विश्वकप फुटबलका लागि दुइटा ट्रफी किन

    • Author, जूड विन्टर
    • Role, बीबीसी स्पोर्ट
  • Published
  • पढ्ने समय: ३ मिनेट

कैयौँ दिग्गज खेलाडीहरूले विश्वकपको ट्रफी आफ्नो हातले उचालेका छन्। तर ट्रफीकै बारेमा भने हतपत चर्चा हुँदैन अथवा भनौँ यसका दुई संस्करणका विषयमा।

विश्वकपको मूल ट्रफीलाई वर्तमान डिजाइनले विस्थापित गरेको ५० वर्षभन्दा बढी भइसकेको छ।

खेलकुदकै सबैभन्दा प्रतिष्ठित ट्रफीमध्ये एक मानिने विश्वकपको ट्रफीलाई किन दुइटा डिजाइन आवश्यक परेको होला त?

मूल 'ज्युल रीमे ट्रफी'

फिफाले विश्वकपको सन् १९३० मा आयोजित पहिलो प्रतियोगितामा पहिलो ट्रफी प्रयोग गर्न थाल्यो। त्यति बेला ज्युल रीमेको नेतृत्वमा प्रतियोगिता भएको थियो। पछि उनको सम्मानार्थ ट्रफीको नामकरण गरियो।

रीमे फिफाको नेतृत्वमा सबैभन्दा लामो समय बसे। उनी सन् १९२१ देखि १९५४ सम्म फिफाको अध्यक्ष थिए।

फ्रान्सेली मूर्तिकार अबेल लाफ्लुरले डिजाइन गरेको उक्त ट्रफीमा ग्रीक मिथकको मान्यतानुसार विजयकी देवी मानिने नाइकीको आकृति छ। त्यसमा नाइकीले एउटा कचौरा उठाएको देखिन्छ।

'स्टर्लिङ सिल्भर' अर्थात् शुद्ध चाँदीमा थोरै तामाको सम्मिश्रणबाट बनाइएको र सुनको जलप लगाइएको यो ट्रफी 'लापिस लाजुलाइ' भनिने नीलो रङ्गको एक प्रकारको बहुमूल्य रङ्गिन पत्थरमाथि राखिएको थियो।

दोस्रो विश्वयुद्धका बेला फिफाका पदाधिकारी ओट्टोरिनो बारास्सीले उक्त ट्रफीलाई नाजीहरूको हातमा पर्न नदिन रोममा आफ्नो ओछ्यानमुनि जुत्ताको बट्टामा लुकाएर राखेका थिए। उनी इटलीका थिए।

सन् १९६६ मा इङ्ग्ल्यान्डमा विश्वकप आरम्भ हुनुभन्दा केही महिनाअघि उक्त ट्रफी सार्वजनिक प्रदर्शनका लागि राखिएको ठाउँबाट चोरी भयो।

पछि पिकल्स नामक कुकुरले दक्षिण लन्डनको एउटा बगैँचामा झाडीमुनि पत्रिकाले बेरिएको अवस्थामा फेला पारेको थियो।

सन् १९७० मा लगातार तेस्रो पटक विश्वकप विजेता बनेपछि ज्युल रीमे ट्रफी ब्रजिलको स्थायी स्वामित्वमा पुग्यो।

तर उक्त ट्रफी फेरि १९८३ मा हरायो। ब्रजिल फुटबल महासङ्घको मुख्यालयबाट चोरी भएको ट्रफी फेला परेन। उक्त ट्रफी पगालिएको अनुमान गरिएको छ। त्यति बेला फिफाले विश्वकपको नयाँ ट्रफी बनाइसकेको थियो।

विश्वकपको आधुनिक ट्रफी

विश्वकपको नयाँ ट्रफी इटलीका कलाकार सिल्भिओ गाड्जनिगाले बनाएका हुन्। उनले यूईएफए युरोपा लीग ट्रफीको पनि डिजाइन गरेका छन्।

फिफा विश्वकपको नयाँ ट्रफी ३६ सेन्टिमिटर अग्लो छ र यो १८ क्यारट सुनबाट बनेको हो।

यसमा पृथ्वीलाई माथि उठाउँदै गरेका दुइटा मानवाकृति छन्। फिफाका अनुसार यस्तो डिजाइनले 'फुटबलको विश्वव्यापी र एकताको भावना" प्रतिबिम्बित गर्छ।

पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप जितेर नयाँ ट्रफी पहिलो पटक उचाल्यो।

पहिलो ट्रफी रहस्यमय तरिकाले हराएपछि फिफाले ट्रफी कसैलाई पनि स्थायी रूपमा नदिने निर्णय गर्‍यो।

विश्वकप विजेता टोलीले खेल सकिएपछि विशेष समारोहमा ट्रफी छुन पाउँछ। तर त्यसपछि विजेता टोलीले सुनको जलप लगाइएको प्रतिकृतिमा चित्त बुझाउनुपर्छ।

यो सामग्री बीबीसी स्पोर्टको 'आस्क मी एनिथिङ'को टोलीले तयार पारेको हो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।