युद्धविराम वार्ता नभइरहँदा अमेरिका र इरानद्वारा नयाँ हमला

    • Author, जरोसलाभ लुकिभ
    • Author, टोबी मान
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी सेनाले इरानमा "आत्मरक्षा"का रूपमा हमला गरेको र पानीजहाज र खाडी देशहरूमा प्रहार गरिएका बलिस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरू खसालेको जनाएको छ।

होर्मुज जलमार्गमा अवस्थित केशम टापुमा गरिएको हमला "मध्यपूर्वमा इरानले गरेका हमला प्रयासको जबाफमा" भएको यूएस सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ।

बदलामा इरानले मिसाइल र ड्रोन प्रयोग गरेर त्यस क्षेत्रमा रहेका अमेरिकी अड्डा र हेलिकप्टरहरूमा आक्रमण गरेको बताएको छ।

तेहरानले कुवेतमा दुई र बाहरेनमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको सेन्टकमले बताएको छ। ती सबै निस्तेज पारिएको बताइएको छ।

युद्धविराम लम्ब्याउने सम्बन्धी वार्ता अगाडि बढ्न नसकिरहेको अवस्थामाझ यी पछिल्ला हमलाहरू भएका छन्।

महिनौँदेखि चलिरहेको युद्ध अन्त्य गर्ने गरी सम्झौताका लागि भएका संवादका प्रयास गत सप्ताहान्तमा असफल भएका थिए।

सेन्टकमले थप के भनेको छ?

सेन्टकमले थप जनाए अनुसार केशम टापुमा गरिएको हमलाले इरानी सेनाको 'ग्राउन्ड कन्ट्रोल स्टेसन'लाई लक्षित गरेको थियो।

र अमेरिकी सेनाले इरानले "क्षेत्रीय जलक्षेत्रमा हकपूर्वक पारवहन गरिरहेका नागरिक नाविकहरू"तर्फ हमलाका रूपमा प्रहार गरिएका तीनवटा ड्रोनहरू पनि खसालेको थियो।

आईआरजीसीले भनेको छ: "होर्मुजको जलक्षेत्रको सुरक्षामा बाधा पुर्‍याउँदा आक्रामक अमेरिकी सेनाले ठूलो मूल्य चुकाउनु पर्नेछ।"

इरानले अमेरिकी सैन्य अड्डाहरू अवस्थित बाहरेन र कुवेतका निशानामा बारम्बार आक्रमण गरेको छ।

यसअघि सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो।

त्यसलाई उसले १३ एप्रिलमा सुरु भएको होर्मुजको जलमार्गमा वाशिङ्ट‍‍नको नौसेना नाकाबन्दीको एक भागको रूपमा औँल्याएको थियो।

अमेरिकी विमानले बोत्सवानाको झण्डा भएको एम/टी (मोटर ट्याङ्कर) जहाजको इन्जिन कक्षमा हेलफायर मिसाइल प्रहार गरेको थियो।

उसले त्यसका चालक दलले "बारम्बार चेतावनीलाई बेवास्ता गरेपछि त्यसो गरिएको जनाएको छ।

नाकाबन्दीका असर

सेन्टकमले मङ्गलवार ट्याङ्करलाई प्रहार गरिएको क्षण देखाउने भनिएको एक फूटेज पनि सार्वजनिक गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साता आफ्ना आलोचकहरूलाई "पछि बस्न र आराम गर्न" भन्दै इरानले "वास्तवमै सम्झौता गर्न चाहेको र यो अमेरिकाको लागि राम्रो हुने छ" भनेका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले सम्भावित शान्ति सम्झौताका सर्तहरू सम्पादनको लागि अनुरोध गरेको विवरण सार्वजनिक गरेपछि उक्त अभिव्यक्ति आएको हो।

बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजका अनुसार ती परिवर्तनहरू होर्मुज जलमार्ग र इरानबाट अत्यधिक समृद्ध युरेनियम हटाउने सम्बन्धी छन्।

सोमवार इरानको विदेश मन्त्रालयका प्रवक्ताले वाशिङ्गटनले "निरन्तर आफ्नो विचार परिवर्तन गरिरहेको र नयाँ वा विरोधाभासपूर्ण मागहरू अगाडि सारिरहेको" बताएका छन्।

आफ्नो हालैको एक विज्ञप्तिमा सेन्टकमले अमेरिकी सेनाले "बोत्सवानाको झण्डा भएको एमटीविरुद्ध उसले खार्ग टापुतर्फ अन्तर्राष्ट्रिय जल क्षेत्र पार गरेकाले नाकाबन्दीमा चालिने उपायहरू अपनाएको' जनाएको छ।

उसले उक्त पानीजहाजका चालकदलले "२४ घण्टाको अवधिमा कैयौँ पटक अमेरिकी सेनाले दिएको निर्देशन नमानेको" बताएको छ।

नाकाबन्दी लागु भएदेखि कुल छवटा व्यावसायिक जहाजहरूलाई निष्क्रिय पारिएको छ भने अन्य १२२ वटालाई अन्यत्र मोडिएको सेन्टकमले जनाएको छ।

टिप्पणीको लागि बीबीसीले बोत्सवानाको सरकारलाई सम्पर्क गरेको छ।

युद्ध सुरु भएयता पहिलो पटक अमेरिकी विदेशमन्त्री मार्को रुबिओ सार्वजनिक रूपमा अमेरिकी संसद् कंग्रेससमक्ष देखा परिरहँदा यी पछिल्ला हमलाहरू भएका छन्।

त्यहाँ शीर्ष अमेरिकी कूटनीतिज्ञले अमेरिकी वार्ताकारहरू होर्मुज जलमार्ग पुनः खोल्ने कुराको बदलामा इरानमाथिको प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव नगरेको बयान दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।