मोदी विदेश जाँदा किन पत्रकारका प्रश्नको उत्तर दिँदैनन्

तस्बिर स्रोत, @narendramodi
प्रधानमन्त्री नरेन्द्र मोदीले युरोप भ्रमणका क्रममा पत्रकारका प्रश्नको उत्तर नदिएको विषयमा विवाद भएको छ।
विवाद बढ्दै गएपछि भारतीय विदेश मन्त्रालय देशको लोकतन्त्रको बचाउ गर्नुपर्ने अवस्थामा पुगेको छ। प्रधानमन्त्री मोदीको भ्रमणमा यस्तो विषयमा सरकारले जबाफ दिनुपरेको यो दोस्रो पटक हो।
नर्वेका प्रधानमन्त्री यूनास गार स्टोरसँगको संयुक्त पत्रकार सम्मेलनमा एक महिला पत्रकारले प्रधानमन्त्री मोदीलाई मिडियाका प्रश्नको उत्तर दिन आग्रह गरिन्। तर मोदीले कुनै प्रश्नको उत्तर दिएनन्।
युरोपेली देशहरूको भ्रममा पुगेका विदेशी नेताहरूलाई पत्रकारले प्रश्न सोध्ने पुरानै परम्परा छ।
नर्वेकी पत्रकार हेल लिङले पनि विदेश मन्त्रालयको ब्रीफिङमा मानवअधिकारको विषयमा प्रश्न सोधेकी थिइन्। विदेश मन्त्रालयका एक वरिष्ठ जना अधिकारीले त्यसको उत्तर दिँदै भारत एक सभ्य राष्ट्र भएको बताए।
यसअघि ओस्लोस्थित सरकारी गेस्ट हाउसमा मोदी र नर्वेका प्रधानमन्त्री स्टोरको पत्रकार सम्मेलन सकिएपछि हेल लिङले एक प्रश्न सोधेकी थिइन् ।

तस्बिर स्रोत, @narendramodi
विदेश मन्त्रालयले दिनुपर्यो स्पष्टीकरण
हेल लिङले सोधेको प्रश्न थियो, "प्रधानमन्त्री मोदी, तपाईँ विश्वका स्वतन्त्र प्रेसका प्रश्नको उत्तर किन दिनुहुन्न? सरकारका लागि तपाईँ विश्वासयोग्य हुनुहुन्छ?"
यो प्रश्नमा प्रधानमन्त्री मोदी कुनै उत्तर दिएनन्।
हेलको प्रश्नबारे भारतमा पनि व्यापक बहस भइरहेको छ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीको आलोचना गर्दै उनी प्रश्नसँग डराएको बताएका छन्।
भारतको प्रमुख अङ्ग्रेजी पत्रिका 'द हिन्दू'का दिल्लीस्थित सम्पादक वर्गीस के जोर्जले सामाजिक सञ्जाल एक्समा यसबारे टिप्पणी गरेका छन्।
"भारतमा पत्रकारिता र लोकतन्त्रको बारेमा धेरै चिन्ताहरू हुन सक्छन्। तर लोकतन्त्र वा पत्रकारिताको लागि नर्वेलाई अन्तिम मानक मान्नु विभिन्न देशहरूको विशिष्ट परिस्थितिलाई बेवास्ता गर्नु हो…"

तस्बिर स्रोत, @narendramodi
मोदीको द नेदरल्यान्ड्स भ्रमणमा पनि स्थानीय पत्रकारहरूले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने मौका नदिएको विषयमा आपत्ति जनाएका थिए।
विदेश मन्त्रालयका वरिष्ठ अधिकारी सीबी जोर्जले यसबारे स्पष्टीकरण दिँदै भनेका थिए, "प्रश्न सोध्ने व्यक्तिको बुझाइको कमीका कारण हामीले यस्ता प्रश्नहरूको सामना गरिरहेका छौँ।"
जर्मनी भ्रमणमा पनि उठेको थियो प्रश्न
विदेश मन्त्रालयको ब्रीफिङमा भ्रमणको निम्तो दिएका देशका नेताहरूले भारतीय पक्षलाई सञ्चारमाध्यमका प्रश्नहरूको उत्तर दिन आग्रह गरे वा नगरेको र सरकारले आफ्नो नीतिमा पुनर्विचार गर्ने सम्भावनाबारे सीबी जोर्जलाई प्रश्न सोधिएको थियो।
उनले प्रधानमन्त्रीको भ्रमणबारे सोधिएका प्रश्नहरूको उत्तर विदेश मन्त्रालयले दिने प्रतिक्रिया दिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२२ मा जर्मनीको भ्रमणमा गएका थिए। त्यस बेला जर्मनीमा ओलाफ शोल्ट्स चान्सलर थिए। जर्मनीमा कुनै विदेशी नेताले चान्सलरलाई भेटेपछि मिडियाका अगाडि आएर पत्रकारहरूका प्रश्नको उत्तर दिने चलन छ। तर मोदीको भ्रमणमा त्यस्तो भएन।
त्यसपछि जर्मन प्रसारक डीडब्ल्यूका प्रमुख अन्तर्राष्ट्रिय सम्पादक रिचर्ड वाकरले यो मुद्दा उठाए। लगत्तै उनले सामाजिक सञ्जाल एक्समा लेखे, "मोदी र शोल्ट्स अब बर्लिनमा पत्रकारसमक्ष उपस्थित हुने कार्यक्रम छ। दुई सरकारबीच १४ सम्झौताहरू घोषणा गरिनेछ। यद्यपि, भारतीय पक्षको अनुरोधमा एउटा पनि प्रश्न लिइने छैन।"
त्यसपछि डीडब्ल्यूले आफ्नो समाचारमा लेख्यो, "मोदी र शोल्ट्सको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई प्रश्न सोध्न दिइएन। विवरणहरूका अनुसार यो निर्णय प्रधानमन्त्री मोदीको अनुरोधमा गरिएको हो।"
जर्मनी भ्रमण गरेको एक वर्षपछि सन् २०२३को जुनमा मोदी अमेरिकाको भ्रमणमा गए। तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनसँगको पत्रकार सम्मेलनमा चाहिँ मोदीले पत्रकारहरूका दुई वटा प्रश्नहरूको उत्तर दिए।
पश्चिमी सञ्चारमाध्यममा यसलाई दुर्लभ घटनाको रूपमा हेरिएको थियो। यद्यपि अमेरिकी राष्ट्रपतिले विदेशी नेताहरूसँग गर्ने अन्य पत्रकार सम्मेलनजस्तो त्यो ब्रीफिङ खुला थिएन।

तस्बिर स्रोत, @narendramodi
अमेरिका भ्रमणमा मोदीले दिएका थिए उत्तर
समाचार संस्था एपीका अनुसार "भारतीय अधिकारीहरूले एक दिनअगाडि मात्रै यो कार्यक्रमका लागि सहमति जनाएका थिए। अमेरिकी प्रशासनका अधिकारीहरूले मोदीका सल्लाहकारहरूलाई ह्वाइट हाउसमा हुने राजकीय भ्रमणको प्रक्रियामा मिडियाका प्रश्नहरूको उत्तर दिनु पनि रहने गरेको बताएका थिए।"
नरेन्द्र मोदीलाई सोधिएका दुई प्रश्नहरूमध्ये एउटा भारतीय पत्रकारको थियो। उनले जलवायु परिवर्तनको सम्बोधन गर्ने विषयमा प्रश्न सोधेका थिए। अर्का एक जना अमेरिकी पत्रकारले चाहिँ मानवअधिकारको विषयमा प्रश्न सोधेका थिए।
मानवअधिकार र लोकतन्त्रसम्बन्धी एक प्रश्नको उत्तर दिँदै नरेन्द्र मोदीले भनेका थिए, "लोकतन्त्र हाम्रो नसामा बग्छ। हाम्रो लोकतन्त्रमा भेदभावको लागि कुनै स्थान छैन।"
प्रधानमन्त्री मोदीले पत्रकारका प्रश्नको उत्तर दिनु निकै असाधारण मानिन्छ। प्रधानमन्त्री बनेदेखि उनले भारतमै पनि पत्रकार सम्मेलनमा पत्रकारहरूका प्रश्नको उत्तर दिएका छैनन्। मे २०१९ मा उनले पत्रकार सम्मेलन त गरे तर कुनै पनि प्रश्न लिएनन्। त्यति बेला अमित शाहले प्रश्नहरूको उत्तर दिएका थिए।

तस्बिर स्रोत, Getty Images
मोदी किन पत्रकार सम्मेलन गर्दैनन्?
सन् २०२४ मे मा 'इन्डिया टुडे'सँगको एक अन्तर्वार्ताको क्रममा मोदीलाई पत्रकार सम्मेलन नगर्ने उनको शैलीबारे सोधिएको थियो। मोदीले त्यसमा विस्तृत जबाफ दिएका थिए।
"सत्तामा बस्नेहरूले धेरैजसो सञ्चारमाध्यमलाई आफ्नो पक्षमा प्रयोग गर्छन्। यो एउटा संस्कृति नै बनेको छ। उनीहरूलाई आफूले केही गर्नु पर्दैन, मात्र मिडिया प्रयोग गरे पुग्छ भन्ने लाग्छ…म त्यो बाटो पछ्याउन चाहन्नँ। म कडा परिश्रम गर्न चाहन्छु। म गरिब जनताको ढोकामा पुग्न चाहन्छु।"
मोदीले आफूले 'नयाँ कार्यसंस्कृति सुरु गरेको' दाबी गरेका थिए। अनि उनले सञ्चार माध्यमबिनै पनि जनतासँग पुग्न र सीधा संवाद गर्न सकिने बताएका थिए।
पहिलेपहिले सञ्चार माध्यमहरू कतै नखुल्ने भए पनि अहिले पत्रकारहरू विचारसँग नजिक हुन थालेको मोदीको आरोप छ।
"पहिले मानिसहरूले विश्लेषण गर्ने व्यक्ति को हो वा उसको विचारधारा के हो भन्ने कुरामा ध्यान दिँदैनथे। तर अहिले समय परिवर्तन भएको छ," मोदीले भनेका छन्।
तर मोदीको यो तर्कले पत्रकार सम्मेलनबारे सोधिएको प्रश्नको उत्तर पूरै दिएको भन्न सकिँदैन।
भारतमा विशेषज्ञता हासिल गरेका फ्रान्सेली राजनीतिशास्त्री क्रिस्टफ जाफ्रलोले 'द डिप्लोम्याट' पत्रिकासँग भनेका छन्, "मोदी पत्रकार सम्मेलन वा खुला छलफल स्वीकार गर्दैनन् किनभने उनका तर्कहरूले त्यस्तो भारतलाई चित्रण गर्छन्, जुन वास्तवमा अस्तित्वमा नै छैन।"
मोदीले आकर्षक छवि र मिथकहरूले भरिएको एक प्रकारको काल्पनिक संसार सिर्जना गरिरहेको जाफ्रलोको दाबी छ।
मोदी चीनको आक्रामकता र भारतमा व्याप्त बेरोजगारीजस्ता मुद्दाहरूबारेका प्रश्न सुन्न नचाहने उनी बताउँछन्।
जाफ्रलोका अनुसार, "यसैले मोदीको लागि सञ्चार 'एकतर्फी प्रसार' हुन आवश्यक भएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















