'छ महिनादेखि धुवाइरहेको' नवलपरासीको भीर पुगेका विज्ञहरूको हालसम्मको निष्कर्ष

तस्बिर स्रोत, Nepal Photo Library
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
पूर्वी नवलपरासीको एउटा भीरमा विगत छ महिनादेखि देखिएको भनिएको धुवाँको कारण पत्ता लगाउन पुगेको विज्ञको टोलीले कोइलायुक्त चट्टान र एक प्रकारको खनिजमा रासायनिक प्रतिक्रियाबाट धुवाँ र ताप उत्पन्न भएको आशङ्का गरेको छ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेल र धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङले उक्त क्षेत्रको स्थलगत निरीक्षणपछि चट्टान र पानीको परीक्षणका लागि नमुना सङ्कलन गरिएको बताएका छन्।
विज्ञहरूसहितको अध्ययन टोलीले उक्त क्षेत्रका चट्टानमा कोइलामा पाइने कार्बनयुक्त तत्त्वहरू पनि देखिएको जनाएको छ।
अध्ययन टोलीका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ६ मा रहेको घाँगीभीर क्षेत्रमा ठूलो मात्रामा जमिनमुनिबाट धुवाँ निस्किएको र ताप पनि बढेको छ।
"छेउछाउ भएका रूखहरू, पातपतिङ्गरहरू पनि जलाउन सक्ने गरी नै राप छ," भूगर्भविद् लुइँटेलले बीबीसी न्यूज नेपालीसँग भने।
"त्यहाँनजिकै पानीको गुणमा पनि परिवर्तन भएर अम्लीय बनेको छ।"
अध्ययन टोलीको आकलन के छ?

तस्बिर स्रोत, Nepal Photo Library
उक्त क्षेत्रमा देखिएको चट्टानमा कोइलामा हुने अवशेष (कार्बनयुक्त चट्टान) देखिएको लुइँटेल र तामाङले बताए। त्यहाँको चट्टानमा 'पाइराइट' नामको खनिज पनि हुन सक्ने आशङ्का रहेको उनीहरूको भनाइ छ।
"त्यो (कार्बनयुक्त चट्टान) राम्रोसँग बल्न चाहिँ सक्दैन। तर सल्कियो भने बल्न नसकेको दाउराजस्तै धुवाँउँछ। सँगसँगै त्यहाँका चट्टानमा पाइराइट भनिने खनिज पनि रहेछ भने त्यसमा सल्फर हुन सक्छ। त्यसको कारणले अक्सिजन र पानीको सम्पर्कमा पुग्यो भने त्यसले केही ताप सिर्जना गरेर त्यो चट्टान बाल्न मद्दत गर्छ," खानी विभागका भूगर्भविद् लुइँटेलले भने।
सङ्कलित चट्टानको नमुनाबाट त्यसमा कोइला र पाइराइटको मात्रासहितका विभिन्न सम्भावनाबारे अध्ययन गरिने विज्ञ टोलीले जनाएको छ।
"त्यहाँको कार्बनयुक्त चट्टान बलिरहेको पनि छ। त्यसमा तातोपनको कारण चाहिँ त्यहाँको चट्टानमा सल्फाइड खनिजका तत्त्वहरू पनि छन् र त्यसमा पाइराइट पनि मिसिएको हुन सक्छ," धौवादी फलाम कम्पनी लिमिटेडका भूगर्भविद् शशि तामाङ भन्छन्।
पाइराइट नामको खनिजमा आइरन र सल्फर हुने भएका कारण पानी र अक्सिजनको सम्पर्क हुँदा रासायनिक प्रतिक्रियाबाट त्यसमा ताप र धुवाँ निस्कने जानकारहरू बताउँछन्।
स्थानीय बासिन्दाका अनुसार पानी परेपछि यो ठाउँबाट आउने धुवाँको मात्रा अझै धेरै बढ्ने गरेको छ।
"बर्खा सुरु हुनुभन्दा अगाडि चाहिँ सानो धुवाँ थियो। पानी पर्दै गएपछि झन् ठूलो, झन् ठूलो भयो। जति ठूलो पानी पर्छ, धुवाँ त्यति नै ठूलो आउने के," स्थानीय बासिन्दा फूलमाया रोका विकले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भनिन्।
खानी हुने सम्भावना छ?
धुवाँ निस्किएको ठाउँमा अहिले मानिसहरूको भिड जम्मा हुन थालेको छ। लुइँटेलले नजिकै जाँदा हानिकारक ग्याँस पनि आउन सक्ने सम्भावना रहेका कारण मानिसहरूलाई नजिक नजान आग्रह गरिएको बताएका छन्।
"नजिक नजान र त्यहाँबाट आएको पानी प्रयोग नगर्न भनेका छौँ। त्यसको सम्भावित अन्य जोखिमबारे हामी प्रतिवेदन उहाँहरूलाई पठाइदिन्छौँ," उनले भने।
हुप्सेकोट वडा नम्बर ५ का अध्यक्ष छमबहादुर सोमैमगर धुवाँ आएको ठाउँबाट करिब एक किलोमिटर परको क्षेत्रमा मानवबस्ती रहेको बताउँछन्।
निरन्तर धुवाँ आएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा खबर गरिएको मगरले बताए।
"यहाँ खतरा हुन सक्छ, त्यतातिर नजानूस्। त्यहाँबाट निस्किएको पानी पनि नपिउनूस् भनेर मैले पनि सुझाव दिएको छु," उनले भने।
धुवाँ देखिएको ठाउँमा कार्बनयुक्त चट्टान भेटिएका कारण त्यस ठाउँमा कमसल किसिमको कोइला हुन सक्ने लुइँटेल बताउँछन्। तर त्यहाँ पेट्रोलिअम वा ग्यास खानीको सङ्केत नदेखिएको विज्ञ टोलीको प्रारम्भिक ठहर छ।
"पेट्रोलिअम तथा प्राकृतिक ग्यास चाहिँ यो ठाउँमा देखिएन। तर कार्बनयुक्त चट्टान भनेको अलिकति कमसल किसिमको कोइलाजस्तै हो। तर कोइला भनेर उपभोग वा बिक्रीवितरण गर्ने खालको चाहिँ त्यहाँ हेर्दा देखिएन," उनले भने।
'ज्वालामुखी होइन'

तस्बिर स्रोत, Nepal Photo Library
उक्त क्षेत्रमा धुवाँको मुस्लो देखिएका र एउटा चट्टानको कापबाट आगोसमेत बलिरहेको देखिने भिडिओ कतिपयले सामाजिक सञ्जालमा राखिरहेका छन्। ती भिडिओमा प्रतिक्रिया जनाउने कतिपयले उक्त ठाउँमा सुषुप्त ज्वालामुखी समेत हुन सक्ने आशङ्का गरेका छन्।
खानी विभागका भूगर्भविद् लुइँटेलले यो ठाउँमा ज्वालामुखीको जोखिम नभएको बताए।
"ज्वालामुखीका लागि यो भेगमा उपयुक्त वातावरण छैन। अहिले त्यसमा संशय राख्न परेन," उनले भने।
गाउँमा धुवाँले हालसम्म प्रत्यक्ष देखिने असर नगरे पनि ठूलो पानी पर्दा जमिन भासिने डरले गाउँलेहरू जागै बस्ने गरेको फूलमाया रोका विक बताउँछिन्।
"राति अलि ठूलो पानी पर्दा जमिन भासिने हो कि भनेर रातभरि नसुतेर बस्नुपर्ने अवस्था छ। त्यो भासिएर पहिरो झर्ने हो कि भन्ने डर लाग्छ," उनले भनिन्।
यो ठाउँमा सबैभन्दा पहिले गत चैततिर धुवाँ देखिएको स्थानीयवासी। पहिरो गएपछि त्यहाँ धुवाँ निस्कन सुरु भएको स्थानीयले बताएका छन्।
उनका अनुसार सुरुमा कसैले आगो बालेको ठानेर स्थानीयले बेवास्ता गरेका थिए। तर बाख्रा चराउन गएका मानिसहरूले चट्टानबाट धुवाँ आइरहेको बताएपछि मात्रै धुवाँको रहस्यबारे खोजी सुरु भएको राना विकले बताइन्।
स्थानीय बासिन्दा विक केही वर्षपहिले पनि त्यसभन्दा करिब एक किलोमिटर परको पहाडमा पहिरो पनि यसै गरी धुवाँ देखिएको बुढापाकाले सुनाएको बताउँछिन्। तर त्यस ठाउँमा पछि आफैँ धुवाँ आउन छाडेको थियो।
अहिले धुवाँ देखिएको ठाउँमा पनि सुरुमा जमिन भासिएको र पछि पहिरो देखिएको स्थानीयवासीको भनाई छ।
"त्यहाँ धेरै वर्षदेखि जमिन भासिइराखेको थियो। पहिले खेती गर्न कुलो थियो, जमिन भासिँदै गएर त्यो खेत पनि छोड्नुपर्ने भयो," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















