तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पश्चिम बङ्गालमा ममता बनर्जीको गढ भत्काउँदै मुख्यमन्त्री बनेका शुभेन्दु अधिकारी को हुन्
- Author, जोया मतीन
- पढ्ने समय: ३ मिनेट
भारतको पश्चिम बङ्गाल राज्यमा लामो समय सत्ता चलाएकी भूतपूर्व मुख्यमन्त्रीका कुनै बेला शिष्य मानिएका व्यक्तिले नै उनलाई पदबाट विस्थापित गरेका छन्।
केही वर्ष पहिला आपसी सम्बन्ध बिग्रिनुअघि सुभेन्दु अधिकारी ममता बनर्जीका निकटवर्ती सहयोगी थिए।
केही दिनअघि भारतीय जनता पार्टी बीजेपीबाट चुनाव जितेका अधिकारीले शनिवार पश्चिम बङ्गालका मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
पश्चिम बङ्गाल राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी बीजेपीले पहिलो पटक सत्तारोहण गरेको हो।
शुक्रवार मात्र बीजेपीले शुभेन्दु अधिकारीलाई संसदीय दलको नेताका रूपमा चयन गरेको थियो। पश्चिम बङ्गालले गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेका बेला उनले मुख्यमन्त्री पद सम्हालेका छन्।
कुल २९४ सीटमध्ये २०७ वटामा जित हासिल गर्दै बीजेपीले ममता बनर्जीको १५ वर्षे सत्तायात्रामा पूर्णविराम लगाइदिएको छ।
प्रमुख योजनाकार
शुभेन्दु अधिकारीको राजनीतिक यात्रा बीजेपीबाट चाहिँ शुरू भएको होइन। सन् १९७० मा पूर्व मेदिनीपुर जिल्लामा बङ्गालको निकै प्रभावशाली राजनीतिक परिवारमा उनको जन्म भएको हो।
वामपन्थीविरोधी शक्तिका रूपमा देखिएका बेला तृणमूल कांग्रेसमा जोडिनुअघि उनी कांग्रेस पार्टीबाट उदाएका हुन्।
तटीय पश्चिम बङ्गाल क्षेत्रमा राजनीतिक सञ्जाल फैलाएका शुभेन्दुका बुवा सिसिर अधिकारी एक अनुभवी राजनीतिज्ञ थिए, जसको परिवारका थुप्रै सदस्य जननिर्वाचित पदमा रहेका थिए।
सामान्य रूपमा आफूलाई प्रस्तुत गर्दै आएका सुभेन्दु अधिकारी साङ्गठनिक कौशलका कारण निकै कम समयमा तृणमूल कांग्रेसभित्र शक्तिको वैकल्पिक केन्द्र बन्न पुगे।
पूर्व मेदिनीपुर जिल्लालाई अधिकारी परिवारको गढ मानिन्छ। शुभेन्दुका बुबा र भाइले पनि तृणमूल कांग्रेसको टिकटमा लोकसभा र विधानसभा चुनाव जित्दै आएका दृष्टान्त छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार तृणमूल कांग्रेसलाई सत्तामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको नन्दीग्राम आन्दोलनका मुख्य शिल्पकार शुभेन्दु नै थिए।
सन् २००६ मा कान्थी दक्षिणबाट जितेका उनले सन् २००७ मा तात्कालिक वाममोर्चा सरकारविरुद्ध भूमि निष्काशन प्रतिरोध समितिको ब्यानरमा स्थानीय बासिन्दाहरूलाई एकजुट पार्ने कार्यमा अहम भूमिका निर्वाह गरेका थिए।
त्यस बेला नन्दीग्राममा प्रस्तावित रासायनिक हबका लागि जग्गा अधिग्रहणविरुद्ध आन्दोलन गर्ने मेसो सुरु हुन लागेको थियो। सो समयमा त्यस क्षेत्रमा हल्दियाका सीपीएम नेता लक्ष्मण सेठको बोलबाला थियो।
तर सो क्षेत्रका प्रभावशाली नेता सेठको चुनावमा पराजयको कारण शुभेन्दुलाई नै मानिन्छ।
व्यक्तिगत महत्त्वाकाङ्क्षा
जङ्गलमहल नामले कुख्यात पश्चिम मेदिनीपुर, पुरुलिया र बाङ्कुरा जिल्लामा तृणमूल कांग्रेसको बलियो आधार निर्माण गर्न शुभेन्दुको महत्त्वपूर्ण भूमिका रह्यो।
अहिले उनकै कारण बीजेपीले ती क्षेत्रहरूमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गरेको छ।
व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण शुभेन्दु तृणमूल कांग्रेसबाट अलग भएका राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ। सन् २०२१ को चुनावअघि उनी बीजेपीमा प्रवेश गरेका हुन्।
यद्यपि विरोधीहरूले भ्रष्टाचारसम्बन्धी कैयौँ प्रकरणमा मुछिएका शुभेन्दु अनुसन्धानको रेडारमा पर्नबाट जोगिन वाध्यतावश बीजेपीमा सामेल भएका आरोप लगाउने गरेका छन्।
तर विगत पाँच वर्षमा आफ्नो सक्रियताका कारण बीजेपीले तृणमूलको गढ मानिने क्षेत्रहरूमा धेरै सिटहरू खोसेको छ। यसमा शुभेन्दु अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
छ वर्ष अघिसम्म ममता बनर्जीको सरकारमा दोस्रो वरीयतामा रहेका शुभेन्दु अधिकारी बीजेपी पहिलो वरीयतामा पुगेका छन् अर्थात् मुख्यमन्त्री बनेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।