'कहिल्यै, कहिल्यै बिर्सने छैनौँ' - ९/११ आतङ्कवादी हमलाको २५ औँ वर्षको सम्झना अमेरिकाले यसरी गर्यो

तस्बिर स्रोत, Getty Images
- Author, ग्रेस एलिजा गूडविन
- Role, न्यू योर्क
- Author, बर्न्ड डेबुसमन कसी जेमफी असीअदु नदीन युसुफ
- Role, क्यानडा रिपोर्टर
- Published
- पढ्ने समय: ४ मिनेट
सेप्टेम्बर ११ घटनाको २५ वर्षपछि अमेरिकाका वर्तमान तथा पूर्व राष्ट्रपतिहरूले अपहरण गरिएका विमानहरू वर्ल्ड ट्रेड सेन्टर, पेन्टागनमा र पेन्सिलभेनियाको मैदानमा ठोक्किँदा ज्यान गुमाउनेहरूको सम्झना गरेका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागनमा आयोजित समारोहको नेतृत्व गरे। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले न्यू योर्कस्थित वर्ल्ड ट्रेड सेन्टरको स्मारक कार्यक्रममा सहभागिता जनाए। उक्त कार्यक्रममा जीवित रहेका चारै जना पूर्व अमेरिकी राष्ट्रपति र प्रथम महिलाहरू उपस्थित थिए।
त्यहाँ आक्रमण भएको समयलाई सम्झिन एक मिनेट मौन धारण गरियो र ज्यान गुमाएका करिब तीन हजार व्यक्तिको नाम वाचन गरियो।
शुक्रवार साँझ म्यानह्याटनको आकाशमा दुईवटा प्रकाशका किरणले ट्रिब्युट इन लाइट गरेर ९/११ का पीडितहरूको सम्झना गराए।
यसैबीच न्यू योर्क राज्यका अन्य महत्त्वपूर्ण राज्यका अन्य महत्त्वपूर्ण स्थलहरूमा पनि सम्झनास्वरुप निलो प्रकाशले झिलिमिली पारिएका थिए।

तस्बिर स्रोत, Pool/Getty Images
हमला हुँदाका बेला राष्ट्रपति रहेका जर्ज डब्ल्यु बुससँगै पूर्व राष्ट्रपतिहरू जो बाइडन, बराक ओबामा र बिल क्लिन्टन शुक्रवार वर्ल्ड ट्रेड सेन्टरमा आयोजित समारोहमा सहभागी भए।
"आज हामी त्यो पवित्र शपथलाई पुनः नवीकरण गर्छौँ जुन हामीले २५ वर्षअघि उनीहरूको नाममा पहिलोपटक लिएका थियौँ। हामी कहिल्यै, कहिल्यै बिर्सने छैनौँ। यही कारणले हामी आज पनि लडिरहेका छौँ," ट्रम्पले भने।
उनले ९/११ पछि सुरु भएको "आतङ्कवाद विरुद्धको युद्ध"लाई आफ्नो वर्तमान इरानसँगको द्वन्द्वसँग जोड्ने प्रयास गरे। ९/११ पछि सुरु भएको उक्त युद्धका कारण मध्यपूर्वका विभिन्न युद्धहरूमा अमेरिकाको वर्षौँसम्मको संलग्नता भएको थियो।
ट्रम्पले उपस्थित भीडलाई सम्बोधन गर्दै इस्लामिक रिपब्लिकले "कहिल्यै, कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्ने छैन" भने।
पेन्सिलभेनियाको श्याङ्क्सभिलमा पनि स्मृतिसभा आयोजना गरिएको थियो। त्यही स्थानमा यात्रुहरूले विमान अपहरणकारी विरुद्ध प्रतिरोध गरेपछि फ्लाइट९३ दुर्घटनाग्रस्त भएको थियो।

तस्बिर स्रोत, AFP via Getty Images
हरेक सेप्टेम्बर ११ तारिखमा चारवटा विमान दुर्घटनाग्रस्त भएको र ट्वीट टावरहरू ढलेको ठ्याक्कै समयको सम्झनामा घन्टी बजाइन्छ।
छ वटा घन्टीमध्ये प्रत्येक घण्टी बजाएपछि केही समय मौन धारण गरिन्छ।
यो वर्ष आक्रमणपछि क्यान्सरलगायत विभिन्न रोगका कारण ज्यान गुमाएका हजारौँ मानिसको सम्झनामा सातौँ घन्टी पनि बजाइएको थियो।
अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार टावरहरू भत्किँदा उत्पन्न भएको धुलो र धुवाँसँग सम्बन्धित रोगका कारण त्यसयता ज्यान गुमाउने मानिसको सङ्ख्या आक्रमणमा ज्यान गुमाएका करिब तीन हजार मानिसको सङ्ख्याभन्दा तीन गुणाभन्दा बढी पुगेको छ।

तस्बिर स्रोत, Reuters
म्यानह्याटनमा भएको कार्यक्रममा करिब चार घन्टासम्म मृतकहरूको नाम वाचन भइरहँदा ९/११ मा श्रीमान् गुमाएकी एक महिलाले साउदी अरबको आलोचना गरिन्। साथै साउदी अरबलाई जबाफदेही बनाउन अमेरिकी अधिकारीहरूले गरेको असफल प्रयासप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन्।
"हरेक वर्ष बित्दै जाँदा तपाईँको अझ बढी सम्झना आउँछ," विश्वभरि प्रत्यक्ष प्रसारण गरिएको आफ्नो सम्बोधन टेरी स्ट्राडाले आफ्ना श्रीमान् टम स्ट्राडालाई सम्झिएर भनिन्।
"तर २५ वर्ष बितिसक्दा पनि तपाईँको हत्यामा साउदी अरेबियाले खेलेको भूमिकाका लागि हामीले अझै न्याय पाएका छैनौँ, यो कसरी हुनसक्छ?"

तस्बिर स्रोत, Pool/Getty Images
९/११ फ्यामिलिज युनाइटेडकी राष्ट्रिय अध्यक्ष स्ट्राडाले यस्तो बताइरहँदा दर्शकहरूले ताली बजाएका थिए।
९/११ को घटना गराउनेमध्ये धेरैजसो साउदी अरेबियाका थिए र त्यसको योजनाको नेतृत्व अल-कायदाका संस्थापक ओसामा बिन-लादेनले गरेका थिए जो प्रभावशाली साउदी परिवारका उत्तराधिकारी थिए।
तर साउदी अधिकारीहरूले भने ती हमलाहरूमा आफ्नो संलग्नता नरहेको दोहोर्याउँदै आएको छ। सन् २००४ को आयोगको प्रतिवेदनमा अल-कायदालाई "साउदी सरकारले संस्थागत रूपमा वा वरिष्ठ साउदी अधिकारीहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेको कुनै प्रमाण फेला परेन" भनेर उल्लेख गरिएको थियो।

तस्बिर स्रोत, Getty Images
पीडितहरूको सम्मानमा अन्य स्थानहरूमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए।
लन्डन बकिङ्गम प्यालेसमा एउटा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो जसमा विदेशमन्त्री एड मिलब्यान्ड र अमेरिकी राजदूत वारेन स्टिफन्स सहभागी थिए।
क्यानडाको टोरन्टो स्टक एक्सचेन्जले पनि आक्रमणमा ज्यान गुमाएका आफ्ना सहकर्मीहरूको सम्झनामा एउटा कार्यक्रम आयोजना गरेको थियो।

तस्बिर स्रोत, Getty Images
मिलानमा कर्तव्य निभाउने क्रममा ज्यान गुमाएका आपत्कालीन उद्धारकर्मीहरूको सम्मानमा इटाली र अमेरिकाका अग्निनियन्त्रकहरूको एउटा समूहले औपचारिक रूपमा सिँढी चढ्ने कार्यक्रममा सहभागिता जनायो।
उनीहरूले आफ्नो पोसाक लगाएर र आवश्यक उपकरण बोकेर गाल्फा टावरको ११० तला माथि तल सिँढी चढे। यो सङ्ख्या वर्ल्ड ट्रेड सेन्टरका ट्वीन टावरहरूमध्ये प्रत्येकमा रहेका तलाहरूको सङ्ख्याको सम्झनामा तय गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















