समोसा, पकौडा लगायतका खानेकुरा पत्रपत्रिकामा किन राख्नु हुँदैन

तस्बिर स्रोत, Zohaib Hussain/IndiaPictures/Universal Images Group via Getty Images
- Author, शेख अन्सारी
- Role, बीबीसी हिन्दी संवाददाता
- Published
- पढ्ने समय: ४ मिनेट
नेपाल र भारतका कैयौँ ठाउँमा अझै पनि समोसा, पकौडा अथवा तेलमा तारिएका कतिपय खानेकुराहरू पत्रपत्रिकामा राखेर दिने गरेको पाइन्छ।
हुन त पछिल्ला वर्षहरूमा सचेतनासँगै त्यो क्रम घट्दै गएको बताइन्छ, तर अझै पनि पूर्ण रूपमा हटिसकेको अवस्था छैन।
भारतको खाद्य सुरक्षा तथा मापदण्डसम्बन्धी निकाय एफएसएसएआईले हालै स्ट्रीटफूड विक्रेता, होटल र अरू व्यापारीहरूको हकमा महत्त्वपूर्ण निर्देशनहरू जारी गरेको छ।
खानेकुराहरू पत्रपत्रिका वा छपाइ गरिएका अरू कागजपत्रमा बेर्नु अथवा पस्कनु स्वास्थ्यका लागि हानिकारक हुन सक्ने एफएसएसएआईले चेतावनी दिएको छ।
उसका अनुसार कागजमा छपाइका लागि प्रयोग गरिने मसीमा सिसासहित रसायनहरू हुने गर्छन्।
तात्तातो समोसा, पकौडा अथवा अरू खानेकुरा पत्रपत्रिकामा राख्दा त्यस्ता रसायनहरू खानामा मिसिन पुग्छन् र खानासँगै पेटमा पुगेमा तिनले रोग निम्त्याउन सक्छन्।
भारतमा खानेकुराहरू राख्न अथवा पस्किनका लागि पत्रपत्रिका वा त्यस्तै अरू सामानको प्रयोग निषेध गरिएको छ।
केका लागि प्रयोग गर्नु हुँदैन
- खानेकुराबाट अतिरिक्त तेल सोस्न
- खानेकुरा अथवा खाना पकाउने सामान छोप्न
- खानेकुराहरू पस्कन
- खानेकुरा प्याकिङ गर्न

तस्बिर स्रोत, NOAH SEELAM/AFP via Getty Images
चिकित्सक के भन्छन्?
तात्तातो समोसा अथवा अरू खानेकुरा पत्रपत्रिकामा राख्दा निम्तिन सक्ने स्वास्थ्य समस्याबारे कुर्नूल मेडिकल कलेजस्थित सोनोलजिस्ट डा. श्याम प्रसादलाई हामीले सोधेका छौँ।
छपाइमा प्रयोग हुने मसी शरीरभित्र गएमा त्यसले निम्त्याउन सक्ने स्वास्थ्य समस्या र भित्री अङ्गहरूमा पार्न सक्ने प्रभावबारे उनले बताएका छन्।
डा. श्याम प्रसादका अनुसार छपाइमा प्रयोग हुने मसीमा लीड भन्ने धातु हुन्छ। खानाको माध्यमबाट त्यो शरीरभित्र प्रवेश गर्न सक्छ र त्यसले कलेजोलाई हानि पुर्याउन सक्छ।
रगतमा मिसिएर त्यसले शरीरका अरू अङ्गलाई हानि पुर्याउन सक्छ। कतिपय अवस्थामा त्यसले मस्तिष्कलाई क्षति पुर्याउने जोखिम पनि रहन्छ।
घरमा पनि कतिपय गृहिणीले पुराना पत्रपत्रिकामा रोटी अथवा पुरी राख्ने गरेको पाइन्छ। त्यसबाट वयस्कलाई भन्दा बच्चाहरूलाई बढी असर पर्ने डा. श्याम प्रसाद औँल्याउँछन्।
"त्यसले उनीहरूको मानसिक र शारीरिक विकासमा गम्भीर असर पार्न सक्छ। बालबालिकाको शरीरका अङ्गहरू पूर्ण रूपमा विकसित भइसकेका हुँदैनन्। त्यसैले उनीहरू यसको बढी जोखिममा पर्न सक्छन्," डा. श्याम प्रसादले थपे।

तस्बिर स्रोत, Soumyabrata Roy/NurPhoto via Getty Images
त्यसै गरी गर्भवती महिलामा पनि त्यसको असर पर्ने उनी बताउँछन्।
"गर्भवती महिलाहरूले छपाइ गरिएको कागजपत्रमा राखिएका खानेकुरा खानु हुँदैन। त्यो धेरै खतरनाक हुन सक्छ," उनले भने।
"ती रसायनहरू शिशु विकासका प्रारम्भिक चरणमा गर्भवती महिलाको शरीरभित्र गएमा गर्भपतन हुने, मानसिक अपाङ्गता भएको बच्चा जन्मिने अथवा मृत बच्चा जन्मिने जोखिम रहन्छ। त्यसैले गर्भवती महिलाहरूले यस सन्दर्भमा थप सावधानी अपनाउनुपर्ने हुन्छ।"
खाद्य सेवा प्रदायकहरूलाई खाद्यपदार्थ विक्रीवितरण गर्दा सुरक्षित एवं आधिकारिक रूपमा अनुमोदन गरिएका खाद्य-ग्रेड प्याकेजिङ सामग्रीको मात्र प्रयोग गर्न एफएसएसएआईले फेरि पनि निर्देशन दिएको छ।
उपभोक्ताहरूलाई सो सम्बन्धमा सजग रहन पनि उसले सुझाव दिएको छ।
खाद्यपदार्थ भण्डारण गर्न प्रयोग गरिने कागज, कागजको बक्सा, प्लेट र कपहरूले खाद्य-ग्रेड मापदण्डहरू पूरा गर्नुपर्ने नियम छ। त्यस्ता सामग्रीहरू दूषित वस्तु अथवा रोग निम्त्याउने पदार्थहरूबाट मुक्त हुनुपर्छ।
सम्भावित स्वास्थ्य जोखिम
पत्रपत्रिका छाप्नका लागि प्रयोग हुने मसीमा बाइन्डर, रङ, रसायन, हाइड्रोकार्बन र भारी धातुहरू हुन्छन्।
तात्तातो समोसा अथवा अरू खानेकुरा पत्रपत्रिकामा राख्दा तापका कारण मसीमा भएका रसायनहरू खानामा मिसिन सक्छन्।
त्यस्ता खानेकुरा खाँदा रसायनहरू शरीरभित्र प्रवेश गर्न सक्छन् र तिनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन्।
"पत्रपत्रिकाहरू धेरै मानिसका हातमा पुग्ने गर्छन् र ती विभिन्न ठाउँबाट आउँछन्। त्यसैले तिनमा धुलो, ब्याक्टेरिआ र अरू फोहोरहरू जम्मा भएको हुन सक्छ। तिनमा राखिने खानेकुरा खाने मानिसहरू बिरामी पर्न सक्छन्," डा. श्याम प्रसाद औँल्याउँछन्।
कतिपयले पुरी र तेलमा तारिएका अरू खानेकुराहरू राख्न तथा प्याकिङ गर्न पत्रपत्रिकाको प्रयोग गर्छन्।
तर घरमा पनि पत्रपत्रिकामा खानेकुरा राखेर नखान विज्ञहरू सुझाउँछन्। बरु त्यस्ता खानेकुरा स्टेनलेस स्टीलका कन्टेनर, सुकेका पात अथवा सिसाका भाँडाकुँडामा राख्न उनीहरूको सुझाव छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















