ट्रम्प सहभागी रात्रीभोजमा गोली चलेको घटनाबारे थाहा भएका र अझै थाहा नभइसकेका कुरा

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध हमलाकारी क्यालिफोर्निया राज्यको टोरेन्सका ३१ वर्षका कोल टोमस एलेन हुन्।

तस्बिर स्रोत, Donald Trump

तस्बिरको क्याप्शन, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध हमलाकारी क्यालिफोर्निया राज्यको टोरेन्सका ३१ वर्षका कोल टोमस एलेन हुन्
पढ्ने समय: ५ मिनेट

राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पले पहिलो पटक सहभागिता जनाइरहेको ह्वाइट हाउस करेसपोन्डेन्ट्स डिनरमा गोली प्रहार भएपछि अमेरिकी सङ्घीय सुरक्षा निकाय एफबीआई र प्रहरी अधिकारीहरूले क्यालिफोर्नियाको टोरेन्स क्षेत्रको एउटा ठेगानामा खोजी कार्य अघि बढाएका छन्।

सुरक्षा खतरालाई ध्यान दिँदै ह्वाइट हाउसबारे समाचार लेख्ने संवाददाताहरूको उक्त वार्षिक कार्यक्रमबाट राष्ट्रपति ट्रम्पलाई उद्धार गरिएको थियो।

त्यसको केही बेरपछि बोल्दै राष्ट्रपति ट्रम्पले सन्दिग्ध व्यक्ति सशस्त्र रहेको र एकभन्दा बढी हतियारसहित पक्राउ परेको जनाएका थिए।

आक्रमणकारीलाई रोक्न सफल भएको भन्दै उनले सुरक्षामा खटिएका सीक्रेट सर्भिसका सदस्यहरूको प्रशंसा पनि गरे।

अधिकारीहरूले आक्रमणको उद्देश्य र पृष्ठभूमिबारे अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

अहिलेसम्म हामीलाई के थाहा छ?

गोलीकान्डपछि राष्ट्रपति ट्रम्पले त्यसबारे प्रतिक्रिया दिएका छन्।

तस्बिर स्रोत, Celal Gunes/Anadolu via Getty Images

हालैका वर्षमा ट्रम्पलाई लक्षित गरेर गोली प्रहार गरिएका वा गोली हान्ने प्रयास गरिएको यो तेस्रो घटना हो।

वाशिङ्टनस्थित हिल्टन होटलमा ह्वाइट हाउस करेसपोन्डेन्ट्स अशोसिएशनको रात्रिभोजमा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलनीया ट्रम्प, उपराष्ट्रपति जेडी भान्ससहित कैयौँ वरिष्ठ अधिकारीहरू सहभागी थिए।

ती सशस्त्र व्यक्तिले कार्यक्रम भइरहेको स्थानको सुरक्षा जाँच स्थल तोड्ने प्रयास गरेको राष्ट्रपति ट्रम्पले बताएका छन्।

राष्ट्रपति र उनको क्याबिनेटका अधिकांश सदस्यहरू सहभागी उक्त रात्रिभोजस्थलमा ठूलो आवाज सुनिएसँगै अन्योल र अस्तव्यस्तता देखिएको थियो।

नजिकैबाट गोली प्रहार हुँदा एक जना सीक्रेट सर्भिस एजेन्टलाई चोट लागे पनि उनी गम्भीर अवस्थामा नरहेका खबर आएका छन्। उनी अस्पतालबाट डिस्चार्ज भइसकेका जनाइएको छ।

ह्वाइट हाउस करेसपोन्डेन्ट्स डिनरमा राष्ट्रपतिको हैसियतमा ट्रम्प पहिलो पटक सहभागी भइरहेका थिए

तस्बिर स्रोत, EPA

उक्त घटनापछि 'ज्यान लिन खोज्ने आक्रमणकारी' को निशानामा आफू परेको भन्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, "यो भन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन।"

पक्राउ परेका संदिग्ध को हुन्?

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध हमलाकारी क्यालिफोर्निया राज्यको टोरेन्सका ३१ वर्षका कोल टोमस एलेन हुन्।

वासिङ्टन डिसीका प्रहरी प्रमख जेफ्री डब्ल्यु क्यारोल

तस्बिर स्रोत, Luke Johnson/Getty Images

वाशिङ्टन डीसीका प्रहरी प्रमख जेफ्री डब्ल्यू क्यारोलका अनुसार सन्दिग्ध हमलाकारी उक्त कार्यक्रम भइरहेको होटलका पाहुना थिए। अनुसन्धानका लागि उनी बसेको कोठालाई पनि सुरक्षाकर्मीहरूले सीलबन्दी गरेका छन्।

प्रहरीले अन्य कोही व्यक्ति खतरामा रहेको विश्वास गर्ने आधार नरहेको उल्लेख गर्दै थप सुरक्षाकर्मीहरू भने परिचालित गरिएको जनाएको छ।

डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधिवक्ताले अधिकारीहरूले सोमबार सन्दिग्ध व्यक्तिलाई सङ्घीय अदालतमा प्रस्तुत गर्ने उल्लेख गरेकी छन्।

अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्युजले आरोपित बन्दुकधारीले राष्ट्रपति डोनल्ड ट्रम्पसँग सम्बन्ध भएका अधिकारीहरूलाई आफूले निशाना बनाएको बयान दिएको विवरणहरू प्रसारण गरेको छ।

दुई जना नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै सीबीएसले भनेको छ, 'उक्त घटनामा कम्तीमा ५ देखि ८ पटक गोली चलेको थियो'।

लस एन्जलसको दक्षिण पश्चिम इलाकामा पर्ने टोरेन्समा उनी बस्ने गरेका विवरण आएका छन्। सीबीएस न्यूजले प्रसिद्ध क्यालिफोर्निया इन्स्टिट्यूड अफ टेक्नोलोजीमा अध्ययन पूरा गरेका उनी शिक्षकका रूपमा कार्यरत रहेको उल्लेख गरेको छ।

एलेनसँगबाट बन्दुक र छुरीहरू बरामद गरिएको भनिएको छ।

चार अनुत्तरित प्रश्न

गोलीकान्डपछि पनि कैयौँ प्रश्नहरू अनुत्तरित छन्

तस्बिर स्रोत, Reuters

गए राति भएको गोलीकान्ड र त्यसका संदिग्ध आरोपीबारे विवरणहरू आएका भएपनि कैयौँ प्रश्नहरूको उत्तर आउन बाँकी छ।

  • उद्देश्य: बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजले संदिग्ध व्यक्तिले आफूले ट्रम्पको टोलीलाई निशाना साँधेको प्रहरीलाई बताएको छ। तर कानुन कार्यान्वयन निकायहरूले गोली प्रहारको उद्देश्य अझै प्रमाणित हुननसकेको जनाएका छन्।
  • संदिग्ध व्यक्तिको पहिचान: अमेरिकी सञ्चारमाध्यमहरूले संदिग्ध आरोपी कोल टमस एलेन रहेको उल्लेख गरेका छन् तर प्रहरीले बन्दुकधारीको नाम औपचारिक रूपमा बताएको छैन।
  • संदिग्ध व्यक्तिको कार्यक्रमस्थलसम्म पहुँच: संदिग्ध आरोपीले एक भन्दा बढी हतियार बोकेको स्थानीय प्रहरीले जनाएको छ। तर पनि उसले सुरक्षा घेरा पार गरेर कार्यक्रमस्थल नजिक पुगेको सीसीटीभी फुटेजले देखाउँछ। उक्त कार्यक्रम स्थलमा व्यवस्था गरिएको सुरक्षालाई लिएर प्रश्न उठेका छन्।
  • रात्रीभोजको नयाँ मिति: ह्वाइट हाउस करेसपोन्डेन्ट्सले आयोजना गरेको रात्रीभोजको मिति ३० दिनभित्रै निर्धारण गरिने भनिएको छ। तर त्यसको ठ्याक्कै मिति भने तय हुन बाँकी छ।

ह्वाइट हाउस करेसपोन्डेन्ट्स डिनर के हो?

राष्ट्रपति र उनको क्याबिनेटका अधिकांश सदस्यहरू सहभागी उक्त रात्रिभोजस्थलमा ठूलो आवाज सुनिएसँगै अन्योल र अस्तव्यस्तता देखिएको थियो। मञ्चमा बसेकाहरूलाई तत्कालै स्टेजबाट हटाइएको थियो।

तस्बिर स्रोत, Reuters

ह्वाइट हाउस संवाददाताहरूको समूह ह्वाइट हाउस करेसपोन्डेन्ट्स अशोशिएसनले बर्सेनि आयोजना गर्ने उक्त रात्रिभोजले वर्षौँदेखि उच्चपदस्थ सरकारी अधिकारी र चर्चित व्यक्तित्वहरूलाई आकर्षित गर्दै आएको थियो।

हप्ताभरि वाशिङ्टनमा विभिन्न राजदूतावास, सङ्घसंस्था र सञ्चारमाध्यमहरूले भोजहरू आयोजना गर्ने अभ्यास छ।

तर कार्यक्रमको केन्द्रमा चाहिँ देशभरका पत्रकारिताका तीक्ष्ण युवा विद्यार्थीहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउन कोष जम्मा गर्ने उद्देश्य रहँदै आएको छ। त्यस्ता विद्यार्थीले ह्वाइट हाउसबाट समाचार सम्प्रेषित गर्ने अशोशिएसनका सदस्यको प्रत्यक्ष सुपरिवेक्षणमा सिक्ने अवसर पनि प्राप्त गर्छन्। उनीहरूलाई पनि रात्रीभोजमा निम्त्याउने गरिन्छ।

बीबीसीका व्हाइट हाउस संवाददाता बर्नड डेब्युसमेन जुनिअर भन्छन्, "यो वर्ष दोस्रो पटक म एक जना विद्यार्थीको 'मेन्टर' बनिरहेको थिए। उनी होसियार र हँसिली स्वभावकी युवती थिइन्।"

"उनले मलाई भनिन्-उनी र उनका साथीहरू तनावमा भए पनि सबै जना सुरक्षित छन्। कसैले पनि सोचेको थिएन कि उक्त रात्रीभोज एक्कासी गोलीकान्डमा आएर टुङ्गिनेछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।