ट्रम्प ट्यारिफ: 'हलिवूड मर्दैछ' भन्दै ट्रम्पले लगाएको ट्यारिफका प्रभाव यस्ता

हलिवूड सिनेमा
तस्बिरको क्याप्शन, मार्भलको थन्डर्बोल्ट्स अहिले अमेरिकी बक्स अफिसको शीर्ष स्थानमा छ
    • Author, एमा सन्डर्स
    • Role, संस्कृति संवाददाता
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशमा निर्मित चलचित्रहरूमाथि १००% ट्यारिफ (शुल्क) लगाइदिने घोषणाले अमेरिकी चलचित्र उद्योग तथा विश्वव्यापी सिनेव्यापारमा पर्ने असरका लेखाजोखा गरिँदैछ।

ट्रम्प यसै साता सामाजिक सञ्जालमा अमेरिकी सिने उद्योग 'द्रुत गतिमा मरिरहेको' उल्लेख गरेका छन्।

आफ्नो टिप्पणीले हलिवूडभरि हलचल मच्चिएपछि उनले आफ्ना प्रस्तावबारे हलिवूडका अगुवाहरूसँग सरसल्लाह गर्ने बताए।

के हलिवूड मर्दैछ?

कति कुरा साँचो हो भने पछिल्ला वर्षहरूमा अमेरिकी चलचित्र उद्योगले अप्ठेरो समय झेल्दै थियो।

कोभिड महामारीका कारण फिल्म निर्माण बन्द भएकाले परेका प्रभाव अझै बाँकी छन्।

सन् २०२४ को दोस्रो त्रैमासिकमा हलिवूडका स्टुडियोहरूले फिल्म निर्माणमा ११.३ अर्ब डलर खर्च गरे जुन सन् २०२२ को सोही अवधिको तुलनामा २०% ले कम हो। कोभिडका बेला भएका घाटा पूर्ति गर्न स्टुडियोहरूले खर्च कटौती गरिरहेका छन्।

त्यसमाथि सन् २०२३ मा कलाकार तथा लेखकहरूले गरेका हडतालले समस्या झन् थपियो।

अनि यो वर्ष क्यालिफोर्नियामा भयङ्कर आगलागी भयो।

पछिल्ला कैयन् वर्षदेखि युवायुवती मात्र नभई धेरै मानिसहरू यूट्यूब लगायतका स्ट्रिमिङ् प्ल्याटफर्ममा आकर्षित भइरहेका छन्।

अहिले पनि अमेरिका विश्वको फिल्म निर्माण गर्ने मुख्य देश हो र भेराइटीका अनुसार सन् २०२५ को आरम्भमा उसको स्वदेशी आम्दानी गत सालको तुलनामा १५.८%ले बढेको छ।

पछिल्लो मार्भल सुपर हिरो फिल्म थन्डरबोल्ट्सले गत सप्ताहान्तमा उत्तर अमेरिकामा साढे सात करोड डलरभन्दा धेरै कमायो। यसले यो गर्मी यामका लागि शुभ सङ्केत पनि दियो।

कस्तो पर्ला प्रभाव?

तर पनि हलिवूड ट्रम्पका ट्यारिफ योजनाबाट चिन्तित देखिन्छ। राष्ट्रपति अमेरिका भित्रने विदेशमा निर्मित जुनसुकै चलचित्रमाथि शत प्रतिशत कर लगाउन चाहन्छन्। "हामी फेरि अमेरिकामै चलचित्र बनेको हेर्न चाहन्छौँ!"

तर यसले विदेशमा निर्मित अमेरिकी चलचित्रलाई पनि समेट्छ कि समेट्दैन भन्ने प्रश्न उब्जिएका छन्।

अमेरिकी स्टुडियोहरूद्वारा हालसालै निर्मित डेडपुल एन्ड वुल्भराइन, विकेड र ग्ल्याडिएटर टु जस्ता कैयन् महत्त्वपूर्ण चलचित्रहरू अमेरिका बाहिर छायाङ्कन गरिए। मिशन इम्पसिबल जस्ता हिट फ्रान्चाइजहरू पनि विदेशमै छायाङ्कन गरिन्छन्।

साथै ट्रम्पको ट्यारिफ भूत-प्रभावी हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि छ – अर्थात् विदेशमा यसअघि नै छायाङ्कन भइसकेका फिल्महरूले अतिरिक्त शुल्क तिर्नु पर्छ कि पर्दैन।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दा "अरू देशले अमेरिकी सिनेमा तथा सिनेमा निर्माणको कौशल चोरेको" भनेका थिए। त्यसको अर्थ शायद उनले गैर अमेरिकी फिल्महरूमाथि मात्र ट्यारिफ लगाउन खोजेको हुन सक्छ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले विदेशी चलचित्रमा ट्यारिफबारे अन्तिम निर्णय भई नसकेको बीबीसीलाई बताए। उनका अनुसार प्रशासनले सबै विकल्प सोचविचार गरिरहेको छ।

अरू देशलाई कस्तो असर?

जेम्स बन्ड फ्रान्चाइजी
तस्बिरको क्याप्शन, जेम्स बन्डको फ्रान्चाइजी अहिले अमेरिकी विशाल कम्पनी अमेजनसँग छ

न्यूजील्यान्ड, अस्ट्रेलिया र यूकेसहित कैयन् देशहरूले फिल्म निर्माणलाई प्रोत्साहन गर्न कर छूटजस्ता सुविधा दिन्छन्। ट्रम्प त्यसविरुद्ध कदम चाल्न चाहन्छन्।

तर सुविधाका कारण मात्र अमेरिकी कम्पनीले विदेशमा छायाङ्कन गर्न खोज्ने चाहिँ होइन। खास स्थल, गजबका दृश्यहरूका निम्ति पनि त्यसो गरिन्छ। मिशन इम्पसिबल – गोस्ट प्रोटोकलमा टम क्रुजले दुबईको बुर्ज खलिफा चढेको दृश्य कसले बिर्सेला?

अनि आगामी जेम्स बन्ड सिनेमालाई यसले के असर गर्ला? जेम्स बन्डको फ्रान्चाइज अहिले अमेरिकी विशाल कम्पनी एमजनसँग छ तर यसको कथा लन्डनमा अवस्थित एम आई सिक्समा आबद्ध ब्रिटिश एजेन्टको भूमिकासँग जोडिएको छ।

साथै विदेशी फिल्ममा १००% ट्यारिफ लाग्नासाथ अमेरिकामा आफ्ना चलचित्र प्रदर्शन गर्न खोज्ने ती देशलाई असर परिहाल्छ।

विश्व व्यापार सङ्गठनले 'डिजिटल सामग्री'हरूमाथि ट्यारिफ लगाउन सन् २०२६ सम्मलाई रोकेको छ। पक्कै पनि चलचित्रहरू 'डिजिटल सामग्री'मै गणना होलान्।

अनि त्यस्तो ट्यारिफको आधार के हुन्छ? बक्स अफिसमा भएको कमाइ वा निर्माण खर्च? अनि स्ट्रिमिङ् सेवाका कन्टेन्ट पनि यसमा पर्लान्? त्यसो भयो भने नेटफ्लिक्स जस्ता अमेरिकी कम्पनीलाई ठूलो असर पर्न सक्छ। अनि निर्माणपश्चात् गरिने सम्पादनलाई के मानिएला?

अहिले जबाफभन्दा प्रश्नहरू धेरै उब्जिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।