विश्वकपका खेलहरू किन निर्धारित समयमा सुरु हुन सकेनन्

    • Author, टम मकोई
    • Role, बीबीसी स्पोर्ट
  • Published
  • पढ्ने समय: ३ मिनेट

स्कटल्यान्डका समर्थकहरूले २८ वर्षपछि विश्वकपमा आफ्नो टोलीले खेलेको हेर्न पाए। विश्वकप २०२६ मा आफ्नो राष्ट्रको पहिलो खेल झन्डै पौने तीन मिनेट ढिलो सुरु हुँदा पनि उनीहरूलाई खासै नराम्रो नलागेको हुनुपर्छ।

सन् १९९० मा इटलीमा आयोजित विश्वकपपछि स्कटल्यान्डले पहिलो पटक खेल जित्यो। हेइटीलाई १-०ले पराजित गरेपछि 'टार्टन आर्मी' प्रतीक्षाको फल वास्तवमै मीठो हुन्छ भन्ने मान्यतालाई अब आत्मसात् गर्न सक्छन्।

यद्यपि म्यासचूसिट्समा आयोजित समूह 'सी' को खेलमा भएको विलम्ब जारी प्रतियोगितामा तोकिएको समयमा खेल सुरु नहुने प्रवृत्तिको निरन्तरताजस्तै बन्न पुग्यो।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप २०२६ का प्रारम्भिक आठ खेलहरूमध्ये कुनै पनि खेल तोकिएको समयमा सुरु भएनन्। ती खेलहरू औसतमा तोकिएको समयभन्दा तीन मिनेट ढिलो सुरु भए।

गत साता बिहीवार मेक्सिको र दक्षिण अफ्रिकाबीच भएको पहिलो खेल त छ मिनेट ढिलो सुरु भयो। शनिवार कतार र स्विट्जरल्यान्डबीच भएको खेल पनि तोकिएको समयभन्दा झन्डै पाँच मिनेटपछि सुरु भयो।

तोकिएको समयभन्दा एक मिनेटभित्र केवल अस्ट्रेलिया र टर्कीबीचको खेल अनि दक्षिण कोरिया र चेक रिपब्लिकबीच सुरु भए।

कारण के हो

एक-दुई मिनेटको विलम्बले खासै ठूलो फरक पर्दैन। तर फिफाले त्यसलाई सुधार गर्नुपर्ने पक्षका रूपमा हेर्ने छ।

फिफाले खेल सुरु हुनुअघिका ससाना विवरणहरू केलाएर सावधानीपूर्वक योजना बनाउँदै आएको छ।

प्रत्येक खेलमा कति बेला के हुन्छ भनेर निर्धारण गर्न छुट्टै तालिका बनाइएको हुन्छ। त्यस्तो 'रनिङ अर्डर' सञ्चारमाध्यमलाई पनि उपलब्ध गराइएको हुन्छ। अन्य महत्वपूर्ण विवरणसँगै त्यसमा टोलीहरू तथा खेलका आधिकारिक व्यक्तिहरू कुन समयमा 'टनल' मा उपस्थित हुने, कति बेला मैदानमा प्रवेश गर्ने र प्रतियोगी टोलीहरूका राष्ट्रिय गान कति बेला बजाउने जस्ता सबै कार्यका लागि समय निर्धारण गरेर स्पष्ट उल्लेख गरिएको हुन्छ।

त्यस्तो जानकारी विज्ञापन प्रसारण गर्ने रेडिओ र टेलिभिजन च्यानलहरूका लागि खेल सुरु हुनुको क्षण नछुटाउने सुनिश्चित गर्न उपयोगी हुन्छ।

उदाहरणका लागि, हेइटी र स्कटल्यान्ड खेल सुरु भएको समयभन्दा आठ मिनेट ४० सेकेन्डभित्र मैदानमा पुगिसक्नुपर्ने थियो।

तर हेइटीका खेलाडीहरू त्यति बेला तयार भइसकेका थिएनन्। बरु फिफाका एक अधिकारीले उनीहरूलाई चाँडोचाँडो मैदानतिर जान निर्देशन दिँदै गरेको देखिएको थियो।

दुवै टोली टनलबाट बाहिर निस्किँदा ९० सेकेन्ड ढिलो भइसकेको थियो।

ढिला सुरु भएका अन्य खेलहरूमा पनि खेलाडीहरू ढिलो मैदानमा प्रवेश गरेको देखियो।

मेक्सिको, क्यानडा र अमेरिका सहभागी खेल आरम्भ हुनुअघि उद्घाटन समारोह पनि आयोजना गरिएको थियो। तीनै पटक उद्घाटन समारोह खेल सुरु गर्न निर्धारित समयभन्दा अगाडि नै सकिएका थिए र त्यसबाट बाधा नपुग्नुपर्ने थियो।

तर खेल सुरु हुनुभन्दा अगाडि भव्य कार्यक्रम गर्ने फिफाको निर्णयका कारण पनि समस्या उत्पन्न भएको हुन सक्छ।

राष्ट्रिय गानका लागि अहिले खेलाडीहरू मात्र नभई टोलीका सबै सदस्यहरू मैदानको बीच भागमा उपस्थित हुन्छन् अनि मैदानका दुवै भागमा ठूलाठूला झण्डाहरू प्रदर्शन गरिन्छ।

विश्वभरिको फुटबलको सर्वोच्च निकाय फिफा त्यस्तो समारोहले "एकता, गौरव र भावनाको क्षण" प्रदान गर्ने मान्यता राख्छ। तर त्यो आयोजना गर्न त्यति सजिलो भने छैन।

प्रतियोगी टोलीका खेलाडीहरू, तिनका खेल अधिकारीहरू र आयोजकहरू अभ्यस्त हुँदै जाँदा यो प्रक्रिया पछि व्यवस्थित हुन पनि सक्छ। यद्यपि फिफाले समारोहका लागि आवश्यक हुने पर्याप्त समय अनुमान गर्न नसकेको हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।