हान्टा भाइरसबाट प्रभावित क्रूज जहाजबाट अन्तिम यात्रु बाहिरिए, थप ३ सङ्क्रमित

सतर्कता

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अधिकारीहरूले क्रूज जहाजका यात्रुहरू ओर्लिँदा सतर्कतापूर्वक व्यवस्थापन गरेका थिए
पढ्ने समय: ३ मिनेट

हान्टा भाइरसबाट प्रभावित क्रूज जहाजका यात्रुहरूको अन्तिम समूहले जहाज छाडेको छ। अधिकारीहरूले भाइरसको घातक प्रकोपसँग सम्बन्धित नयाँ ३ वटा सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

जहाजमा बाँकी रहेका अन्तिम ६ यात्रुहरूमा ४ जना अस्ट्रेलिया, एक जना ब्रिटेन र एक जना न्यूजील्यान्डका नागरिक थिए।

चालक दलका केही सदस्यहरूका साथ उनीहरू जहाजबाट ओर्लिएपछि एमभी होन्डिअस नामक उक्त क्रूज जहाज सोमवार टेनरिफबाट नेदरल्यान्ड्सतर्फ प्रस्थान गरेको छ।

जहाजमा यात्रा गरेका ३ जना यात्रुहरूको मृत्यु भएको छ, जसमध्ये २ जनामा भाइरस पुष्टि भएको छ।

अधिकारीहरूका अनुसार यसअघि घर फर्किएका एक अमेरिकी र एक फ्रान्सेली नागरिक भाइरस सङ्क्रमित भएको पुष्टि भएको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार एमभी होन्डिअस यात्रासँग जोडिएका ७ जनामा हान्टा भाइरस पुष्टि भइसकेको छ र अन्य २ जनालाई शङ्काको घेरामा राखिएको छ।

सङ्क्रमितको उपचार जारी

यात्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, २० जना ब्रिटिश नागरिकलाई आइतवार अस्पताल पुर्‍याइएको थियो

स्पेनको स्वास्थ्य मन्त्रालयले जहाजबाट निकालिएर मड्रिडमा क्वारन्टीनमा रहेका आफ्ना एक नागरिकमा पनि सोमवार हान्टा भाइरस पोजिटिभ देखिएको जनाएको छ।

अमेरिकी स्वास्थ्य मन्त्रालयले आइतवारको स्वदेश फिर्ती उडानमा रहेका आफ्ना दोस्रा नागरिकमा पनि सामान्य लक्षण देखिएको सोमवार बताएको छ।

दुवै जना यात्रुहरूलाई निकै सतर्कतापूर्वक "बायोकन्टेनमेन्ट युनिटहरूमा" ल्याइएको मन्त्रालयको भनाइ छ।

फ्रेन्च स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले एक महिलालाई प्यारिसमा आइसोलेशनमा राखिएको र उनको स्वास्थ्य बिग्रँदै गएको बताएकी छन्। अधिकारीहरूले उनको सम्पर्कमा आएका २२ जना व्यक्तिहरूको पहिचान भएको बताएका छन्।

सङ्क्रमण पुष्टि भएका दुई जना ब्रिटिश नागरिकहरूको अहिले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकामा उपचार भइरहेको छ।

हान्टा भाइरस सामान्यतया "रोडेन्ट्स" समूहका जनावरबाट सर्छ, तर एन्डिज स्ट्रेन मानिसहरूबाट पनि सर्ने सम्भावना हुन्छ – डब्ल्यूएचओले जहाजका केही यात्रुहरू दक्षिण अमेरिकामा सङ्क्रमित भएको विश्वास गर्छन्।

अनावश्यक अत्यास?

जहाज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जहाजबाट सबैभन्दा पहिले स्पेनका नागरिकलाई बाहिर निकालिएको थियो

भाइरस सङ्क्रमणका कारण ज्वरो, अत्यधिक थकाइ, मांसपेशी र पेट दुखाइ, बान्ता, पखाला र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन सक्छन्।

अधिकारीहरूका अनुसार सङ्क्रमणले ठूलो प्रकोपको रूप लिने जोखिम निकै कम छ।

जहाज सञ्चालक ओशनवाइड एक्सपिडिशन्सका अनुसार सोमवार साँझसम्म क्रूज जहाजमा २५ चालक दल सदस्य र दुई मेडिकल स्टाफ गरी २७ जना बाँकी छन्।

तीमध्ये १७ जना फिलिपिन्स, दुई मेडिकल स्टाफसहित ४ जना नेदरल्यान्ड्सका, ४ जना युक्रेन, एक जना रुस र एक जना पोल्यान्डका नागरिक छन्।

युक्रेनको विदेश मन्त्रालयले विमानमा रहेका युक्रेनीहरूले जहाजलाई नेदरल्यान्ड्स पुर्‍याउन सहयोग गर्ने र पुगेपछि उनीहरू स्वास्थ्य सुविधा सहितको क्वारन्टीनमा बस्ने बताएको छ।

उनीहरूमा रोगको कुनै लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ।

स्पेनको क्यानरी द्वीपमा रोकिएको एमभी होन्डिअस नामको उक्त क्रूजबाट केही दिनयता ९० भन्दा धेरै यात्रु स्वदेश फर्काइएका छन्।

यात्रु

तस्बिर स्रोत, Reuters

अमेरिकी नागरिकमा सङ्क्रमण पुष्टि हुनुअघि डब्ल्यूएचओका प्रमुखले हान्टा भाइरसको प्रकोपबारे सङ्गठनको निर्देशिका पालना नगर्ने अमेरिकाको निर्णयले 'जोखिम निम्त्याउन सक्ने' चेतावनी दिएका थिए।

विश्व स्वास्थ्य सङ्गठनले एमभी होन्डिअसबाट बाहिरिनेहरूलाई ४२ दिन आइसोलेशनमा बस्न सिफारिस गरेको छ।

तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) का कार्यवाहक प्रमुख डा. जय भट्टाचार्यले मानिसबाट मानिसमा सर्ने सम्भावना निकै दुर्लभ रहेको र यसलाई कोभिड जस्तो व्यवहार गर्न नहुने भनेका छन्।

अर्जेन्टिनाबाट १ एप्रिलमा प्रस्थान गरेको एमभी होन्डिअसमा २३ देशका १४७ यात्रु र चालक दलका सदस्यहरू सवार थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।