मलेशियामा सडकमा कार र मोटरसाइकलमाथि विमान खस्दा १० जनाको मृत्यु

विमान दुर्घटनास्थलनजिकैको ठाउँ
Published

मलेशियामा एउटा निजी विमान एउटा राजमार्गमा कार र मोटरसाइलमा गएर ठोकिँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाए‍को छ।

मृत्यु हुनेमध्ये आठ जना विमानमा सवार व्यक्ति थिए भने दुई जना गाडीमा थिए।

राजमार्गमा दुर्घटनाग्रस्त हुँदा उक्त जेटमा विस्फोटन भएको र धुँवाको कालो मुस्लो निस्किएको दुर्घटनास्थलमा खिचिएको भिडिओमा देखिन्छ।

उक्त विमान लाङ्कावी टापुबाट देशको राजधानी क्वालालम्पुरभन्दा पश्चिममा अवस्थित सेलाङोरका लागि उडेको थियो।

अधिकारीहरूका अनुसार बीचक्राफ्ट मोडल ३९० को उक्त विमानले बिहीवार दुर्घटना हुनुअघि एअर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क गुमाएको थियो।

"कुनै आपत्कालीन सन्देश आएको थिएन। उक्त विमानलाई अवतरण गर्ने अनुमति दिइसकिएको थियो," हुसेन ओमर खानले भने।

मलेशियामा विमान दुर्घटनामा परेको राजमार्ग

विमानमा को थिए?

मृत्यु हुनेमध्ये एक जना स्थानीय नेता भएको उक्त उडानमा सवार यात्रु र चालकदलका सदस्यको सूचीले देखाउँछ।

तर मलेशियाका यातायातमन्त्री एन्थनी लोकले एउटा स्थानीय अस्पतालमा जाँच भइरहेको भन्दै मृतकहरूको पहिचान खुलाउन अस्वीकार गरे।

उक्त जेट विमानचालक शाहरुल कमल रोस्लानको नेतृत्वमा उडेको थियो। उनको पनि दुर्घटनामा मृत्यु भएको छ।

स्थानीय अस्पतालबाहिर विमानचालक शाहरुलकी ६७ वर्षे आमा महानुमले सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्ना छोरासँग अन्तिम पटक कुरा गर्दा उनले आफूलाई निकै माया गर्ने बताएको स्मरण गरिन्।

मलेशियाको नागरिक उड्डयन निकायका अनुसार प्रारम्भिक छानबिनमा उक्त विमानले उडानको अनुमति पाएको थियो र त्यसका दुवै चालक अनुभवी थिए।

मृतकका परिवारका सदस्यहरू

कसरी भयो दुर्घटना?

अहिले उक्त विमानको ब्ल्याकबक्स वा फ्लाइट डेटा रेकर्डरको खोजी भइरहेको छ।

"अनुसन्धान चलिरहेकाले अहिले नै हामी के कारणले विमान दुर्घटना भयो त्यो भनिहाल्न सक्दैनौँ," लोकले भने।

एक प्रत्यक्षदर्शीले समाचारसंस्था रोएटर्सलाई आफू इन्जिनियर भएको र उक्त ठाउँमा काम गर्दै गर्दा एउटा विस्फोटनको आवाज सुनेको बताए। दुर्घटनास्थलमा जाँदा उनले घाइते मानिसहरू देखे।

मलेशियन वायुसेनाबाट सेवानिवृत्त मोहमद स्याहमी मोहमद हशिमले एफएपीलाई आफूले उक्त विमान अस्वाभाविक रूपमा उडिरहेको देखेको बताए।

"ठूलो आवाजमा विस्फोटन हुनुभन्दा केही बेरअघि मात्र," उनले भने।

"म त्यो ठाउँतिर छिटोछिटो गएँ र विमानको भग्नावशेष देखेँ। मैले गर्न सक्ने केही थिएन।"

दुर्घटनाग्रस्त विमानको भग्नावशेष

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।