परीक्षणमा रहेको खोपले मेलानोमा दोहोरिन 'रोक्यो', क्यान्सर उपचारमा नयाँ आशा

पाखुरामा सुई लगाइरहेको साङ्केतिक तस्बिर।

तस्बिर स्रोत, Getty Images

    • Author, जो मक्फाडन
    • Role, स्वास्थ्य संवाददाता
  • Published
  • पढ्ने समय: ३ मिनेट

औषधिसँग मिलाएर दिइएको एउटा नयाँ खोपको परीक्षणका क्रममा बिरामीहरूमा छालाको क्यान्सर पुन: नदेखिएको वैज्ञानिकहरूले बताएका छन्। यसलाई क्यान्सर उपचारमा "ऐतिहासिक क्षण" भनिएको छ।

औषधि कम्पनीहरू मर्क र मोडेर्नाले विकास गरेको उक्त खोप एक प्रकारको छालाको क्यान्सर 'मेलानोमा' भएका बिरामीहरूलाई शल्यक्रियापछि दिइएको थियो।

प्रारम्भिक परिणामले नयाँ खोपले ती बिरामीहरू क्यान्सरमुक्त रहेको समयावधि बढाएको देखाएको छ तर ती दुवै फर्महरूले गरेको घोषणामा उक्त समय खुलाइएको छैन।

क्यान्सरसम्बन्धी विज्ञहरूले यसलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन्। तर उनीहरूले पूरा नतिजा सार्वजनिक नगरिएको वा उक्त अध्ययनको निष्कर्षलाई स्वतन्त्र विज्ञहरूले 'पिअर रिभ्यू' अर्थात् थप मूल्याङ्कन नगरिसकिएको भन्दै सावधानी अपनाउनुपर्नेमा पनि जोड दिएका छन्।

खोपको परीक्षण प्रक्रिया पूरा भए पनि यसलाई नियामक संस्थाहरूले अनुमोदन गर्नुपर्ने हुन्छ र यूकेमा एनएचएसले उपलब्ध गराउनुअघि अर्को अनुमतिसमेत लिनुपर्ने व्यवस्था छ।

इन्टिसमेरान नामक उक्त खोपलाई क्यान्सरको उपचारमा पहिलेदेखि नै प्रयोगमा रहेको कीट्रूडा नामक इम्यूनोथेरपी औषधिसँग मिलाएर दिइएको थियो।

ती दुई कम्पनीहरूका अनुसार उक्त औषधि मात्रै सेवन गर्दाभन्दा औषधि र खोप मिलाएर लिएको अवस्थामा बिरामीहरू लामो समय क्यान्सरमुक्त भएको पाइएको छ। यसले क्यान्सरलाई शरीरका अरू अङ्गमा फैलिन पनि रोकेको भनिएको छ।

तेस्रो चरणको ट्रायलमा उच्च जोखिमको दोस्रो चरणको, तेस्रो वा चौथो चरणको मेलानोमा रहेका १,००० भन्दा बढी बिरामीलाई समावेश गरिएको थियो। उक्त समूहमा विशेष क्षेत्रमा ठूलो ट्यूमर भएकादेखि शरीरको अन्य भागमा क्यान्सर फैलिसकेका व्यक्तिहरू पनि समाविष्ट थिए।

'आशावादी बनायो'

मर्क र मोडेर्नाले यसलाई 'पर्सनलाइज्ड भ्याक्सीन' भनेका छन् जसको अर्थ प्रत्येक बिरामीको ट्यूमरलाई ध्यान दिएर यसले काम गर्ने गर्छ।

यो नयाँ खोप निर्माण गर्न वैज्ञानिकहरूले कतिपय कोभिड खोपहरूमा प्रयोग गरिएकोजस्तै एमआरएनए प्रविधिको प्रयोग गरेका थिए। त्यसका लागि उनीहरूले बिरामीको ट्यूमरको सानो भाग शल्यक्रियामार्फत् निकाले र त्यसको डीएनए अनुक्रम तयार पारेर क्यान्सरका कोषभित्र रहेका विशिष्ट म्यूटेशन अर्थात् उत्परिवर्तनविरुद्ध प्रयोग गरे।

परिणामस्वरूप व्यक्तिको ट्यूमरअनुसारको खोप तयार गरियो। त्यसले प्रतिरोध प्रणालीलाई शरीरभित्र रहेको कुनै पनि ट्यूमरको त्यस्तो कोषहरूलाई पहिचान र आक्रमण गर्न निर्देशित गर्‍यो।

दुवै कम्पनीले यस्तै खालका 'पर्सनलाइज्ड' खोप फोक्सो, मूत्राशय र मिर्गौलाको क्यान्सरका लागि परीक्षण गरिरहेका छन्।

मोडेर्नाका प्रमुख कार्यकारी स्टीफन बान्सेलका अनुसार उक्त नतिजाले क्यान्सरको अनुसन्धानमा एउटा 'निर्णायक क्षण'को प्रतिनिधित्व गरेको छ।

उक्त घोषणालगत्तै मोडेर्ना र मर्कको शेअरको मूल्य बढेको छ।

क्यान्सरविज्ञहरूले पनि यसलाई सकारात्मक भनेका छन्। तर उनीहरूले अहिले पनि ती निष्कर्षहरू प्रारम्भिक नै रहेको उल्लेख गरेका छन्।

क्यान्सर रिसर्च यूकेमा रोकथाम र प्रारम्भिक पहिचानसम्बन्धी विभागकी प्रमुख टालिसिआ क्वालोले यो अनुसन्धानले "आशावादी बनाएको" भन्दै उक्त अन्तरिम तथ्याङ्कलाई पूर्ण रूपमा समीक्षा गर्न बाँकी नै रहेको बताइन्।

उनले भनिन्, "क्यान्सर भएका बिरामीहरूलाई आफ्नो आवश्यकतानुसार उपचारमार्फत् दीर्घ र राम्रो जीवन बाँच्न सहयोग पुगोस् भन्नका लागि यस्ता खालका अनुसन्धानहरूमा लगानी गर्नु ज्यादै महत्त्वपूर्ण छ।"

अक्स्फर्ड विश्वविद्यालयमा प्राध्यापन गर्ने मेडिकल अन्कोलोजिस्ट लेनर्ड ली भन्छन्, "यो मेलानोमा भएका बिरामीहरूका लागि साँच्चिकै राम्रो खबर हो तर यो अध्ययनको अझ व्यापक प्रभाव छ। यसले बिरामीको आवश्यकतानुसार तयार पारिएका खोपहरूले काम गर्छ भन्ने सिद्धान्तलाई प्रमाणित गरेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।