'नेपालले अमेरिकासँग थप निर्यातयोग्य वस्तुमा भन्सार सुविधा माग गर्ने'

नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी, ऊनीका सामान, तयारी पोसाक, नेपाली हातेकागजलगायत पर्छन्
तस्बिरको क्याप्शन, नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी, ऊनीका सामान, तयारी पोसाक, नेपाली हातेकागजलगायत पर्छन्
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

काठमाण्डूमा हुन लागेको एउटा द्विपक्षीय व्यापारसम्बन्धी बैठकमा अमेरिका निर्यात गर्दा सहुलियत पाउने नेपाली उत्पादनहरूको सूची विस्तारका लागि वाशिङ्टनका अधिकारीहरूसँग प्रस्ताव गर्न लागिएको नेपाली अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार अमेरिकाले शून्य तथा सहुलियतपूर्ण भन्सारदरको सुविधा दिँदै आएका वस्तुको सूचीमा नेपालबाट उक्त देशमा हाल निर्यात भइरहेका अन्य केही वस्तुलाई पनि समावेश गर्नका लागि प्रस्ताव राख्न लागिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नेपालको निजी क्षेत्रलाई सम्भावित निर्यातजन्य वस्तुहरूको सूची उपलब्ध गराउन आग्रह गरेका थिए।

आगामी साता हुने बैठकमा थप केही वस्तुहरूको सूची तयार पारेर छुटका लागि प्रस्ताव पेस गर्ने तयारीमा नेपाली पक्ष रहेको बुझिएको छ।

कुन बैठक हुन लागेको हो?

नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुमा ऊनीका सामग्री पनि पर्छन्
तस्बिरको क्याप्शन, नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुमा ऊनीका सामग्री पनि पर्छन्

वाणिज्य मन्त्रालयका प्रवक्ता एवं सहसचिव बाबुराम अधिकारीले आगामी सोमवार नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको सातौँ बैठक हुन लागेको जानकारी दिए।

"उक्त काउन्सिल सचिवस्तरीय हुन्छ र हाम्रो सचिवज्यूले नेपालको नेतृत्व गर्नुहुन्छ त्यसका लागि हामीले एजेन्डाहरू तय गरिसकेका छौँ," उनले भने।

अधिकारीले दिएको जानकारीअनुसार नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत नेपाललाई उपलब्ध गराएको भन्साररहितलगायत सुविधाको समय सन् २०२५ को डिसेम्बरमा सकिँदैछ।

एनटीपीपीको म्याद सकिन लागेका बेला भइरहेको उक्त काउन्सिलको बैठकलाई कतिपयले नेपालले आफ्नो प्रस्ताव अघि बढाउने "उपयुक्त मौका" भनिरहेका छन्।

यद्यपि यो बैठकबाटै एनटीपीपीको म्याद थपिने वा नथपिने तथा नेपाली वस्तुले अमेरिकामा पाउने भन्साररहितलगायतका सुविधाबारे निर्णय हुने सम्भावना भन्ने रहँदैन।

अमेरिकी टोलीले त्यस्ता सुविधाका लागि नेपाली प्रस्तावको सिफारिस गर्न सक्ने र त्यसले उक्त देशका नीतिगत निर्णयमा प्रभाव पार्ने अपेक्षा भने गर्न सकिने जानकारहरू बताउँछन्।

नेपालबाट अमेरिका धेरै निर्यात हुने वस्तुमा छुर्पी पनि पर्छ
तस्बिरको क्याप्शन, नेपालबाट अमेरिका धेरै निर्यात हुने वस्तुमा छुर्पी पनि पर्छ

बैठकमा नेपालले राख्ने सम्भावित प्रस्ताव

उक्त सुविधाअन्तर्गत नेपालले अमेरिकामा हाल विभिन्न ७७ वटा वस्तुहरूमा भन्साररहित तथा न्यून भन्सारदरको सुविधा पाउँदै आएको छ।

यद्यपि कतिपय नेपालबाट निर्यात भइरहेका वस्तुहरू समेत उक्त सूचीमा नसमेटिएको गुनासो व्यापारीहरूले गरेका छन्।

"हामीले त्यसलाई उपयोग गरेर निर्यातका लागि खासै धेरै फाइदा लिन सकिरहेका छैनौँ कतिपय वस्तुहरू समावेश गर्नुपर्ने पनि अवस्था छ। ती सबै विषयहरूलाई समेटेर हामी प्रस्ताव राख्छौँ," अधिकारीले भने।

उनले दिएको जानकारीअनुसार निर्यातको सम्भावना बढी भएका वस्तुहरू उक्त सूचीमा थप्ने तथा एनटीपीपीको समयावधी थप गरिदिन नेपालले प्रस्ताव राख्ने तय भएको छ।

यद्यपि उनले "द्विपक्षीय वार्ताका सबै विषयहरू खुलाउन नमिल्ने" भन्दै विस्तृत विवरण दिएनन्।

उनकाअनुसार हालका ७७ वस्तुमा थप केहीलाई समावेश गर्न नेपालले बैठकमा औपचारिक प्रस्ताव राख्दैछ।

'लामो सूची'

नेपाली निर्यातकर्ताहरूले सरकारलाई उक्त बैठकमा अमेरिकामा सहुलियत पाउने वस्तुको सूचीमा राख्नुपर्ने भन्दै कैयौँ वस्तुहरूको लामो सूची बुझाएका छन्।

नेपाल तयारी पोशाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार उनीहरूले मात्र २७ वटा वस्तुहरूको सूची वाणिज्य मन्त्रालयलाई दिएका छन्।

"यो बैठकबाट मात्र हामीले सुविधा पाइहाल्छौँ भन्ने नभए पनि अमेरिकीहरूले सरकारलाई सिफारिस गरे भने त्यसले काम गर्छ भनेर हामीले सूची बुझाएका हौँ," उनले भने।

उनकाअनुसार अहिले पनि नेपालबाट अमेरिका धेरै निर्यात हुने कैयौँ वस्तुमा त्यहाँ १४ देखि ३४ प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरेको छ।

"यसरी धेरै भन्सार लाग्ने भएपछि अमेरिकी क्रेताहरू नेपाली सामान किन्न आकर्षित भएनन् त्यसैले हामीले यो पहल गर्नुपर्‍यो भनेर आग्रह गरेका हौँ," उनले भने।

अमेरिकाले नेपाललाई कुनै पनि वस्तुको 'हार्मोनाइज्ड कोड' अर्थात् एचएसकोडका आधारमा सुविधा उपलब्ध गराउँदै आएको छ।

त्यस्तो कोडमा समावेश हुँदा एउटै वर्गका वस्तुहरूको पनि फरकफरक कोड रहेको हुन्छ।

उदाहरणका लागि तयारी पोसाकभित्रै पनि 'पुरुषले लगाउने सर्टस्' र महिलाले लगाउने सोही कपडाको फरक एचएसकोड हुने वा बालबालिकाको फरक एचएस कोड पनि हुन सक्ने जानकारहरू बताउँछन्।

त्यसैले गर्दा सूची लामो हुने र नेपालबाट निर्यात धेरै हुने वस्तुको सूचीलाई कि ७७ वस्तुमा थप गरेर वा खासै निर्यात नहुने वस्तु हटाएर ७७ वटाभित्रै राख्न पहल गर्नुपर्ने व्यापारीहरूको भनाइ छ।

नेपालबाट निर्यात हुने मुख्य वस्तुमा तयारी पोसाक पनि पर्छ
तस्बिरको क्याप्शन, नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुमा तयारी पोसाक पनि पर्छ

नेपालको निर्यातमा सहयोग पुग्यो कि पुगेन?

नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौता भएको थियो।

उक्त सम्झौताअन्तर्गत व्यापार, लगानी र प्राविधिक साझेदारी बढाउने उद्देश्य राखिएको थियो। तर त्यसअन्तर्गत खासै प्रगति हुन नसकेको गुनासो हुने गरेको छ।

अमेरिकी सरकारले २०७२ सालको भूकम्पपछि दिएको एनटीपीपीको सुविधा भने सन् २०१६ को डिसेम्बर ३० बाट लागु भएको थियो।

उक्त सुविधाको अवधी आगामी वर्ष डिसेम्बरमा सकिन लागेकाले नेपाली निर्यातकर्ताहरूले त्यसलाई कायम राख्न कूटनीतिक पहल गर्नका निम्ति सरकारलाई आग्रह गरिरहेका छन्।

सरकारले पनि पहल जारी राखेको र त्यसै क्रममा टिफा काउन्सिलको बैठकमा प्रस्ताव राख्न लागिएको जनाएको छ।

यद्यपि अमेरिकाले दिएको उक्त सुविधाले नेपालको निर्यात खासै नबढाएको एउटा अध्ययनले देखाएको छ।

साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक एन्ड इन्भाइरमेन्ट (सावती) ले गत डिसेम्बरमा सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनमा भनिएको छ, "…हामीले एनटीपीपीले भन्साररहित बजार पहुँच दिएका उत्पादनहरूको नेपालबाट निर्यातमा वृद्धि भएको निर्णायक प्रमाणहरू फेला पारेनौँ।"

उक्त अध्ययनले सहुलियत नपाएका वस्तुको तुलनामा सहुलियत पाएका वस्तुहरूको निर्यात खासै बढेको नपाइएको पनि उल्लेख गरेको छ।

कुकुरले रुचाउने एक प्रकारको छुर्पीको अमेरिकामा निर्यात बढिरहेको छ
तस्बिरको क्याप्शन, कुकुरले रुचाउने एक प्रकारको छुर्पीको अमेरिकामा निर्यात बढिरहेको छ

नेपालबाट अमेरिकामा निर्यात

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट विभिन्न वस्तु निर्यात भएका मुख्य मुलुकमा अमेरिका पर्छ।

गत आर्थिक वर्षको विवरणअनुसार भारतपछि नेपालबाट सामान निर्यात हुने दोस्रो स्थानमा अमेरिका परेको छ। तर अमेरिकासँग नेपालको व्यापारघाटा साढे २ अर्ब भन्दा बढी रहेको छ।

नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा गलैचा, कुकुर र बिरालोको आहारा अर्थात् छुर्पी, ऊनी र फेल्टका सामान, तयारी पोसाक, ग्लासवेयर, पस्मिना सल, सारयुक्त तेल, सङ्गीतका सामान, नेपाली हातेकागज तथा क्रिसमसका सामग्रीहरूलगायत पर्छन्।

गत वर्ष नेपालबाट १७ अर्ब ३१ करोड रुपैयाँ बराबरका सामानहरू निर्यात भएका थिए भने अमेरिकाबाट नेपालमा करिब साढे १९ अर्बका सामानहरू आयात भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।