अस्ट्रेलियामा जन्मिएका उस्तै चम्ल्याहा शिशु किन दुर्लभ

अस्ट्रेलियामा जन्मिएका चम्ल्याहा बच्चाको कोलाज - उनीहरू सबै जना अस्पतालको इन्क्युबेटरमा छन्

तस्बिर स्रोत, Metro North Health

    • Author, एमी वोकर
  • Published
  • पढ्ने समय: ४ मिनेट

अस्ट्रेलियामा एक महिलाले चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। प्राकृतिक रूपमै गर्भधारण भएपछि जन्मिएका ती बच्चाहरू आनुवंशिक रूपमा पनि समान छन्।

यस्तो जन्मलाई दुर्लभ मानिन्छ। रोयल ब्रिज्बन एन्ड विमिन्स हस्पिटलले ती महिलाको गर्भ "निकै जोखिमयुक्त" भएको जनाएको थियो।

उनी गर्भवती भएको २८ साता चार दिनपछि गत जुलाई १४ मा शल्यक्रिया गरेर चारवटी बालिकालाई बाहिर निकालिएको थियो। उनीहरू 'मोनोजाइगोटिक' चम्ल्याहा हुन् अर्थात् एउटै निषेचित डिम्ब विभाजित भएर चारवटा भ्रूण विकसित भएपछि उनीहरूको जन्म भएको थियो।

'पहिला थाहा नभएको कुरा'

अस्पतालका अनुसार ती महिला ३४ वर्षीया जेनिटर नाअमोआना र उनका पति जोर्थमका यसअघि नै चार सन्तान थिए। गर्भमा चम्ल्याहा बच्चा भएको थाहा पाएपछि उनीहरू "अत्यन्तै आश्चर्यचकित" भएका थिए।

गर्भावस्थाको सुरुदेखि नै आमाको जाँच गरेकी डा एलेक्सा बेन्डनलका अनुसार उस्तै देखिने चम्ल्याहा बच्चाको जन्म "डेढ करोड गर्भमध्ये एउटाबाट" मात्र हुने गर्छ। "तर ती बच्चाको साल (प्ल्यासेन्टा) पनि एउटै हुनु चाहिँ अनौठो र पहिला थाहा नभएको कुरा हो," उनले भनिन्।

बेन्डलले मातृ तथा भ्रूण चिकित्सा र स्त्रीरोगमा विशेषज्ञता हासिल गरेकी छन्। उनका अनुसार यस्तो गर्भावस्था उच्च जोखिमयुक्त हुने भएकाले गर्भवती भएको २५ सातामै नाअमोआनालाई चिकित्सकीय निगरानीका लागि अस्पतालमा भर्ना गरिएको थियो।

"उनको गर्भ २८ सातासम्म लम्ब्याउन सकियो भने राम्रो हुन्छ भन्ने हामीलाई लागेको थियो," बेन्डलले भनिन्।

"त्यसैले २८ साता चार दिनमा चार सुन्दर र स्वस्थ बच्चाहरूको जन्म हुनु अद्भुत कुरा हो। यसमा सहभागी हुन पाउँदा हो हामी धेरै खुसी छौँ," उनले भनिन्।

गर्भवती हुँदा जेनिटर नाअमोआना पेटमाथि हात राख्दै

तस्बिर स्रोत, Jenitar Na’amoana/Gofundme

तस्बिरको क्याप्शन, जेनिटर नाअमोआनाले चार सन्तान जन्मिएपछि आफू र आफ्ना पति निकै खुसी भएको बताएकी छन्

"जेनिटरले पहिलो दिनदेखि नै सबै कुरालाई निकै सहज रूपमा लिएकी छन्...। उनी आफू र बच्चाहरूले बहोर्नुपर्ने सम्भावित जटिलता र जोखिमलाई कसोकसो पन्छाउन सफल भइन्," बेन्डलले भनिन्।

नवजातशिशुहरूको नाम एमिली, ह्यारिअट, क्याथरिन र एलेक्सा राखिएको छ।

आफ्नो नाम 'सापट' लिएर तीमध्ये एक बालिकाको नामकरण गरेपछि डा एलेक्सा बेन्डलले त्यसलाई "एउटा सुन्दर सम्मान" भनेकी छन्।

हेरचाहका लागि चन्दा सङ्कलन

बेबी इन्क्युबेटरको छेउमा ल्यामिनेट गरेर राखिएको सङ्केतपाटीमा 'क्वाड टू एलेक्सा' लेखिएको छ

तस्बिर स्रोत, Metro North Health

तस्बिरको क्याप्शन, चारमध्ये एक शिशुको नाम उनीहरूकी आमालाई हेर्दै आएकी चिकित्सक डा एलेक्सा बेन्डलप्रति सम्मान व्यक्त गर्न एलेक्सा राखिएको छ

डा बेन्डलका अनुसार गर्भमा व्यतीत गर्नुपर्ने समय पूरा नहोउन्जेल ती शिशुहरूलाई अस्पतालको नवजातशिशु सघन उपचार कक्ष (एनआईसीयू) मा राखिने छ।

"अहिले उनीहरूको स्वास्थ्य अवस्था निकै राम्रो छ," उनले भनिन्।

नाअमोआना दम्पतीका अरू सन्तानको उमेर एक वर्षदेखि १० वर्षसम्म छ।

नाअमोआनाले आफ्नो परिवारका लागि आवश्यक भएको भन्दै कम्तीमा १० वटा सीट भएको एउटा भ्यान किन्न चाहिने रकम जुटाउन अन्लाइन चन्दा सङ्कलन अभियान थालेकी छन्।

चन्दा सङ्कलन अभियान थाल्दा उनले लेखेकी छन्, "चमत्कारका रूपमा हाम्रा चार सन्तान जन्मिएका छन्। हाम्रो मन निकै खुसी भए पनि एकैपटक चार नवजात शिशुको हेरचाह गर्दा हामीले कहिल्यै कल्पना नगरेका चुनौतीहरू खेप्नुपरेको छ।"

मङ्गलवार अपराह्णसम्म उनीहरूले यो अभियानबाट १.२० लाख अस्ट्रेलियन डलर (७२,००० अमेरिकी डलर) भन्दा बढी रकम जुटाइसकेका छन्। मानिसहरूले पाँचदेखि १०,००० डलरसम्म चन्दा दिएका छन्।

प्राकृतिक रूपमा गर्भधारण भई चम्ल्याहा बच्चा जन्मिनु अत्यन्तै दुर्लभ मानिन्छ। चिकित्सकहरूका अनुसार यस्तो सम्भावना झन्डै सात लाख जन्ममध्ये एउटामा मात्र हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।