कोशी र मधेशमा पानी पर्ने प्रक्षेपण, सुक्खाग्रस्त ठाउँमा कति राहत पुग्ला

खानेपानी वितरणका लागि आएको ट्याङ्करबाट खानेपानी लैजाँदै स्थानीय बासिन्दा
तस्बिरको क्याप्शन, तराईका जिल्लाहरूमा यसपालि वर्षा याममा पर्याप्त पानी परेको छैन
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

तराईका जिल्लाहरूमा वर्षा नभएर अझै धान रोपाइँ हुन नसकेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला कतिपय स्थानमा ट्याङ्करबाट खानेपानी आपूर्ति गर्नुपर्ने अवस्था आएको छ।

यद्यपि मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेश प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। तर त्यति पानी पर्दैमा पानीको अभाव खेप्न बाध्य सुक्खाग्रस्त क्षेत्रमा राहत पुग्न सक्ने नदेखिएको भन्दै यो अवस्था अझै कम्तीमा एक साता सुधार नहुने महाशाखाले जनाएको छ।

बुधवार संसद्‌मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रको सुक्खा मौसमलाई सम्बोधन गर्न सरकारले सम्पूर्ण स्रोतसाधन परिचालन गर्ने बताएका थिए। महाशाखाले पानी पर्ने सम्भावना नरहेको विषयमा एक महिनाअगाडि नै सरकारलाई जानकारी गराएको जनाएको छ।

पानी नपरेका कारण आफ्नो दिनचर्या कष्टकर बनेको बारा जिल्लाकी सुस्मिता कुमारी बताउँछिन्। साउनको पहिलो साता बितिसक्दा पनि वर्षा नभएका रोपाइँ हुन नसकेको र दैनिक उपभोगका लागि पानी नभएको उनको भनाइ छ।

तराईका कतिपय जिल्लामा पानीको अभाव देखिएपछि ट्याङ्करबाट वितरण गर्न थालिएको विवरण आएको छ। तर त्यसरी वितरण गरिएको पानी सहरमा पुगे पनि गाउँमा भने पुग्न नसकेको उनको गुनासो छ।

"घरको कामदेखि लिएर खेतीपातीसम्म सबैतिर समस्या छ। सरोकारवाला कसैको ध्यान पुग्न सकेको छैन। सहर बजारमा अलि पानी पुगेको भए पनि गाउँमा त केही पनि राहत छैन," उनले भनिन्।

पर्साका पकाहामैनपुरका प्रभु साह पनि पानी नपर्दा अवस्था भयावह भएको बताउँछन्। "हामी जस्तो गरिब किसानलाई सिँचाइका लागि आकाशेपानीको भरमा बस्नुपर्छ। अहिले त न पानी परेको छ न त चापाकलबाट पानी आएको छ। बोरिङको व्यवस्था गर्न पैसा छैन," उनले भने।

पानी नपरेकाका कारण सुक्खा बनेको खेतमा खनजोत गर्दै किसानहरू
तस्बिरको क्याप्शन, तराईमा पानी नपरेका कारण साउन दोस्रो साता लागिसक्दा पनि रोपाइँ हुन सकेको छैन

सर्लाही हरिवन, पटौनीकी निरू खड्काले पनि पानी नभएका कारण धानको बेर्ना सुक्न थालेको बताएकी छन्।

"मधेशलाई अन्नको भण्डार भनिन्छ तर अब पानी नपरे अनिकाल आउँछ। पानीको व्यवस्था गर्न आवश्यक छ," उनले भनिन्।

सर्लाहीको हरिवन-४ का वडाध्यक्ष केशवराज थापाले पानीको अभाव भयावह स्थितिमा पुगेको र इनार वा अन्य पानीका स्रोतहरू पनि सुकेको बताउँछन्। "खानेपानीको लागि अहिले ट्याङ्करले व्यवस्थापन गरिए पनि यो दीर्घकालीन समाधान पक्कै पनि होइन," उनले भने।

पूर्वी तराईमा मात्रै नभई पश्चिमी जिल्लाहरूमा पनि धेरैजसो ठाउँमा आकाशे पानी नपर्दा रोपाइँ हुन सकेको छैन।

नेपालगन्जमा भने किसानहरूले पानी पर्नेबित्तिकै धान रोपाइँका गर्ने भनेर खेत जोतेर राखेको नेपालगन्जस्थित संवाददाता विमला चौधरीले बताएकी छन्।

उनका अनुसार नेपालगञ्ज आसपासका गाउँहरूमा अझै केही ठाउँमा बोरिङबाट पानी सिँचाइ गरेर रोपाइँ गरिएको छ।

अहिले पर्ने पानी पर्याप्त होला?

वीरगन्जको पानीट्याङ्की टोलमा ट्याङ्करबाट पानी वितरण गरिँदै
तस्बिरको क्याप्शन, धारामा पानी आउन छोडेपछि वीरगन्जमा पनि ट्याङ्करबाट पानी वितरण गर्न थालिएको छ

तराई भेगमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानहरूमा बिहीवार दिउँसो मेघगर्जन वा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। त्यस्तै रातिको समयमा भने केही स्थानमा मेघगर्जन वा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भने 'भारी वर्षा'को सम्भावना छ।

त्यसले अहिले पानीको हाहाकार भएको समस्या समाधान गर्न वा मानिसहरूलाई कति राहत दिन सक्ला त?

"अहिले सुक्खा छ, मनसुनमा त्यति पानी परेर पर्याप्त हुँदैन। त्यहाँका मानिसलाई जुन असर हुनुपर्ने गरी पानी पर्नुपर्ने हो त्यो तहमा पर्दैन," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।

"मनसुनमा लगातार र धेरै क्षेत्र ओगट्ने गरी पानी पर्नुपर्छ। तर कतै 'भारी वर्षा' नै भए पनि त्यो उल्लेख्य वा पर्याप्त हुँदैन।"

कैलालीको कैलारी गाउँपालिका भितरियामा स्थानीय किसानले गरेको धानखेती
तस्बिरको क्याप्शन, कैलालीको भितरियामा पानी कम परेपछि सिँचाइ सुविधा नभएका खेतमा किसानले बोरिङ गरेर निकालको पानीबाट सिँचाइ गरिरहेका छन्

अहिले मौसमी प्रणाली नै विकसित भएको नदेखिएका कारण सुक्खा अवस्था अझै कम्तीमा एक साता कायम मौसमविद्को छ।

"मौसमी प्रणाली नै आएर जसरी मनसुनका बेला पानी पर्छ त्यस्तो अवस्था देखिएको छैन। त्यो नहुँदासम्म अलिअलि पर्ने पानी पर्याप्त हुँदैन," उनले भनिन्।

देशका बाँकी भागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्रै रहेको महाशाखाको वेबसाइटमा उल्लेख छ।

अहिले देशैभरि परिरहेको पानीमध्ये मनसुनमा पर्ने खालको भन्दा पनि मनसुनअघि पर्ने जस्तो देखिएको पोखरेलले बताइन्।

यस पटक राम्ररी वर्षा हुन नसकेका कारण धान रोपाइँ हुन नसकेको र त्यसबाट खाद्य सङ्कट निम्तिन सक्ने चिन्ताहरू पनि व्यक्त भएका छन्।

वीरगन्जबाट माधुरी महतोको सहयोगमा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।