चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट देशैभरि लागु, विगतभन्दा फरक के छ

नेपाल प्रहरी
तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

आसन्न ठूला चाडपर्वलाई लक्षित गर्दै बुधवारबाट देशैभरि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ताले बताएका छन्।

सर्वसाधारण नागरिकको सुरक्षादेखि औद्योगिक प्रतिष्ठान र सडक सुरक्षासम्मका विषय विशेष सुरक्षा योजनामा समेटिएका उनले बताए।

नेपाल प्रहरीका एक पूर्वअतिरिक्त महानिरीक्षकले पछिल्लो विपद्‌ र बेरोजगारीको पृष्ठभूमिमा चोरी एवं लुटपाटका घटना बढ्न सक्ने भन्दै सोहीअनुरूप रणनीति अपनाउनुपर्नेमा जोड दिएका छन्।

प्रहरीका अनुसार करिब डेढ महिनासम्म अर्थात्‌ छठपर्वको भोलिपल्ट (कार्तिक ३० गते) सम्म यो विशेष सुरक्षा योजना कार्यान्वयनमा रहने छ।

कतिपय जिल्लाले केही दिनअघि नै लागु गरिसकेको भए देशभरि बुधवारबाट कार्यान्वयनमा ल्याएको प्रहरी प्रवक्ताले बताए।

विगतभन्दा कसरी फरक?

विशेष सुरक्षा योजनाअन्तर्गत देशभरि ५० हजार जनाभन्दा बढी प्रहरीहरू खटाइने बताइएको छ।

योजना कार्यान्वयनको समय र थप जनशक्ति एवं प्रविधि परिचालनको दृष्टिकोणले विगतभन्दा यसपालिको विशेष सुरक्षा योजना केही फरक रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए।

उनका अनुसार विगतमा घटनास्थापनादेखि विशेष सुरक्षा योजना लागु गरिँदै आएकोमा यस पटक अलि अघिबाटै कार्यान्वयनमा ल्याइएको छ।

"घर तथा व्यावसायिक प्रतिष्ठानको विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रु तथा राजमार्ग सुरक्षा भनेर हामीले विशेष व्यवस्था गरेका छौँ," बीबीसी न्यूज नेपालीसँग काफ्लेले भने।

"त्यसमा चालक, यात्रु, सवारीसाधन र समग्र व्यवस्थापनको विषयमा विशेष निगरानी गर्छौँ।"

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यकहरूको सुरक्षामा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ।

पछिल्लो समय एआईको बढ्दो दुरुपयोग र डिजिटल माध्यमबाट भइरहेको ठगीको विषयलाई पनि योजनामा समेटिएको छ।

"डिजिटल ठगीको विषय विशेष निगरानीमा राखेका छौँ। फेक अनलाइन शपिङ हुन सक्ने सम्भावना, फेस्टिभ अफर, नक्कली चिट्ठा गिफ्टसम्बन्धी मेसेज, फेक इन्भेस्टमन्ट प्रफिट स्किम आउन सक्छन्। एआई प्रयोग गरी फेक अडिओ, भिडिओ हुन सक्छन्," प्रवक्ता काफ्लेले भने।

प्रविधिमा आधारित सुरक्षा निगरानी गरिने उल्लेख गर्दै उनले भने, "खास गरी सीसीटीभीबाट प्रमुख बजारहरू, चोक तथा नाका र भिडभाड हुने क्षेत्रमा निगरानी बढाइएको अवस्था छ।"

"ड्रोनको प्रयोगमा वृद्धि गरिएको अवस्था छ भने हामीले एरिअल सर्भेलिअन्स गरिरहेका छौँ। शरीरमा जडान गरिने क्यामरा अधिकतम प्रहरीलाई उपलब्ध गराउँदै छौँ।"

आवश्यकताअनुसार कतिपय स्थानमा सुँघ्ने कुकुरबाट 'सर्च अपरेशन' चलाइने प्रहरीले जनाएको छ।

निगरानीमा सवारीसाधन

सवारीसाधनको हकमा सूचनामा आधारित जाँच प्रणाली शुरू गरिएको प्रहरीले जनाएको छ।

"उदाहरणका लागि कुनै सवारीसाधन तीव्र गतिमा छ अथवा त्यसले ट्राफिक नियम उल्लङ्घन गरेको छ भने त्यहाँबाट दिइएको सूचनाका आधारमा आउने स्टेशनमा चालकलाई नियन्त्रणमा लिई जाँच गरिने छ," प्रवक्ता काफ्लेले भने।

"लाइसन्स र लागुपदार्थ एवं मादक पदार्थ सेवनको जाँच गर्ने काम सवारीसाधन छुट्ने स्थानमै गर्ने छौँ।"

ट्राफिक कम्युनिकेशन एपमार्फत्‌ लामो दूरीको हकमा दुई जना चालक राख्नुपर्ने व्यवस्था कार्यान्वयन गरिए वा नगरिएको पनि हेरिने प्रहरीले बताएको छ।

"सीट क्षमताभन्दा बढी यात्रु राख्न दिँदैनौँ भने सवारीसाधनको कन्डिशन चेक गरिएको कागजपत्र हेरेर मात्र लामो यात्रामा जान दिन्छौँ," काफ्लेले भने।

काठमाण्डूका १५ स्थानमा गरी देशभरि ४०८ ठाउँमा हेल्प डेस्क स्थापना गरिएको र त्यसका लागि मात्र १,१६५ जना प्रहरी खटाइएको छ।

प्रवक्ता काफ्लेका अनुसार अन्तर्राष्ट्रिय सीमानाकामा १०८ वटा हेल्प डेस्क स्थापना गरिएको छ भने त्यसमा ७५० जना प्रहरी खटिएका छन्।

"डिजिटल ठगीको विषय विशेष निगरानीमा राखेका छौँ। फेक अनलाइन शपिङ हुन सक्ने सम्भावना, फेस्टिभ अफर, नक्कली चिट्ठा गिफ्टसम्बन्धी मेसेज, फेक इन्भेस्टमन्ट प्रफिट स्किम आउन सक्छन्। एआई प्रयोग गरी फेक अडिओ, भिडिओ हुन सक्छन्," उने अगाडि थपे।

गृह मन्त्रालय

सुरक्षाविद्‌ के भन्छन्?

चाडपर्वका बेला समूहसमूहबीच झैझगडा हुन सक्नेदेखि सीमानाकामा तस्करी लगायतका घटना बढ्न सक्ने सुरक्षाविद्हरू बताउँछन्।

"बेरोजगारी र महँगीबीच लुटपाट, चोरी, डकैती जस्ता आर्थिक अपराध बढ्न सक्ने जोखिम उस्तै रहन्छ," भूतपूर्व अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले बीबीसी न्यूज नेपालीसँग भने।

पछिल्ला वर्षहरूमा खास गरी सीमावर्ती तराई मधेशका जिल्लाहरूमा साम्प्रदायिक दङ्गाका घटना पनि हुन थाल्नुलाई सुरक्षा चुनौतीका रूपमा विज्ञहरू औँल्याउँछन्।

"मूर्तिहरू सेलाउने क्रममा दुई फरक समुदायबीच हिंसा हुने समय पनि हो। त्यसमा विशेष सजगता अपाउनुपर्ने देखिन्छ," भण्डारीको सुझाव छ।

कुनै अप्रिय घटना हुनुभन्दा पहिल्यै उपयुक्त रणनीति अपनाउनु श्रेयस्कर हुने उनको तर्क छ। "घटना भइसकेपछि कारबाही गर्नुभन्दा हुन नदिने रणनीति अवलम्बन गर्दा राम्रो हुन्छ।"

प्रहरीको एकल प्रयासले मात्र अपराध नियन्त्रण सम्भव नहुने भन्दै समुदायसँग साझेदारी बढाउनुपर्नेमा भूतपूर्व अतिरिक्त प्रहरी महानिरीक्षक भण्डारी सुझाउँछन्।

अपराध नियन्त्रण र भएका घटनाको सफल अनुसन्धानमा विशेष ध्यान केन्द्रित गरिएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुक्क भएर चाडवाड मनाउन आममानिसलाई आग्रह गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।