ताइवानतर्फ शक्तिशाली समुद्री आँधी, पूर्वी एशियामा सयौँ उडान रद्द

Published
पढ्ने समय: २ मिनेट

चम्पी नामक शक्तिशाली समुद्री आँधी ताइवानतर्फ बढिरहँदा त्यसको चौतर्फी असर देखिन थालेको छ।

प्रतिघण्टा १७३ किलोमिटर वेगको समुद्री आँधीले पूरै ताइवानलाई चपेटामा पार्ने अनुमान गरिएको छ।

जापानमा समेत पुग्ने उक्त समुद्री आँधी अगाडि बढ्दै गर्दा पूर्वी एशियामा सयौँ हवाई उडानहरू रद्द गरिएका छन्।

ताइवानमा करिब १२५ वटा उडानहरू रद्द गरिएका छन्, जसमध्ये अधिकांश आन्तरिक उडानहरू रहेका छन्।

केही रेल सेवा र फेरि सेवा पनि स्थगित गरिएका छन् भने पार्क तथा पर्यटकहरू जाने स्थलहरू बन्द गराइएको छ।

उच्च सतर्क रहन अनुरोध

जापानका प्रमुख एअरलाइनहरूमध्ये जापान एअरलाइन्स र एएनएले १६० भन्दा बढी उडानहरू रद्द गरेका छन्।

अधिकांश बिहीवार र आइतवारबीचका आन्तरिक उडानहरू रहेका छन्। ती उडानहरू रद्द गरिँदा अनुमानित कम्तीमा ११ हजार यात्रुहरू प्रभावित हुने ठानिएको छ।

ताइवानी अधिकारीहरूले बिहीवार नै चेतावनी जारी गरिसकेका छन्। ताइवानका प्रधानमन्त्रीले मानिसहरूलाई उच्च जोखिम क्षेत्रमा नजान अपील गरेका छन्।

समुद्री आँधीले पुर्‍याउने असरलाई ध्यानमा राख्दै शैक्षिक संस्थाका साथै कार्यालयहरू बन्द गराइएका छन्।

ताइवनको राष्ट्रिय अग्निनियन्त्रणसम्बन्धी निकायका प्रमुखले समुद्री आँधी ताइवानबाट बाहिरिएपछि पहाडी क्षेत्र, खोलाखोल्सा र समुद्री तटहरूदेखि टाढा रहन अनुरोध गरेका छन्।

अधिकारीहरूका अनुसार समुद्री छालले बगाउँदा अहिलेसम्म एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

एक हजार जनाभन्दा बढी मानिसहरूलाई उनीहरूका घरबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

चम्पी आँधी शनिवार अपराह्नपछि जापानतर्फ बढ्न थाल्ने पूर्वानुमान छ। जापानमा अहिले नै ३,६३० घरधुरीमा बिजुली आपूर्ति प्रभावित भएको ओकिनावा इलेक्ट्रिक पावरले जनाएको छ।

उक्त कम्पनीका अनुसार शक्तिशाली वर्षा र हुरीले मर्मतसम्भारको काम प्रभावित भइरहेको छ।

टोक्योमा शुक्रवार बादल लागेको छ। तर शनिवारबाट लगातार चार दिनसम्म पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद्‌हरूले बताएका छन्।

जापानकी प्रधानमन्त्री सनाए तकाइचीले समुद्री आँधीलाई लिएर उच्च सतर्कता अपनाउन अपील गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।