लामो 'अन्तरिक्षवास'पछि फर्किएका वैज्ञानिकहरूको 'स्वागत'मा डल्फिनहरू पनि

भिडिओ क्याप्शन सुरु हुँदैछ,
लामो 'अन्तरिक्षवास'पछि फर्किएका वैज्ञानिकहरूको 'स्वागत'मा डल्फिनहरू पनि
Published

अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स 'सनी' र ब्यारी ई विल्मोर 'बुच' पृथ्वी फर्किएका छन्। तर उनीहरूको 'अन्तरिक्षवास' स्वैच्छिक नभई बाध्यात्मक थियो।

उनीहरूलाई लिएर आएको स्पेसएक्स क्रू ड्र्यागनको क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा स्थानीय समयानुसार मङ्गलवार अपराह्ण ६ बजेतिर (नेपाली समयानुसार बुधवार सबेरै) समुद्रमा अवतरण गर्‍यो।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अरू अन्तरिक्षयात्रीलाई लिएर गएको उक्त यानमा विलिअम्स र विल्मोर फर्किएका हुन्। आईएसएसबाट उनीहरूसँगै नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री आलेक्सान्डर गोर्बुनोफ पनि फर्किए। उक्त यान १७ घण्टाको यात्रापछि आईएसएसबाट पृथ्वी आइपुगेको थियो।

अन्तरिक्षयान फिर्तीको नासाले आफ्नो वेबसाइट र सामाजिक सञ्जालका मञ्चहरूमा प्रत्यक्ष प्रसारण गरेको थियो। उक्त यान पानीमा ओर्लिएपछि त्यसको वरिपरि डल्फिनहरूको एउटा समूह भेला भएको थियो।

प्रत्यक्ष प्रसारणमा उद्घोषकले ठट्ट्यौलो शैलीमा डल्फिनहरू नासाको टोलीका "मानार्थ सदस्य" भएको बताए।

पानीमा अवतरण गरेको एक घण्टाभित्रै सबै अन्तरिक्षयात्रीहरू ड्र्यागन क्याप्स्यूलबाट बाहिर निस्किएका थिए। नासाका कर्मचारीहरूले स्वागत गर्दा विलिअम्स र विल्मोर प्रफुल्ल मुद्रामा देखिन्थे।

यान पानीमा ओर्लिएपछि वरिपरि डल्फिनहरू झुम्मिएका थिए

तस्बिर स्रोत, Reuters

बोइङ स्टारलाइनर क्याप्स्यूलको परीक्षण उडानमा सहभागी हुँदै उनीहरू गत जुन महिनामा आठ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए। तर उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि उनीहरू अन्तरिक्ष स्टेशनमै बस्न बाध्य भएका थिए। यसअघि उनीहरूलाई फिर्ता ल्याउन गरिएको प्रयास पनि विफल भएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।