र राज्य कानुनहरूको उल्लङ्घन हुन पुगेको दाबी गरेका छन्।

ती राज्यहरूले मेटाबाट अर्बौँ डलर क्षतिपूर्तिको मात्रै नभई 'लाइक'को गणना र अनिश्चित समयसम्म स्क्रोल गर्न सकिने फिचर अन्त्य गर्नुपर्ने जस्ता मागहरू मेटासँग राखेका छन्।

मंगलवार सुनुवाइ सुरु हुँदा शब्द र आँकडासहित बहसहरू भएका थिए।

उक्त सुनुवाइमा मेटाका प्रमुख वकिल पल स्मिड्टले क्यालिफोर्निआकी प्रमुख अभियोजनकर्ता मेगन ओ'निलले आफ्नो प्रारम्भिक बहसमा प्रस्तुत गरेको आन्तरिक अनुसन्धान प्रतिवेदनबारे सोझै टिप्पणी गरेका थिए।

ओ'निलले जुरीसमक्ष प्रस्तुत गरेको दस्तावेजमा 'पाँच मध्ये एक किशोरकिशोरीले इन्स्टाग्रामले आफूलाई झन् नराम्रो महसुस गराउने बताएको' भनिएको थियो।

स्मिड्टले भने, "त्यो अति नराम्रो सुनिन्छ।"

"उक्त दस्तावेजले अरू के भन्छ त?," उनले प्रश्न गरे। "त्यसले ४१ प्रतिशत किशोर किशोरीले त्यसले उनीहरूलाई राम्रो अनुभूत गरायो र अर्को ४१ प्रतिशतले कुनै प्रभाव पारेन भन्छ।"

उनले राज्यहरूले प्रस्तुत गरेको तर्कलाई कमजोर तुल्याउने प्रयास गरेका थिए। ती राज्यहरूले मेटाले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई आफ्ना प्ल्याटफर्म प्रयोग गर्नबाट रोक्न नसकेको मात्र नभई किशोरकिशोरी र बालबालिकालाई जानीजानी आकर्षित गरेर उनीहरूलाई त्यसमा निर्भर बनाएको तथा यी प्लेटफर्महरू नै त्यस्तो लत लाग्ने गरी डिजाइन गरिएको आरोप लगाइरहेका छन्।

प्ल्याटफर्मका रूपमा प्रत्येक प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न मेटा सक्षम हुनुपर्ने विषयमा स्मिड्टले उक्त मुद्दामा मेटामाथि उल्लङ्घन गरेको आरोप लगाइएका गोपनीयतासम्बन्धी कानुनहरूले नै कम उमेरका प्रयोगकर्तालाई पहिचान र निगरानी गर्न आवश्यक पर्ने व्यक्तिगत विवरण सङ्कलन, सुरक्षित राख्न र प्रयोग गर्न कम्पनीलाई रोक्ने बताएका थिए।

सामाजिक सञ्जालको लतको विषयमा मेटाले अर्को पनि मुद्दा खेपिरहेको छ। त्यसबारे जवाफ दिँदै उनले भने, सामाजिक सञ्जालको त्यस्तो लत भन्ने हुँदैन।

मेटाले आफ्नो सामाजिक सञ्जालको प्रयोगबारे मानिसहरूले सङ्घर्ष गरेको वा गरिरहेको हुनसक्ने कुरा स्वीकार गरेको भन्दै उनले त्यसलाई सम्बोधन गर्ने हिसाबले विभिन्न 'टूल्स'हरू ल्याएको उल्लेख गरेका थिए।

उनले मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकर्बर्ग र इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले विगतमा दिएका अभिव्यक्तिहरूलाई उद्धृत गर्दै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई लत लगाउने उद्देश्यले डिजाइन नगरिएको दाबी गरे। अहिलेसम्मका वैज्ञानिक अनुसन्धानहरूले पनि सामाजिक सञ्जालप्रति लत लाग्न वास्तवमै सम्भव छ भन्ने निष्कर्षलाई पुष्टि नगरेको उनको तर्क थियो।

राज्यका वकिलको तर्क चाहिँ के छ?

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकर्बर्ग

तस्बिर स्रोत, EPA

तर ओ'निलको प्रारम्भिक बहसले स्मिड्टको तर्कलाई चुनौती दिएको थियो। उनले मेटा, त्यसको आन्तरिक अनुसन्धान, कर्मचारीहरूका इमेल र जकर्बर्गसम्मका च्याटका अभिलेखसहितमा प्राप्त सूचनामा आधारित रहेर आफ्नो दाबीहरू प्रस्तुत गरिन्।

एउटा आन्तरिक अनुसन्धानमा किशोर किशोरी र इन्स्टाग्रामबारे लेखिएको थियो, "किशोरकिशोरीहरूले यसको प्रयोगलाई लतमा परेका व्यक्तिको अनुभवजस्तै रूपमा वर्णन गर्छन्।"

जुरी समक्ष प्रस्तुत गरिएको अर्को दस्तावेज उद्धृत गर्दै ओ'निलले मेटाले प्रयोगकर्ताले व्यथित गर्ने समय वृद्धि गर्न डिजाइन गरिएका फिचरहरू स्फूर्तीसँग बाझिने खालको भएको र त्यसले आफ्नो जीवनको गुणस्तर बढाउने गतिविधिमा केन्द्रित हुनबाट मानिसहरूलाई पर धकेल्ने जनाइएको छ।

सम्भावित नकारात्मक असरबारे जानकार भएपनि मेटाले किशोर किशोरीहरूलाई फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताका रूपमा लक्षित बनाएको र आफ्ना प्ल्याटफर्महरू बालबालिकाको लागि सुरक्षित गरेकोमा मानिसहरूलाई आश्वस्त पारेको उनले बताइन्।

मेटाको बिज्निस मोडेलबारे उनले भनिन्, "प्रयोगकर्ताहरूलाई लत लगाउन, जति धेरै बेर सकिन्छ उनीहरूलाई त्यहाँ राख, उनीहरूको डेटा सङ्कलन गर र सार्वजनिक अभिव्यक्ति दिँदा सर्वसाधारणहरूबाट सत्य लुकाउ।"

उनले सुनुवाइको क्रममा मेटाले आफ्नो प्ल्याटफर्मबारे सार्वजनिक रूपमा भनेका कुरा र उसका आन्तरिक अनुसन्धानले देखाएका कुरा विल्कुल फरक रहेको प्रस्ट हुने उल्लेख गरेकी थिइन्।

"मेटाले आफूले नाफाभन्दा सुरक्षालाई माथि राख्ने बतायो। तर उसले वास्तविकता बारम्बार लुकाएको छ। निर्णय गर्ने बेलामा नाफाले जितेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।