तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएलामा दुई ठूला भूकम्पपछि ३० वटा परकम्प, यो देश किन भूकम्पको जोखिममा छ
भेनेजुएलामा लगातार भएका दुई वटा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३५ पुगेको देशका स्वास्थ्यमन्त्रीले बताएका छन्।
उद्धारकर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौँ मानिसहरूको खोजी जारी राखेका छन्।
राजधानी कराकस नजिकै केन्द्रबिन्दु रहेको भूकम्पमा १,५०० जना भन्दा धेरै घाइते भएका छन्।
राजधानी कराकस र नजिकैको तटीय सहर ला ग्वरियामा भत्किएका भवनका अवशेषबाट केही मानिसहरूले सहायताका लागि चिच्याइरहेको सुनिएको उद्धारकर्मीहरूले बताएका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले ला ग्वरियाको सबैभन्दा प्रभावित क्षेत्रको निरीक्षण गरेकी छन्।
३० वटा भन्दा धेरै परकम्प
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार ७.२ म्याग्निट्यूडको पहिलो भूकम्प लगत्तै त्यसभन्दा शक्तिशाली ७.५ म्याग्निट्यूडको दोस्रो भूकम्प आएको थियो। दोस्रो भूकम्प भेनेजुएलामा सन् १,९०० शताब्दी पछिकै सबैभन्दा शक्तिशाली भूकम्प थियो।
पहिलो भूकम्पले जमिनको सतहभन्दा २० किलोमिटर गहिराइमा र दोस्रोले १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएका थिए।
पहिलो भूकम्पको ३८ सेकेन्डपछि मापन भएको दोस्रो भूकम्पले पनि त्यही क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। जसले पहिलो भूकम्पबाट चर्किएका संरचनाहरूमा थप क्षति निम्त्याएको थियो।
दुई वटा ठूला भूकम्पपछि ३० वटाभन्दा धेरै परकम्प मापन गरिएको कार्यवाहक राष्ट्रपति रोड्रिगेजले बताएकी छन्।
भूकम्पमा ज्यान गुमाउने मानिसहरूको सङ्ख्या अझै धेरै हरेको ठानिएको छ। कैयौँ मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था छ।
अधिकांश मानिसहरू घरमै भएको समय
स्थानीय समय अनुसार बुधवार साँझ ६ बजे भूकम्प आउँदा धेरैजसो मानिसहरू घरमै बिदा मनाइरहेका थिए। जसकारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ।
भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपत्कालको घोषणा गरेकी छन्।
राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौँ देशहरूले सहायताको घोषणा गरेका छन्। अमेरिकाले १५ करोड अमेरिकी डलर सहायता उपलब्ध गराउने वाचा गरेको छ। अमेरिकी सेनाले मानिसहरूको खोजी र उद्धारका लागि ढुवानीका लागि प्रयोग हुने जहाजहरू र विमानहरू पठाउन लागिएको जनाएको छ।
हालसम्म २५० वटा भन्दा धेरै भवन भत्किएका विवरण सङ्कलन भएका छन्। बीबीसी भेरिफाइले १० तलाको अपार्टमेन्ट भवन भुइँतल्लासम्मै भत्किएको भिडिओको पुष्टि गरेको छ। आफन्तहरूले उक्त भवनमा पुरिएका मानिसहरूको खोजी जारी राखेका छन्।
कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुनसक्ने ठानिएको छ। भूकम्पपछि राजधानी कराकसको बाहिरी क्षेत्रमा रहेको देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ।
भेनेजुएलामा यसकारण भूकम्पको जोखिम
दक्षिण अमेरिकाको उत्तरी तटीय क्षेत्रमा रहेको ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला दुई वटा टेक्टोनिक प्लेट रहेको क्षेत्रमा पर्छ।
यो देश क्यारिबिअन र साउथ अमेरिकन टेक्टोनिक प्लेट एक आपसमा भेट हुने बिन्दुमा छ। यी दुवै प्लेटहरू सरिरहेका हुन्छन्। यूएसजीएसका अनुसार घर्षणका कारण दुई वटामध्ये कुनै प्लेट टुक्रिँदा उक्त क्षेत्रमा भूकम्प पैदा हुन्छ।
दुई वटा प्लेटको मिलन बिन्दुमा पर्ने भएका कारण भूकम्पको जोखिम क्षेत्रमा रहेको भेनेजुएलामा सन् १९६७ मा पनि ठूलो भूकम्प आएको थियो।
बुधवारको दोस्रो भूकम्प त्यस यताको सबैभन्दा ठूलो रहेको यूएसजीएसको तथ्याङ्कले देखाएको छ।
भेनेजुएलाभन्दा सयौँ किलोमिटर टाढाको कोलम्बियाको राजधानी बोगोटामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
कुल दुई करोड ८० लाख जनसङ्ख्या रहेको भेनेजुएलामा अधिकांश मानिसहरू देशको उत्तरी क्षेत्रमा बसोबास गर्छन्। राजधानी कराकसमा मात्रै करिब ५० लाख मानिसहरूको बसोबास छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।