चिनियाँ सहयोगमा दोस्रो पटक चक्रपथ विस्तार हुँदा पहिलाभन्दा के फरक हुन्छ

काठमाण्डूमा कलङ्कीमा चक्रपथमा निर्मित अन्डरपास

तस्बिर स्रोत, Getty Images

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

नेपाल र चीनबीच काठमाण्डू उपत्यकामा चक्रपथ विस्तारको दोस्रो चरण थाल्ने सम्झौता भएपछि नेपाली अधिकारीहरूले उक्त महत्त्वपूर्ण सडक विस्तार कार्य अघि बढाउँदा विगतका त्रुटिहरू दोहोरिन नदिने गरी गृहकार्य गरिएको बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चक्रपथ दोस्रो चरणमा विस्तार गर्ने योजना कार्यान्वयन गर्न बुधवार सम्झौता भएको थियो।

चिनियाँ सरकारले उपलब्ध गराउने १२ अर्ब रुपैयाँभन्दा बढी अनुदानबाट उक्त सम्झौताअनुसार काठमाण्डूको कलङ्कीदेखि वसुन्धारासम्मको ८.२ किलोमिटर सडकखण्ड विस्तार गर्ने योजना छ।

विगतमा पहिलो चरणको परियोजनाअन्तर्गत चिनियाँ सहयोगमा कलङ्कीदेखि कोटेश्वरसम्म काम सुस्त गतिमा अघि बढेको विषयदेखि सडक र अन्य पूर्वाधारबारे पनि प्रश्नहरू उठेका थिए।

यसपालि विगतमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने हिसाबले काम अघि बढाइने अधिकारीहरूले बताएका छन्।

सम्झौताको अर्थ के हो

सम्झौतामा हस्ताक्षरपछि भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ

तस्बिर स्रोत, @PRCAmbNepal/X

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले चक्रपथ विस्तारका बारेमा नेपाल र चीनले पहिले नै समझदारी गरेको र अहिले त्यसलाई कार्यान्वयन गर्न दुई पक्षबीच सम्झौता भएको बताए।

"वित्तीय सम्झौता पहिला नै भएको हो। तर कोभिड लगायतका कारणले रोकिएको थियो। पहिलो चरणको काम गर्दा पोलहरू हटाउने कुरा, मन्दिरहरूले ठाउँ ओगटेको कारणले एकदमै ढिला भयो। यसपालि उहाँहरूले जबसम्म सबै तयार हुँदैन हाम्रो टोली आउँदैन भन्नुभयो। अहिले हामीले क्लिअरन्स गर्‍यौँ र त्यसैको कार्यान्वयन सम्झौता गरेका हौँ।"

चिनियाँ पक्षले उक्त सडक विस्तारका लागि सर्भेका काम आफ्नो तर्फबाट गरिसकेको जानकारी दिँदै उनले भने, "उहाँले हामीहरूलाई अब विस्तृत प्रतिवेदन बुझाउनुहुन्छ। केही छ भने सडक विभागले सुझाव दिन्छ, त्यही आधारमा उहाँहरूले ठेकेदार छानेर काम अघि बढाउनुहुन्छ। हामीलाई पैसा केही आउँदैन, सबै काम उहाँहरूले नै गर्ने हो।"

सन् १९७७ मा चिनियाँ सहायतामा निर्माण गरिएको चक्रपथको पहिलो चरणको विस्तार चिनियाँ शाङ्घाई कन्स्ट्रक्शन ग्रूप कम्पनी लिमिटेडले सन् २०१३ बाट अघि बढाएको थियो।

त्यस क्रममा कोटेश्वरदेखि कलङ्कीसम्मको १०.४ किलोमिटर खण्डमा एउटा अन्डरपाससहित नेपालकै पहिलो आठ लेनको सडक निर्माण गरिएको थियो। चिनियाँ अनुदान ३.३१५ करोड डलर (५ अर्ब ३ करोड रुपैयाँ) मा चक्रपथको पहिलो चरणको विस्तारको काम सुरु भएको थियो।

यस पटक ८.२ किलोमिटर सडक विस्तार गर्नका लागि ५६.६ करोड चिनियाँ युआन अर्थात् १२ अर्ब ५५ करोड रुपैयाँ न्दा बढी रकम चिनियाँ पक्षले सहयोग गर्न लागेको अधिकारीहरूले जनाएका छन्।

सामाजिक सञ्जालमा राखिएको पोस्टमा चिनियाँ राजदूतले चिनियाँ सहयोग परियोजनाअन्तर्गत सो सम्झौता कार्यान्वयन भएको भन्दै द्विपक्षीय सहकार्यमा नयाँ उपलब्धि हासिले हुने अपेक्षा व्यक्त गरेका छन्।

सडक विभाग के भन्छ

चक्रपथमा गुडिरहेका सवारीसाधनहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चक्रमपथमा मा ट्राफिक व्यवस्थापन एउटा प्रमुख समस्या हो

सडक विभागअन्तर्ग रहेको काठमाण्डू चक्रपथ सडक विस्तार योजनाकी प्रमुख आशिका पोखरेलले कलङ्कीदेखि वसुन्धारासम्मको ८.२ किलोमिटर खण्डमा नेपाली पक्षले आफ्नै स्रोतमा 'सर्भिस लेन' निर्माण गरिरहेको र त्यसमा ७५ प्रतिशत बढी प्रगति भएको बताइन्।

उनले भनिन्, "त्यहाँ कालोपत्रे हुनेबित्तिकै हामी आफ्नो तर्फबाट तयार हुन्छौँ। त्यो भएपछि उहाँहरूले यहीँ ८.२ किलोमिटर खण्डभित्रै बीचको एक्सप्रेस-वे निर्माण गरेर जानुहुन्छ।"

बुधवार भएको सम्झौतापछि चिनियाँ पक्षले डिजाइन प्रस्तुत गर्नुपर्ने भन्दै उनले अघिल्ला वर्षहरूमा आफूहरूले पत्राचार गरेर त्यसका लागि केही सुझावहरू दिएको बताइन्।

पोखरेल भन्छिन्, "उहाँहरूले केही कुराहरू स्वीकार पनि गर्नुभएको छ। जस्तो, पहिलो चरणको विस्तारमा पैदलयात्रीहरूका लागि पुल थिएन। यसपालि त्यो राखिएको छ। बत्ती थिएन, यसपालि त्यो पनि राखिदिन्छौँ भनेर सहमति जनाउनुभएको छ। विभिन्न ठाउँमा पुलहरू बनाउन अनुरोध गर्दा त्यो पनि स्वीकार नै भएको छ। पहिलाका कमीकमजोरीलाई केही हदसम्म यसले सम्बोधन गर्छ।"

उक्त सडक विस्तारका क्रममा तीन ठाउँमा 'ओभरहेड ब्रिज' अर्थात् आकाशेपुल निर्माण गर्ने भनिएको छ। पोखरेलका अनुसार अहिले प्राथमिक चरणको सर्भेको काम मात्रै सकिएको हुनाले चिनियाँ पक्षले डिजाइन प्रस्तुत गरेपछि सडक विभाग र मन्त्रालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पुर्‍याइने छ।

उनका अनुसार अब विस्तार हुने चक्रपथको खण्डको 'सर्भिस लेन' निर्माणको काम यही आर्थिक वर्षमा सम्पन्न गर्ने हुने छ। "अब उहाँहरूलाई साइट खाली गराइरहनुपर्ने मुद्दा खासै हुँदैन। उहाँहरूले कहिलेसम्म काम सकिन्छ भन्ने कुरा मोटामोटी रूपमा सम्झौतापछि भन्ने भनिएको छ। अब उहाँहरू सम्पर्कमा आउनुहुन्छ। त्यसपछि उहाँहरूले विस्तृत कार्ययोजना पेस गर्नुहुन्छ।"

चक्रपथको बाँकी खण्डको पुनर्निर्माण कसले गर्छ

विमानस्थलस्थित हवाई इन्धन डिपो
तस्बिरको क्याप्शन, सडक नजिकैका इन्धन डिपोसहितका पूर्वाधारले यो चक्रपथको पूर्ण विस्तारलाई जटिल बनाउन सक्ने ठानिएको छ

चिनियाँ पक्षले निर्माण गरिदिने भनेकोबाहेक चक्रपथको बाँकी खण्डमा पुनर्निर्माणको काम नेपाली स्रोतबाटै अघि बढाउने तयारी रहेको अधिकारीहरू बताउँछन्।

उक्त काम हेरिरहेको सडक डिभिजन कार्यालय काठमाण्डूका प्रमुख सुबोधकुमार देवकोटाले अहिलेसम्म महाराजगन्जदेखि सुकेधारासम्म ६८० मिटर सडक निर्माण भएको र त्यहाँबाट गोपीकृष्ण हल चाबहिलसम्म बहुवर्षीय ठेक्काका लागि ५१ करोड रुपैयाँको स्रोत जुटाइदिन अर्थ मन्त्रालयलाई आग्रह गरिएको बताए।

उनका अनुसार त्यसबाहेक आगामी बजेटमा चाबहिल खण्डमा सडक विस्तार र सुधारका लागि प्रस्ताव गर्न लागिएको छ। यद्यपि त्यहाँबाट कोटेश्वरसम्मको निर्माण अघि बढाउने काम चुनौतीपूर्ण रहेको बताइन्छ।

चाबहिल र विश्वसम्पदा सूचीमा परेको पशुपति क्षेत्रमा सडकको छेउमा स्तूप र मठमन्दिर भएका कारणले फराकिलो बनाउने काम त्यति सहज नहुने भन्दै कतिपय विज्ञहरूले त्यस क्षेत्रमा 'फ्लाइओभर' निर्माण गरिनुपर्ने सुझाव दिँदै आएका छन्।

गौशाला पार गरेपछि गल्फ कोर्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आयल निगमको इन्धन भण्डार सडकसँगै जोडिएका छन्। त्यसले पनि ती क्षेत्रमा चक्रपथ विस्तारको कामलाई प्रभावित पार्न सक्ने ठानिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।