शव जाँच गर्न डाक्टरको अभाव, शवगृहका क्षमताभन्दा बढी शव भेटिँदा अवस्था जटिल

तस्बिर स्रोत, RSS
- Author, ईश्वर जोशी
- Role, चितवन
- Published
- पढ्ने समय: ४ मिनेट
भोटेकोशी-त्रिशूली बाढीपछि सबैभन्दा धेरै शव भेटिएको चितवन जिल्लामा शव व्यवस्थापनका लागि विशेषज्ञ चिकित्सक तथा अन्य स्रोतसाधनको अभाव भएको अधिकारीहरूले बताएका छन्।
बीबीसीसँग कुरा गर्दै भरतपुर अस्पतालका प्रमुख मेडिकल सूपरिन्टेन्डन्ट डा विश्वबन्धु बगालेले जिल्लाभरमा जम्मा चार जना मात्र फरेन्सिक विशेषज्ञ भएको जानकारी दिए।
बाढीबाट निकालिएका शवको व्यवस्थापन तथा पहिचानका लागि आवश्यक स्वास्थ्यपरीक्षण गर्न चितवन आइदिन आफूले विभिन्न अस्पतालका फरेन्सिक विशेषज्ञहरूलाई आग्रह गरेको बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाका सबै शवगृहको कुल क्षमता ३० वटा मात्र भएकामा २०० भन्दा बढी शव भेटिँदा अरू समस्या पनि निम्तिएको बताए।
फरेन्सिक चिकित्सकको अभाव

तस्बिर स्रोत, RSS
भरतपुर अस्पतालका प्रमुख डा बगालेले समय र स्वास्थ्यकर्मीको अभावका कारण तत्काल सग्ला शवहरू मात्र हेर्न भ्याइएको बताए।
"तिनका सम्भव भएसम्मका पहिचानका सङ्केतहरूको अभिलेख, फोटो तथा भिडिओ लिएर चिस्यान केन्द्रमा पठाउने गरेका छौँ," उनले भने।
तर त्यस्ता शवहरूको सङ्ख्या पनि क्षमताभन्दा बढी भएका कारण आफूले देशभरका विभिन्न अस्पतालमा जहाँजहाँ फरेन्सिक विज्ञहरू छन्, तिनीहरूलाई सहयोगका लागि चितवन आइदिन आग्रह गर्दै पत्र पठाएको बताए।
साथै अन्य अस्पतालका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई पनि सहयोग गर्न आफूले बोलाएको र तीमध्ये कतिपय आएको पनि उनले जानकारी दिए।
बगालेका अनुसार भरपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा दुई गरी जिल्लाभरि जम्मा चार जना मात्र फरेन्सिक विशेषज्ञ छन्।
आफ्नो आग्रहबमोजिम थप दुई जना विशेषज्ञ आइपुगेको उनले बताए।
शव हस्तान्तरण कसरी?
प्रजिअ अर्यालका अनुसार बाढीमा हराइरहेका मानिसहरूका आफन्तलाई शव पहिचान गर्न सहयोग गर्ने उद्देश्यले 'हेल्प डेस्क' स्थापना गरिएको बताए।
"त्यहाँ आएका व्यक्तिहरूलाई हामी शव देखाउँछौँ, उहाँहरूले कुनै शव आफ्ना आफन्तको भनी पहिचान गर्नुभएमा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गराएर उहाँहरूको अभिलेख राखेर पठाउँछौँ," उनले भने।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा भएको शवगृहको क्षमता अपूर्ण भएकाले एउटा सरकारी कार्यालयलाई अस्थायी शवगृहमा रूपान्तर गरिएको बताए।
त्यसका लागि आवश्यक तापक्रम कायम गर्न बाहिरबाट हावा नछिर्ने गरी भित्र 'एसी' तथा 'ड्राइ आइस' राखेर आवश्यक व्यवस्था गरिएको उनको भनाइ छ।

तस्बिर स्रोत, RSS
अधिकारीहरूका अनुसार हालसम्म सनाखत भएका शवहरूको सङ्ख्या दुई मात्र हो।
बाँकी शवहरूमध्ये ४० प्रतिशतजति पहिचान गर्न नसकिने गरी सडेको अवस्थामा भेटिएको उनीहरूको भनाइ छ।
अरू जिल्लामा पनि उस्तै अवस्था
बुटवलस्थित हाम्रा संवाददाता माधव नेपालका अनुसार चितवनको सीमावर्ती जिल्ला पूर्वी नवलपरासीमा भेटिएका शव व्यवस्थापनमा पनि उस्तै समस्या देखिएका छन्।
स्थान अभावका कारण यस जिल्लामा भेटिएका १३४ वटा शवमध्ये ४१ वटा शव पोखराका अस्पताल तथा आठ वटा शव पाल्पाका अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए।
उनका अनुसार अरू शव भने जिल्लामै रहेका अस्पतालहरुमा व्यवस्थापन गरिएको छ।
यता पश्चिम नवलपरासीमा भेटिएका ३१ वटा शवहरू बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, कपिलवस्तुको पिपरा अस्पताल, भैरहवाको भीम अस्पताल र स्थानीय जिल्ला अस्पतालमा व्यवस्थापन गरीएको छ।
दुर्गन्ध फैलिएर समस्या
आफ्ना भाइ बेपत्ता भएपछि उनको खोजीमा भरतपुर पुगेका बाँके, कोहलपुरका सुग्रीव थारूले शवगृहमा धेरै दुर्गन्ध फैलिएको र कतिपय शवबाट पानी बगेजस्तो देखिएको बताए।
अस्थायी शवगृहसँगै चितवन उद्योग सङ्घको भवन जोडिएको छ।
सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले भने, "शवकाे दुर्गन्ध कार्यालयभित्र पनि आउन थालेको छ। अब यसरी राखेर हुँदैन, राज्यले अपनत्व लिएर सामूहिक दाहसंस्कार गर्नुपर्ने हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















