वैदेशिक रोजगारीमा रहेकालाई आरक्षित शेअरमा आकर्षण कम, आवेदन दिने मापदण्ड के?

काम गर्न विदेश जान इच्छुक नेपालीहरू
तस्बिरको क्याप्शन, फाइल तस्बिर: श्रम स्वीकृति लिन लाम लागेका नेपाली कामदार
Published

वैदेशिक रोजगारीमा गएकाहरूका लागि आरक्षित प्राथमिक शेअर (आईपीओ) का लागि अपेक्षाकृत रूपमा आवेदन नपरेको अधिकारीहरूले बताएका छन्।

वैदेशिक रोजगारीमा रहेकाहरूमा “जानकारीको कमी” तथा “झन्झटिलो प्रक्रिया” का कारण त्यस्तो भएको हुनसक्ने विदेशमा रहेका नेपालीहरूले बताएका छन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको त्यस्तो भनाइलाई धितोपत्रसम्बन्धी नियामक र नेपालमा केन्द्रीकृत रूपमा निक्षेप, भुक्तानी र फर्छ्योट सेवा दिने निकायका अधिकारीले पनि अस्वीकार गरेनन्।

तर सबैले बुझ्ने गरी “जानकारी दिने” तथा प्रक्रियालाई “सरलीकरण गर्ने” काम भइरहेको उनीहरूको भनाइ छ।

नयाँ व्यवस्था

कुवेत पनि नेपाली कामदारको गन्तव्य मुलुक हो
तस्बिरको क्याप्शन, कुवेत पनि नेपाली कामदारको गन्तव्य मुलुक हो

अधिकारीहरूका भनाइमा राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति कम भएपछि रेमिट्यान्सलाई आधिकारिक माध्यमबाट भित्र्याउने पहलका रूपमा सरकारले सर्वसाधारणका लागि जारी हुने प्राथमिक शेअरमा १० प्रतिशत वैदेशिक रोजगारीमा गएकालाई आरक्षित गर्ने व्यवस्था गरिएको हो।

त्यससम्बन्धी घोषणा सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमै उल्लेख गरेको थियो।

सरकारी नीति अनुसार त्यससम्बन्धी कार्यविधि बनाएर उक्त प्रावधान कार्यान्वयनमा ल्याइएको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले बताए।

उनका अनुसार उक्त प्रावधान लागु भएपछि अहिले पहिलो पटक विभिन्न कम्पनीको शेअर निष्कासन भएको छ।

“यसको मुख्य उद्देश्य भनेको विदेशी मुद्राको सञ्चिति बढाउने र सकेसम्म रेमिट्यान्स वैधानिक बाटोबाट आओस् भन्ने हो,” उनले भने।

‘निवेदन दिने कम तर कोटा पूरा भइसक्यो’

फाइल तस्बिर: श्रम स्वीकृति लिन लाम लागेका नेपाली कामदार
तस्बिरको क्याप्शन, फाइल तस्बिर: श्रम स्वीकृति लिन लाम लागेका नेपाली कामदार

नेपालमा केन्द्रीकृत रूपमा निक्षेप, भुक्तानी र फर्छ्योट सेवा दिने निकाय सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार वैदेशिक रोजगारीमा गएकाहरूका लागि भनेर खुलाइएको शेअरका लागि आवेदन दिनेहरू तुलनात्मक रूपमा कम देखिएका छन्।

यद्यपि एकै व्यक्तिले धेरै कित्ताको माग गरेर आवेदन दिएकाले छुट्ट्याइएको १० प्रतिशतभन्दा बढीको निवेदन आउने अवस्था बनेको उनले बताए।

आचार्यले भने, “सर्वसाधारणका लागि खुलाइएको अन्य शेअरका लागि आवेदन दिनेहरू धेरै हुने गर्छन्। त्यसमा व्यक्तिको सङ्ख्या र शेअर कित्ताको माग पनि बढी हुन्छ तर यसमा बढी कित्ता माग भए पनि मानिसहरू कम देखिएका छन्।”

उदाहरणका लागि उनले सोमवार साँझ दिएको जानकारी अनुसार आगामी बुधवारसम्म समयावधि रहेको कालिञ्चोक दर्शन लिमिटेडले १ लाख ८ हजार कित्ता अर्थात् १ करोड ८ लाख रुपैयाँ बराबरको शेअर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्ट्याएको छ।

त्यसमा सोमवारसम्म रकम तथा कित्ताका हिसाबले मागभन्दा आठ गुणा बढी अर्थात् ८ लाख ८० हजार कित्ताभन्दा बढीको माग भइसकेको छ।

तर त्यो जम्मा ४ हजार ७ सय जना मानिसहरूले मात्र गरेको माग हो।

“यसरी हेर्दा कित्ता धेरै माग भए पनि सीमित व्यक्तिले बढी कित्ता भरेको देखिन्छ। यस्तै सङ्ख्यामा माग हुँदा अरूमा भने एक सय गुणा बढीसम्मले आवेदन दिने गरेका छन्,” उनले भने।

“अहिले बजार केही सुस्त देखिएका बेलामा पनि प्राथमिक शेअर भर्नेहरू धेरै नै हुन्छन् बरु १० कित्ताका दरले मात्र भर्ने धेरै हुन्छन्। तर वैदेशिक रोजगारीमा गएकाका हकमा त्यस्तो देखिएन।”

पैसा

कारण के?

आफ्नै लागि छुट्टाइएको शेअरमा पनि वैदेशिक रोजगारीमा रहेकाहरूको आकर्षण किन कम भयो? भनेर बीबीसीले नेपाली कामदारहरू धेरै रहेका मध्येमा पर्ने कतार र यूएईमा रहेका केही नेपाली कामदारसँग कुराकानी गरेको थियो।

त्यस क्रममा उनीहरूले दिएको जानकारी अनुसार कैयौँलाई अझै पनि सरकारले ल्याएको उक्त नयाँ प्रावधानबारे जानकारी नहुनु मुख्य कारण रहेको छ।

त्यस्तै कतिपय प्रक्रिया झन्झटिलो भएकाले पनि समस्या उत्पन्न भएको छ।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्‌ कतारका प्रथम उपाध्यक्ष समेत रहेका तथा वैदेशिक रोजगारीमै भएका जैबी राई चाम्लिङले भने, “धेरैलाई अझै यसबारे थाहा छैन।”

“थाहा भएकालाई पनि प्रक्रिया झन्झटिलो भएकाले अलमल भएको छ।”

कतारकै अन्य दुई र यूएईका एक जना नेपाली कामदारले पनि जानकारीको अभाव र प्रक्रियागत झन्झटले धेरैले त्यसबारे चासो राखे पनि शेअर भर्न नपाएको गुनासो गरे।

प्रक्रिया के छ?

धितोपत्र

धितोपत्र बोर्डका अनुसार विदेशमा रहेका नेपालीहरूले आफूहरूका लागि आरक्षित शेअर खरिद गर्न आवेदन दिँदा विभिन्न मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

त्यस्ता मापदण्डहरू यस्ता छन्:

  • नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आश्वा सदस्य ब्याङ्कमार्फत् आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्ने।
  • सीडीएससीबाट अनुमतिप्राप्त निक्षेप सदस्य (डीपी) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्ने।
  • नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि ब्याङ्क मार्फत सीआरएन (सी-आश्वा नम्बर) लिनुपर्ने।
  • आफ्नो विप्रेषण (रेमिट्यासन्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने।
  • आवेदकले शेअरको सार्वजनिक निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्ने।
शेअर

तर ती मापदण्ड पूरा गर्नका लागि ब्याङ्कहरूले विदेशमा रहेकाहरूलाई अनलाइनबाटै विप्रेषण बचत खाता खोल्न सहजीकरण गर्नुपर्ने वैदेशिक रोजगारीमा रहेका नेपालीहरू बताउँछन्।

कतारमा रहेका चाम्लिङले भने, “त्यो प्रक्रिया भनेजस्तो सहज रहेनछ र कतिले अनलाइनबाट खाता खोल्दा ब्याङ्कहरूले त्यसको जवाफ नदिएको गुनासो पनि गरेका छन्।”

त्यस्तो गुनासो आफूहरूकहाँ पनि आएको सीडीएसका आचार्यले बताए।

त्यसलाई सम्बोधन गर्नका लागि आफूहरूले निजी ब्याङ्कहरू तथा धितोपत्र बोर्डलाई भनिसकेको उनको दाबी छ।

धितोपत्र बोर्डका प्रवक्ता केसी चाहिँ “अहिले पहिलो पटक शेअर निष्कासन भएको र त्यसले सुधार गर्नुपर्ने कुराको जानकारी दिने र त्यसै अनुसार बिस्तारै सुधार गर्ने” बताउँछन्।