किनमेल केन्द्रमा भएको रुसी हमलामा पाँचको मृत्यु र ६७ जना घाइते भएका युक्रेनको भनाइ

तस्बिर स्रोत, State Emergency Service of Ukraine
- Author, प्याट्रिक ज्याकसन
- Published
- पढ्ने समय: ३ मिनेट
युक्रेनका अधिकारीहरूका अनुसार डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोहिराडस्थित एउटा किनमेल केन्द्रमा रुसले गरेको ड्रोन हमलामा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य ६७ जना घाइते भएका छन्।
आन्तरिक मामिला मन्त्री इभान भाइहाब्स्कीले "मानिसहरूले सडक भरिएका बेला" दिनदहाडै पसल र सवारीसाधनहरूमा हमला भएको बताएका छन्।
यो साताको सुरुमा जापोरिजा र सुमी सहरहरूका दुईवटा अन्य किनमेल केन्द्रलाई पनि रुसी हवाई हमलाको निशाना बनाइएको युक्रेनका सञ्चारमाध्यमहरूले बताएका थिए।
रुसले बुधवार राति रिजोर्टका लागि चर्चित सोचीमा युक्रेनी समुद्री ड्रोन हमला भएको विवरण दिएको थियो जसमा तीनजनाको ज्यान गएको र २८ मानिसहरू घाइते भएका थिए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे चार वर्षअघि आक्रमण गरेपछि रुस र युक्रेनबीच पूर्ण रूपमा युद्ध चलिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ शान्ति प्रयासका लागि आफ्ना दूतहरूलाई पुटिनसँग मस्कोमा र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किएभमा वार्ता गर्न पठाएपछि केही ठोस परिणामहरू प्राप्त गरेको देखिन्छ।
युक्रेनको सरकारी आपत्कालीन सेवाले जारी गरेको तस्बिरमा अग्निनियन्त्रकहरूले पाभ्लोहिराडको सडकमा धुवाँको मुस्लोबीच जलिरहेका गाडीहरूमा पाइपबाट पानी छ्याप्न निर्देशन दिइरहेको देखिन्छ।
क्षेत्रीय गभर्नर ओलेक्सान्डर हान्जाले टेलिग्राम पोस्टमा घाइते भएका ६७ जना मध्ये ८ जना बालबालिका रहेको बताएका छन्।
जेलेन्स्कीले बिहीवारको आक्रमणमा मारिएकाहरूका परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरेका छन्।
एकपछि अर्को हमला
युक्रेनका राष्ट्रपतिले एउटा विज्ञप्तिमा भनेका छन्, "रुसीहरूले किनमेल केन्द्रहरू नजिकै उभिएका मानिसहरूलाई मार्न ड्रोनको प्रयोग गरे।"
युक्रेनका विदेशमन्त्री आन्ड्री सिबिहले ड्रोन हमलालाई "सम्झौता गराउने रणनीति" भनेका छन्। "रुसले नागरिकहरूमाथि निरन्तर हमलाले युक्रेनीहरूलाई थकित पार्न सक्छ र युक्रेनलाई सम्झौता गर्न बाध्य बनाउँछ भन्ने ठान्छ।"
डिनिप्रो सहर नजिकैको पाभ्लोहिराडमा यसअघि पनि ठूला आक्रमण भएका थिए। गत महिना मात्रै त्यहाँको गोदामहरूमा भएका आक्रमणमा दुईजनाको ज्यान गएको थियो।
युक्रेनका अधिकारीहरूले सुमीस्थित एउटा किनमेल केन्द्रमा बुधवार भएको रुसी ड्रोन हमलामा परी दुईजनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका बताएका छन्। बिहीवार सुमीमा रुसी हवाई बम हमलामा तीन बालबालिकासहित आठ जना घाइते भएका थिए।
हमलाको लगत्तै रुसले आंशिक रूपमा कब्जा गरेको सोही नामको क्षेत्रको राजधानी जापोरिजामा सोमवार एउटा किनमेल केन्द्र लगभग पूर्ण रूपमा ध्वस्त भएको त्यहाँका मालिकहरूले बताएका थिए।
गत महिना युक्रेनका अधिकारीहरूले क्रिवी रिह सहरमा रुसी ड्रोन हमलाले कम्तीमा १६ जनाको मृत्यु भएको र १३० जना घाइते भएको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























