अमेरिकामा ट्रम्पनिकट परम्परावादी अभियानकर्मीको गोली हानी हत्या

अमेरिकाका अभियानकर्मी चार्ली कर्क
तस्बिरको क्याप्शन, एकतीस वर्षीय परम्परावादी अभियानकर्मी चार्ली कर्कको घाँटीमा एउटा गोली लागेको थियो
Published
पढ्ने समय: २ मिनेट

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका एक निकट सहयोगी मानिने अभियानकर्मी चार्ली कर्कको हत्या गर्ने व्यक्तिको खोजी जारी छ।

बुधबार यूटाको एक विश्वविद्यालयमा बोल्दै गर्दा ती ३१ वर्षीय परम्परावादी अभियानकर्मीको घाँटीमा एउटा गोली लागेको थियो।

त्यसलगत्तै अस्पताल लगिएका उनलाई केही घण्टापछि ट्रम्पले मृत घोषणा गरेका थिए।

ट्रम्पले राजनीतिक हिंसाको वातावरण तयार पारेको भन्दै "कट्टरपन्थी वामपन्थी" भन्नेहरूलाई त्यसका लागि दोष लगाएका छन्। उनले उक्त गोलीकाण्डमा संलग्न जोकोहीलाई पत्ता लगाउने वाचा गरेका छन्।

कर्कले १८ वर्षको उमेरमा 'टर्निङ पोइन्ट यूएसए' नामक परम्परावादी समूह स्थापना गरेका थिए। उनी राष्ट्रपति ट्रम्प र उनको परिवारसँग निकट थिए।

हमलाकारी को हुन्?

चार्ली कर्क

घटनास्थलमा रहेका एक बीबीसी संवाददाताले प्रहरीसँग हमलाकारीसम्म पुग्ने सूचना भए-नभएको थाहा नभएको बताएका छन्।

तर अधिकारीहरूका विश्वासमा ती व्यक्ति अहिले क्याम्पसभित्र छैनन्। उनीहरूले कर्कमाथि कतै छतबाट गोली प्रहार भएको ठानेका छन्।

अधिकारीहरूले सुरुमा पक्राउ गरिएका दुई जनालाई उनीहरूको गोलीकाण्डसँग "कुनै सम्बन्ध नरहेको" भन्दै रिहा गरिएको जनाएका छन्।

यसैबीच ट्रम्पले एक भिडिओ सन्देशमा त्यसलाई "अमेरिकाका लागि एउटा कालो क्षण" भन्दै उक्त "जघन्य हत्याका कारण आफू शोकाकुल र क्रोधित भएको" बताएका छन्।

निन्दा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चार्ली कर्क
तस्बिरको क्याप्शन, कर्क राष्ट्रपति र उनको परिवारसँग निकट थिए (फाइल तस्बिर)

राजनीतिक वृत्तमा रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षबाट कर्कको हत्याको निन्दा भइरहेको छ।

यूटाका रिपब्लिकन गभर्नरले गोलीकाण्डलाई 'राजनीतिक हत्या' भनेका छन्। स्पेन्सर कोक्सले त्यसमा जिम्मेवार जोकोहीलाई न्यायको कठघरामा ल्याइने बताएका छन्।

डेमोक्र्याटिक पार्टीका तर्फबाट निर्वाचित पूर्वराष्ट्रपति बराक ओबामाले त्यसलाई 'घृणित' भनेर निन्दा गरेका छन्।

उनले अमेरिकी लोकतन्त्रमा त्यसको कुनै स्थान नरहेको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।