इन्स्टाग्राममा गोपनीयता कायम गर्ने प्रविधि बन्द, अब तपाईँले डीएम पठाउँदा के फरक पर्छ

    • Author, जो टाइडी
    • Role, साइबर संवाददाता, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ४ मिनेट

इन्स्टाग्राममा 'अल्ट्रा-प्राइभेट डिरेक्ट मेसिज' पठाउन सक्ने सुविधा बन्द भएको छ।

प्रयोगकर्ताहरूले एकअर्कालाई पठाउने सन्देशबाट एन्ड-टु-एन्ड इन्क्रिप्शन (E2EE, ईटुईई) हटाउनुले इन्स्टाग्रामको माउकम्पनी मेटाको नीतिमा ठूलो परिवर्तन आएको सङ्केत गर्छ। यसअघि मेटाले यो प्रविधिलाई प्रयोगकर्ताको गोपनीयता कायम गर्ने 'सुनौलो मानक'का रूपमा प्रवर्धन गर्दै आएको थियो।

ईटुईईलाई अन्लाइन सन्देश आदानप्रदान गर्ने सबैभन्दा सुरक्षित उपाय मानिन्छ। यसमा सन्देश पठाउने र पाउने प्रयोगकर्ताले मात्र सन्देश हेर्न पाउँछन्। तर कुनै निकायले हस्तक्षेप गर्न नसक्ने गरी यो माध्यमबाट आपत्तिजनक सामग्री पठाइन सक्ने भन्दै अभियानकर्ताहरूले निकै पहिलादेखि विरोध गर्दै आएका थिए।

बालबालिकाको हितका लागि काम गर्नेसहितका विभिन्न समूहहरूले मेटाको यो निर्णयलाई स्वागत गरेका छन्। तर गोपनीयताको पक्षमा रहेका समूह र अभियानकर्ताहरूले भने यसको विरोध गरेका छन्।

ईटुईई बन्द गरेपछि अब इन्स्टाग्रामले तस्बिर, भिडिओ र भोइस नोटसहित 'डीएम'मा हुने सबै सामग्री हेर्न सक्ने छ।

अब सन्देशमा इन्टरनेट सेवाप्रदायकको पनि पहुँच

गोपनीयता कायम रहने आश्वासनसहित सन् २०१९ मा मेटाले फेसबुक र इन्स्टाग्राममा सन्देश आदानप्रदान गर्ने यो विधि थाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

फेसबुक मेसिन्जरमा सो सुविधा उपलब्ध गराउने योजना सन् २०२३ मा सम्पन्न भयो। इन्स्टाग्राममा भने स्वतः उपलब्ध गराउने योजनासहित उक्त सुविधा ऐच्छिक थियो।

तर सात वर्षपछि मेटाले इन्स्टाग्राममा यो सुविधालाई व्यापक रूपमा विस्तार नगर्ने निर्णय गरेको छ। अब इन्स्टाग्राममा 'स्ट्यान्डर्ड इन्क्रिप्शन' मात्र उपलब्ध हुने छ।

स्ट्यान्डर्ड इन्क्रिप्शन मात्र हुँदा आवश्यक भएको खण्डमा इन्टरनेट सेवाप्रदायकले निजी सामग्रीहरू पनि हेर्न सक्ने छ।

जीमेलजस्ता अधिकांश मुख्य अन्लाइन सेवाहरूमा यो सामान्य रूपमा प्रयोग हुँदै आएको प्रणाली हो।

निकै लामो सङ्घर्ष

आलोचना भएको भए पनि सन् २०१९ देखि नै मेटाले यो 'एन्ड-टु-एन्ड इनक्रिप्शन' लाई फेसबुक र इन्स्टाग्राममा प्रयोग हुने बनाउन प्राविधिक चुनौती समाधान गर्ने प्रयाससँगै आफ्नो योजनाको प्रतिरक्षा गर्दै आएको थियो।

मेटाले इन्स्टाग्राममा ईटुईई लागु गर्ने योजना परित्याग गरेको सार्वजनिक घोषणा गरेको छैन।

बरु उक्त एप प्रयोग गर्नका लागि निर्धारित सर्तहरू चुपचाप मार्च महिनामा परिमार्जन गर्‍यो।

"त्यसमा "इन्स्टाग्राममा ८ मे २०२६ पछि एन्ड-टु-एन्ड इन्क्रिप्टेड सन्देश आदानप्रदान सेवा उपलब्ध हुने छैन" भनिएको छ।

"यदि यो परिवर्तनबाट तपाईँका च्याटहरू प्रभावित भएका छन् भने तपाईँ आफूले चाहेका सामग्री वा सन्देशहरू कसरी डाउनलोड गर्ने भन्ने निर्देशन तपाईँले देख्नुहुने छ," त्यसमा भनिएको छ।

मेटाले निकै कम प्रयोगकर्ताले मात्र उक्त सुविधा प्रयोग गरेको हुनाले यो निर्णय गरिएको संवाददाताहरूलाई बताएको छ।

तर टिप्पणीकर्ताहरूका अनुसार ऐच्छिक सुविधा प्रयोग गर्नेहरूको सङ्ख्या प्रायः कम नै हुन्छ।

ग्रेशम कलेजमा आईटी विषय प्राध्यापन गर्ने भिक्टोरिया बाइन्सजस्ता साइबरसुरक्षाविज्ञ र विश्लेषकहरू मेटाको यो निर्णयले उसको गोपनीयताबारेको धारणामा परिवर्तन भएको सङ्केत गर्ने बताउँछन्।

"सामाजिक सञ्जालका मञ्चहरूले लक्षित विज्ञापन गर्न सकियोस् भनेर हाम्रा पोस्ट, लाइक र सन्देशसहितका सञ्चारलाई मनिटाइज गर्छन्," उनले भनिन्।

"मेटाजस्ता कम्पनीहरू बढ्दो क्रममा एआई मोडलहरूलाई तालिम दिन आफ्नो ध्यान केन्द्रित गर्दै छन्, त्यसका लागि सन्देशको डेटा निकै महत्त्वपूर्ण हुन सक्छ," उनले भनिन्, "मलाई यो निर्णय अझ जटिल छ जस्तो लाग्छ।"

पहिला इन्स्टाग्रामले एआईलाई तालिम दिन डीएमहरू प्रयोग नगरिएको बताएको थियो।

इन्स्टाग्रामले गोपनीयताको विषयमा निर्णय उल्ट्याइएकोबारे थप प्रतिक्रिया दिन गरिएको अनुरोध अस्वीकार गरेको छ। इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले अन्तर्वाता दिन पनि मानेनन्।

गत महिना मेटाले आफ्ना कर्मचारीलाई कार्यालयले उपलब्ध गराउने सञ्चारका साधनहरूमा उनीहरूले गर्ने क्लिकसहितको गतिविधि एआई मोडललाई तालिम दिन चाहिने डेटाका लागि सङ्कलन गर्ने बताएको थियो।

बिग ब्रदर वाचजस्ता अभियानकर्ताहरू भन्छन् मेटाको निर्णयबाट बृहत्ततर सामाजिक सञ्जाल उद्योग नै प्रभावित हुन सक्छ।

केही समयअघिसम्म ईटुईईको प्रयोग विस्तार भइरहेको देखिएको थियो।

  • सिग्नल, ह्वाट्स्याप, फेसबुक, मेसिन्जर, एपलको आईमेसिज र गुगल मेसिसिजमा ईटुईई स्वतः प्रयोग हुन्छ
  • टेलिग्रामले ईटुईईलाई ऐच्छिक बनाएको छ, स्वतः चल्दैन
  • एक्स अर्थात् पहिलाको ट्विटरले 'डीएम'का लागि समान प्रणाली प्रयोग गर्छ। तर आलोचकहरूले त्यसले मापदण्ड पूरा नगर्ने औँल्याउँदै आएका छन्
  • स्न्याप्च्याटले डीएममा पठाइने तस्बिर र भिडिओका लागि ईटुईई प्रयोग गर्छ। उसले अक्षराङ्कित सन्देशमा पनि ईटुईई प्रयोग गर्ने बताएको छ
  • डिस्कर्डले भोइस र भिडिओ कललाई स्वतः ईटुईई प्रयोग गरेर सुरक्षित बनाउने योजना बनाएको छ

यद्यपि मार्च महिनामा टिकटकले बीबीसीलाई 'डीएम'मा यो प्रविधि प्रयोग गर्ने आफ्नो योजना नभएको बताएको थियो।

त्यसको १४ दिनपछि इन्स्टाग्रामले आफ्नो प्रयोगका सर्तहरू अद्यावधिक गर्दै ईटुईई विस्तार नगर्ने पुष्टि गर्‍यो।

बेन्सजस्ता टिप्पणीकर्ताहरू यस्ता निर्णयहरूका कारण ईटुईईको विस्तार रोकिन सक्छ भन्छन् र भविष्यमा यो प्रविधि विशुद्ध मेसिजिङ एपहरूमा मात्र सीमित हुन सक्ने सम्भावना देख्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।