ट्रम्पद्वारा युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अस्वीकार, तेलको मूल्य बढ्यो

पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया "पूर्णतः अस्वीकार्य" भएको बताएपछि तेलको मूल्य बढेको छ।

तेहरानले पाकिस्तानमार्फत् अमेरिकालाई पठाएको जबाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरेलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितिता खोजेको इरानको अर्धसरकारी समाचारसंस्था 'तस्निम'ले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ।

एशियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४.१ प्रतिशतले बढेर १०५.५० डलर प्रतिब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो।

गत २८ फेब्रुअरीमा युद्ध आरम्भ भएपछि होर्मुज जलमार्ग अवरुद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानीजहाजमार्फत् विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन।

"मैले भर्खर इरानका तथाकथित 'प्रतिनिधिहरू'को जबाफ पढेँ। मलाई त्यो मन परेन - पूर्णतः अस्वीकार्य," तेहरानले अघि सारेका सर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।

इरान र अमेरिकाका सर्त

वाशिङ्टनले चाहिँ होर्मुज जलमार्गमा पानीजहाजको आवतजावत फेरि खोल्ने अनि इरानले परमाणुपदार्थ प्रशोधन गर्ने कार्य स्थगित गर्नुपर्ने सर्त राखेको अमेरिकी न्यूजपोर्टल 'एक्सिअस'ले जनाएको छ। अमेरिकाको प्रस्तावमा १४ बुँदा समाविष्ट थिए।

एक्सिअसले नाम उल्लेख नगरिएका दुई अमेरिकी अधिकारी र अन्य दुई स्रोतलाई उद्धृत गरेको छ।

केही दिनअघि ट्रम्पले इरान युद्ध "चाँडै टुङ्गिने" बताएका थिए।

तर इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि इरानमा थुपारिएको युरेनिअम "बाहिर ननिकालिएसम्म" युद्ध नटुङ्गिने बताएका छन्।

शान्तिवार्ता गर्नका लागि एप्रिल महिनाको सुरुतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटनाबाहेक युद्धविराम पालना भएको देखिन्छ।

इरानलाई "एकीकृत प्रस्ताव" प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले २१ एप्रिलमा युद्धविरामको अवधि अनिश्चितकालका लागि बढाएका थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानको प्रस्तावमा लडाइँबाट खेप्नुपरेको हानिको इरानले क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने उल्लेख छ।

"हामी शत्रुका अगाडि कहिल्यै शिर निहुराउँदैनौँ। अनि वार्ता वा मध्यस्थताको कुरा आउनु भनेको आत्मसमर्पण गर्नु वा रणभूमिबाट पछि हट्नु होइन," तेहरानको प्रस्तावलाई सोझै इङ्गित नगरी इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आइतवार भनेका थिए।

तेलको मूल्यमा ठूलो प्रभाव

लडाइँ सुरु भएयता तेलको इन्धनको मूल्यमा निकै ठूलो प्रभाव परेको छ। युद्धविराम लागु भएपछि कच्चा तेल 'ब्रेन्ट क्रूड'को मूल्य फेरि १०० अमेरिकी डलर प्रतिब्यारलभन्दा माथि पुगेको छ।

होर्मुज जलमार्ग हुँदै विश्वभरि आपूर्ति हुने २० प्रतिशत तेल र ग्यास जान्छ। अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिन उक्त जलमार्ग प्रयोग गर्ने जहाजलाई निसाना बनाउन थाल्यो।

त्यसपछि अमेरिकाले पनि इरानी बन्दगाहहरूलाई लक्षित गर्दै नाकाबन्दी लगाउँदै आएको छ। अमेरिकाले मध्यपूर्वका अरू देशहरूलाई अमेरिकी नाकाबन्दी नमान्न चेतावनी दिँदै आएको छ।

होर्मुज जलमार्ग प्रयोग गर्ने विदेशी पानीजहाजहरूले तेहरानसँग समन्वयन नगरे "गम्भीर परिणाम" भोग्नुपर्ने चेतावनी इरानको सेनाका प्रवक्ता मोहम्मद अक्रमनियाले दिएका छन्।

विश्वबजारमा तेल र ग्यासको मूल्य बढेपछि ठूला ऊर्जा कम्पनीहरूको नाफा बढेको छ।

साउदी ऊर्जा कम्पनी एराम्कोले यो वर्षको प्रथम त्रैमासिक अवधिमा आफ्नो नाफा गत वर्षको सोही अवधिको तुलमामा २५ प्रतिशतभन्दा धेरैले बढेको आइतवार बतायो।

एराम्कोका प्रमुख अमिन नासिरले आफ्नो कम्पनीको अन्तरदेशीय पाइपलाइन इन्धन आपूर्तिका लागि "निकै महत्त्वपूर्ण धमनी सिद्ध भएको" र इरान युद्धका कारण इन्धन आपूर्तिमा उत्पन्न अवरोध छल्न त्यसले सघाएको बताएका छन्।

गत महिना 'बीपी'ले यो वर्षको पहिलो त्रैमासिक अवधिमा आफ्नो नाफा दुई गुनाभन्दा बढी भएको जनाएको थियो। गत साता 'शेल'ले आफ्नो आयमा वृद्धि भएको घोषणा गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।