तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेख हसिना ढाका फर्केमा भारतलाई हुन सक्ने 'फाइदा'
सन् २०२४ मा विद्यार्थी आन्दोलनका माझ बाङ्ग्लादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भारतमा शरण लिन पुगेपछि पहिलोपटक गत साता दिल्लीबाट भर्चुअल प्रेस कन्फरेन्स गरिन्।
कन्फरेन्समा उनले मुख्य रूपमा आफ्नो पार्टी अवामी लीग र बाङ्ग्लादेश फिर्तीबारे उनको योजनाबारे बोलिन्।
उनले आगामी डिसेम्बरमा आफू बाङ्ग्लादेश फर्किन चाहेको कुरा दोहोर्याइन्।
शेख हसिनालाई भारतमा पत्रकारहरूसँग कुराकानी गर्ने अनुमति दिएको भनेर बाङ्ग्लादेश सरकारले कडा आपत्ति जनाएको खबर सार्वजनिक भएको छ।
यसअघि हसिनाले स्वदेश फर्कने कुरा रोएटर्स समाचार संस्थालाई दिएको एक अन्तरवार्तामार्फत् घोषणा गरेकी थिइन्।
उनको घर फिर्ती घोषणाले भारत तथा बाङ्ग्लादेशबीच अहिले तनावपूर्ण रहेको अवस्थामा सुधार आउँछ या झन् बिग्रन्छ ?
शेख हसिनाको पत्रकार सम्मेलनभन्दा केही दिन अघि, बीबीसी न्यूज बाङ्ग्लाका शुभज्योति घोषले भारत बाङ्ग्लादेश मामिलाका जानकार र अवामी लीगका कैयौँ नेताहरूसँग कुराकानी गरेर यस सन्दर्भमा तयार पारेको एक विश्लेषणात्मक रिपोर्ट:
शेख हसिना गत दुई वर्षदेखि भारतमा छिन्। उनले आगामी डिसेम्बरमा आफ्ना पार्टी नेता तथा कार्यकर्तासहित बाङ्ग्लादेश फर्किने र अदालत समक्ष आत्मसमर्पण गर्ने इच्छा देखाएको सार्वजनिक भएपछि बाङ्ग्लादेश र भारत दुवै मुलुकमा हलचल पैदा भयो।
यद्यपि भारतमा विश्लेषकहरू उनको त्यो भनाइलाई 'देश फर्कने निश्चित घोषणा' भन्दा पनि 'ग्राउन्ड टेस्टिङ' का रूपमा हेर्छन्।
आधिकारिक रूपमा कम्तीमा भारतमा शेख हसिनाको बसाइका विषयमा दिल्लीको व्यवहारमा कुनै परिवर्तन भएको देखिएको छैन।
पछिल्लो समयमा भारतको विदेश र गृह मन्त्रालयका केही वरिष्ठ अधिकारीहरूले बीबीसीलाई बताएका छन् - न भारतले शेख हसिनालाई निम्ता गरेको हो, न उनलाई शरण दिइएको हो, न त उनलाई अब जबरजस्ती निष्कासन गर्न लागिएको हो।
एक वरिष्ठ भारतीय अधिकारीले भने, "यदि उनी वर्तमान अवस्था आकलन गरेपछि घर फर्किन चाहन्छिन् भने जाऊन्। यदि उनलाई अहिलेलाई भारतमै बस्नु ठिक जस्तो लाग्यो भने त्यही ठिक छ। यो मामिलामा हामीसँग भन्नका लागि नयाँ केही छैन।"
रोएटर्ससँगको कुराकानीमा सेख हसिनाले आफू डिसेम्बरमा पार्टीका नेता र कार्यकर्ताहरूसहित घर फर्कने योजना बनाइरहेको र बाङ्ग्लादेशमा अदालत समक्ष आत्मसमर्पण गर्न चाहेको बताएकी थिइन्।
उनले आफू घर फर्के आफूलाई गिरफ्तार गरिन सक्ने र फाँसी पनि दिइन सकिने स्थिति रहे पनि त्यस्तो निर्णय गरेको पनि बताइन्।
बीबीसी बाङ्ग्लाले शेख हसिनाको भनाइका सम्बन्धमा दिल्लीमा केही शीर्ष सरकारी अधिकारी, विश्लेषक र पूर्व राजनेतासँग कुराकानी गरेको छ। साथै भारतमा शरण लिएका केही अवामी लीग नेता र कार्यकर्ताहरूसँग पनि सम्पर्क गरेको थियो।
कुराकानीबाट केही मुख्य कुरा अगाडि आएका छन् जुन विषयमा लगभग सबै पक्ष सहमत देखिन्छन्।
शेख हसिनाको भनाइको तात्पर्य उनी डिसेम्बरमा भारतबाट विमान चढेर ढाका पुग्छिन् भन्ने होइन, त्यस्तो हुन सम्भव छैन।
त्यसमा अन्तर्राष्ट्रिय समुदाय शेख हसिनाका बारेमा के सोच्छ भन्ने विषयले महत्त्व राख्छ।
बाङ्ग्लादेशले उनका प्रेससँगको कुराकानीबारे कडा आपत्ति जनाइसकेको छ।
शेख हसिनाले आफ्नो निर्णय लिनुअघि कुनै विदेशी सरकारसँग परामर्श नगरेको भने पनि सबै विश्लेषक के कुरामा सहमत भए भने उनले त्यो कुरा भारतको सहमति बिना बिलकुल भनेकी होइनन्। किनभने भारतले नै वर्तमानमा उनलाई शरण दिइरहेको छ।
वास्तवमा भारत सरकार पनि हसिनाको घर फर्कने घोषणाबाट उनलाई कुनै नोक्सान नहुने बरु फाइदाको सम्भावना ज्यादा भएको ठान्छ भन्ने विश्लेषकहरूको धारणा छ।
किनभने यदि शेख हसिना साँच्चै बाङ्ग्लादेश फर्किइन् भने भारत गत दुई वर्षदेखिको राजनीतिक असुविधाबाट मुक्त हुने छ।
यदि उनी फर्किनन् भने पनि - हसिना फर्किन चाहन्थिन् तर भारतले हुँदैन भन्यो किनभने उनी फर्कनका लागि वातावरण अनुकूल छैन - भनिने छ।
त्यसैले शेख हसिनाको भनाइलाई वास्तवमा 'एक वाणले धेरै निशाना ताकेको' रूपमा पनि हेर्ने गरिएको छ। यसमा उनलाई 'आतिथ्य' दिइरहेको देशले पनि केही गुमाउने छैन।
भारतीय सरकारको दृष्टिकोण के छ?
शेख हसिनाको देश फर्कने घोषणाको बारेमा सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले त्यस मुद्दाबारे भारतको दृष्टिकोणमा परिवर्तन नआएको जबाफ दिए।
पछिल्ला दुई वर्षमा भारतमा शेख हसिनाको शरण सम्बन्धमा भारतको घोषित धारणा छ - शेख हसिनाले एक विशेष सुरक्षा स्थितिमा भारतसँग शरण मागेकी थिइन् र उनको सुरक्षा सुनिश्चित गर्न उनको अनुरोध स्वीकार गरिएको थियो।
यो भनाइमार्फत् भारतले स्पष्ट गर्न चाहन्छ - उसले शेख हसिनालाई आफ्नो तर्फबाट शरण दिएको होइन र उनको देश छोड्नेबारे पनि भारतको भूमिका थिएन। भारतले यसलाई अरू तरिकाले पनि भनेको छ र परिस्थितिका कारण शेख हसिनालाई शरण दिन परेको बताउँदै आएको छ।
के पनि साँचो हो भने डेढ वर्षभन्दा बढी समयदेखि बाङ्ग्लादेश सरकारले शेख हसिनालाई फिर्ता गर्न गरेको मौखिक या औपचारिक अनुरोधमा भारतले कुनै जबाफ दिएको छैन।
भारतमा शेख हसिनाको भारत बसाइ भारत तथा बाङ्ग्लादेशबीचको द्विपक्षीय सम्बन्धमा अत्यधिक असुविधाको एक कारण बनेकोमा कुनै सन्देह छैन।
के शेख हसिनाको बाङ्ग्लादेश फर्किने निर्णयमा भारत सहमत छ? यो प्रश्नको सीधा जबाफ छ: शत प्रतिशत सहमत छ।
बीबीसीले जो जो विश्लेषक तथा पूर्व राजनेतासँग कुरा गरेको छ ती सबैले शेख हसिनाले भारतको अप्रत्यक्ष समर्थन बिना वा भारतसँग परामर्श नगरीकन बाङ्ग्लादेश फर्कने कुरा गरेकी होइनन् भन्ने ठान्छन्।
ढाकाका लागि भारतका पूर्व उच्चायुक्त पिनाक रञ्जन चक्रवर्ती भन्छन्, "मलाई लाग्छ शेख हसिना वास्तवमा फिर्ता हुन उत्सुक तथा गम्भीर छन्। अवामी लीगलाई बचाउन उनी आफ्नो देश फर्कनै पर्ने महसुस उनलाई भएको छ।"
र उनको ठम्याइ छ - ढाका फर्केपछि उनलाई सिधै फाँसी दिने कुरा जति सजिलो सुनिन्छ त्यस्तो छैन।
यदि कुनै कारणले उनको सुरक्षा सुनिश्चित हुन सकेन भने उनी नफर्कने पनि हुन सक्छ।
यदि उनी डिसेम्बरमा फर्किइन् भने भारतलाई बाङ्ग्लादेशसँगको सम्बन्धलाई सामान्य गतिमा अगाडि बढाउन असाध्यै सजिलो हुने छ। किनभने त्यसपछि शेख हसिनालाई शरण दिएकाले उत्पन्न असुविधाले कूटनीतिमाथि असर पार्ने छैन।
यदि बाङ्ग्लादेश सरकारले शेख हसिना घर फर्केमा उनीमाथि मुद्दा दोहोर्याएर लगाइने छ भन्यो भने त्यो पनि भारतका लागि उपलब्धि मानिने छ।
शेख हसिनाको रणनीति के छ?
दिल्लीका राजनीतिक र कूटनीतिक विश्लेषकले ठानेका छन् - बाङ्ग्लादेश फर्कने निर्णयको घोषणा गर्नु अघि शेख हसिनाले धेरै हिसाबकिताब गरेकी हुनु पर्छ।
गएको दुई वर्षमा बाङ्ग्लादेशमा अवामी लीगका नेता र कार्यकर्ताले बारम्बार उनीहरूका सर्वोच्च नेता सुरक्षाका लागि "विदेश भागेको" भन्ने सुन्न परिरहेको छ।
वास्तविकता के हो भने जब बाङ्ग्लादेशमा एक पछि अर्का अवामी लीगका कार्यालयमा तोडफोड गरियो या आगो लगाइयो तथा देशका विभिन्न स्थानमा पार्टी कार्यकर्तामाथि हमला गरियो र उनकाविरुद्ध मुद्दा दायर गरियो त्यसबेला शेख हसिनासहित पार्टीका शीर्ष नेतृत्वले उनीहरूलाई कुनै सुरक्षा प्रदान गर्न सकेनन्।
यति लामो समयपछि देश फर्कने 'एक निश्चित तारिख' घोषणा गरेर र पछि भर्चुअल प्रेस सम्मेलनमा पनि त्यही दोहोर्याएर शेख हसिनाले आफू स्वदेश फर्कने कुराप्रति गम्भीर रहेको सन्देश दिन चाहेकी छन्। यो माध्यमबाट उनले नेता र कार्यकर्ताको मनोबल बढाउन चाहन्छिन्।
अवामी लीगलाई पुनर्जीवित गर्न र पार्टीलाई बाङ्ग्लादेशको राजनीतिक मानचित्रमा फिर्ता ल्याउनका लागि उनले शारीरिक रूपमा बाङग्लादेशको धर्तीमा पाइला राख्नुपर्छ र भारत बसेर त्यस्तो सम्भव छैन भन्ने शेख हसिनालाई थाहा छ।
दिल्लीका वरिष्ठ राजनीतिक विश्लेषक तथा बाङ्ग्लादेश मामलाका विशेषज्ञ जयन्त राय चौधरी भन्छन्, "मलाई लाग्छ शेख हसिनाले बीएनपीलाई दिन खोजेको सन्देश के हो भने अवामी लीगमाथि प्रतिबन्ध लगाएर उसलाई अप्रासङ्गिक बनाउन गरिएको प्रयासलाई उनी स्वयंले रोक्नेछिन्। भारत पनि उनको त्यो कदमलाई मौन समर्थन गर्छ भन्ने स्पष्ट छ।"
उनले भने, "तर दिल्लीले मौखिक रूपमा यति त पक्का भन्ने छ कि शेख हसिना एक 'स्वतन्त्र प्रतिनिधि' हुन् त्यसैले उनी आफ्नो राजनीतिक निर्णय आफैँ लिने छिन्।"
खासमा विश्लेषकहरू ठान्छन् शेख हसिना अवामी लीगको नेतृत्व आफ्नो परिवारभन्दा बाहिर कसैलाई पनि दिन तयार छैनन् त्यसैले उनले पार्टीमाथि नियन्त्रण हासिल गर्न अन्तिम प्रयास गर्नु छ। त्यो काम गर्न अरू कसैलाई जिम्मा दिन मिल्दैन।
उनी ठान्छिन् आफ्नै बलमा घर फर्कने घोषणा गरेर उनी बाङ्ग्लादेश सरकारमाथि केही दबाव दिन सक्छिन्।
अवामी लीग ठान्छ अन्तरिम सरकार भएका बेला गरिएको उनलाई ज्यानको सजाय सुनाइएको मुद्दा निष्पक्ष मुद्दा थिएन।
तर नयाँ सिराबाट मुद्दा सुरु गर्नका लागि दबाव दिन उनी सबभन्दा पहिले बाङ्ग्लादेश फर्कनु पर्छ। घर फर्केपछि अदालत सामुन्ने आत्मसमर्पण गर्ने कुरा गरेर शेख हसिनाले आफूलाई देशको न्यायपालिकामाथि भरोसा रहेको सन्देश पनि दिन चाहेकी छन्। तर त्यो स्थितिमा राज्यले निष्पक्ष र स्वतन्त्र सुनवाइको ग्यारेन्टी पनि दिनु पर्छ।
शेख हसिनाले यो सबै गरेपछि घर फर्कने बताएकी छन् तर उनले डिसेम्बरमै फर्कनुपर्छ भन्ने सत्य होइन।
अवामी लीगका नेता र कार्यकर्ता के गर्लान्?
अगस्ट २०२४देखि कैयौँ हजार अवामी लीगका नेता, पूर्व सांसद, मन्त्री र आम कार्यकर्ता र समर्थक भारतमा शरण लिइरहेका छन्।
तीमध्ये धेरै जना कोलकाता नजिकै न्यू टाउन-राजारहाट, असमको गुवाहाटी वा त्रिपुराको अगरतला जस्ता सहरमा बसेका छन्। शेख हसिनाको रोएटर्ससँगको कुराकानी सार्वजनिक भएपछि बीबीसी बाङ्ग्लाले तीमध्ये केही व्यक्तिसँग कुराकानी गरेको थियो।
अवामी लीगका केही शीर्ष नेताको मत छ बाङ्ग्लादेशको राजनीतिक स्थिति पहिलेदेखि नै निकै जटिल छ। यदि शेख हसिना फर्किने हो भने त्यो थप जटिल र अस्थिर हुन सक्छ।
तर यदि उनीहरूकी नेता हसिनाले घर फर्किने फैसला लिइन् भने कति मानिस उनका साथ फर्किन सहमत होलान्?
यो प्रश्नको अलग-अलग जबाफ छ। कोही भन्छन् जब नेता घर फर्किन्छिन् देश-विदेशमा शरण लिएका 'अवामी लीग का सिपाही' निश्चित रूपमा हवाई जहाजबाट उनकै साथमा ढाका फर्कन चाहन्छन्।
तर केही मानिस भनिरहेका छन् शेख हसिनाको राजनीतिक छवि, महत्त्व र अन्तर्राष्ट्रिय मान्यताको तुलना पार्टीका कुनै अन्य नेताको छवि या मान्यताबाट गर्न सकिन्न।
शेख हसिनाको मन्त्रिमण्डलका एक पूर्व सदस्यले भने, "यदि नेतामाथि दोस्रो पटक मुद्दा चलाइन्छ भने पूरै दुनियाँ, अन्तर्राष्ट्रिय मिडियाको नजर उनीमाथि पर्ने छ। तर यदि हामी देश फर्कियौँ भने हामीलाई तुरुन्त झुटो आरोपमा जेलमा हालिन्छ। दुनियाँमा कसैलाई केही थाहा हुने छैन। कोही पछाडि फर्केर हेर्ने छैनन्।"
यदि शेख हसिना वास्तवमा डिसेम्बरमा स्वदेश फर्किइन् भने उनीसँगै कति नेता कार्यकर्ता देश फर्केलान् भन्ने अनुमान लगाउन निकै मुस्किल छ।
तीमध्ये केही नेता र कार्यकर्ताको भनाइ छ - बाङ्ग्लादेश सरकारले वास्तवमा शेख हसिना देश फिर्ता आऊन् भन्ने चाहँदैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।